स्वास्थ्य

यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा

इकागज |
माघ २०, २०८० शनिबार २१:३ बजे

सिन्धुपाल्चोक- नेपालमा पहिलो पटक सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा सुरु भएको छ । सुनकोसी गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको नवनिर्मित स्वास्थ्य चौकीको शनिबार उद्घाटन गर्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले फिजियो थेरापी सेवाको सुभारम्भ गरेका हुन् ।

मन्त्री बस्नेतले सो अवसरमा फिजियो थेरापीका सामग्री हस्तान्तरण गरेका छन् । देशभरिका स्वास्थ्य चौकीमध्ये यमुनाडाँडामा सुरु भएको फिजियो थेरापी सेवा संभवत: पहिलो हो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नवनिर्मित स्वास्थ्य चौकीमा थप सेवा सुरु हुनु खुसीको कुरा भएको बताउँदै विकास निर्माणका काममा आफू सधैं क्रियाशील रहने बताए ।


स्वास्थ्य चौकीमा तला थपेर स्वास्थ्यकर्मीको क्वार्टर बनाएर सहज सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप ३८ लाख रुपैयाँ विनियोजन गरेको बताए । यहाँको स्थानीय विकासका लागि आफू अझै १५ वर्ष सक्रिय राजनीति गर्ने दाबी गर्दै एमाले र माओवादी पार्टीका नेताहरूले भन्दा आफूले सबैभन्दा बढी काम गरेको दाबी गरे ।

कार्यक्रममा स्वास्थ्य चौकीका अध्यक्ष भोजलाल श्रेष्ठले मन्त्री बस्नेतको पहलमा सुरु भएको फिजियो थेरापीले आम जनताले थप स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । सुनकोसी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवणकुमार जोसीले आफ्नो कार्यकालमा  विकास निर्माणका काम तीव्र गतिले गरेकोले अहिले उद्घाटनका काम भइरहेको दाबी गरे । पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण अध्यक्षमा गत वर्षको स्थानीय निर्वाचनमा आफूले थोरै मतले पराजय भोग्नु परेको स्मरण गर्दै जनताको सुखदु:ख र विकासमा आफू सधैं साथमा रहेको बताए ।

फिजियोथेरापिष्ट डा. निष्ठा श्रेष्ठले नेपाल मै पहिलोपटक स्वास्थ्य चौकीमा फिजियो सेवा सुरु भएकोमा खुसी व्यक्त गर्दै यो सेवा सुरु भएपछि स्थानीयवासीले थप स्वास्थ्य सेवा प्राप्त गर्ने बताइन् । स्वास्थ्य चौकीलाई आवश्यक सामग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने श्रेष्ठले बताइन । स्वास्थ्य चौकी इन्चार्ज अमर तामाङले स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा थप गरी दिएकोमा स्वास्थ्य मन्त्री बस्नेतप्रति कृतज्ञता व्यक्त गरे ।


Author

थप समाचार
x