स्वास्थ्य

विपन्‍न नागरिकले औषधि उपचारमा आर्थिक सहायता कसरी लिने ? (हेर्नुहोस् निर्देशिका)

इकागज |
पुस ४, २०८० बुधबार १०:४ बजे

काठमाडौँ- विपन्न नागरिकले विभिन्न स्वास्थ्य उपचारमा सरकारबाट आर्थिक सहायता पाउँछन् । 

सरकारले विपन्न नागरिकहरूलाई औषधि उपचारका लागि देशभरका एक सय २० वटा अस्पताल तोकेको छ । 


तोकिएको अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ अनुसार गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।  

निर्देशिकामा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका रोगको उपचारका लागि सहुलितय प्रदान गर्ने उल्लेख छ । मुटु प्रत्यारोपणका लागि रु चार लाख र औषधिका लागि रु एक लाख, मुटुसम्बन्धी अन्य रोगका लागि रु एक लाख दिने उल्लेख छ । 

यस्तै कुनै पनि क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियालगायतका रोगका लागि उपचार खर्च रु एक लाख उपलब्ध गराउने भएको कार्यविधिमा उल्लेख गरिएको छ । 

सरकारले तोकिएको सहुलियत सीमाभित्र रही कडा खालका बिरामीलाई औषधि, औषधिजन्य सामग्री, प्रयोगशाला सेवा, शल्यक्रिया, श्यया उपलब्ध गराउँछ ।

विपन्न बिरामी नागरिकले कडा रोगको उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रभावकारी व्यवस्थापनका लागि अस्पतालले छुट्टै सम्पर्क केन्द्र स्थापना गर्नुपर्ने निर्देशिका उल्लेख गरिएको छ ।

निर्देशिकामा कुनै एक रोगको औषधोपचार सहुलियत प्राप्त गरिसकेको व्यक्तिले पुनः सोही रोगका लागि औषधोपचार सहुलियत सुविधा लिन नपाउने उल्लेख छ । यस्तै कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचार सहुलियत प्राप्त गर्न भने पाउने छन् ।


Author

थप समाचार
x