स्वास्थ्य

न्याम्स र सशस्त्र प्रहरी अस्पतालबीच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

इकागज |
कात्तिक २४, २०८० शुक्रबार २०:४९ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबीच भविष्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेत र नेपाल सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा.रुपक महर्जनले भविष्यमा न्याम्सले सशस्त्र प्रहरी अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो समझदारीपछि न्याम्सले निकट भविष्यमा आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम सशस्त्र अस्पतालमा पनि विस्तार गर्ने छ ।


कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उच्च स्तरको दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै न्याम्स र सशस्त्र प्रहरी अस्पतालबीच भएको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारीले स्वास्थ्य क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन हुने आशा व्यक्त गरे । मन्त्री बस्नेतले शान्ति सुरक्षाका अलावा सशस्त्र प्रहरीले स्वास्थ्य उपचारका क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेको भन्दै स्वास्थ्य मन्त्रालयले सशस्त्र प्रहरी अस्पताललाई सक्दो सहयोग जारी राख्ने आश्वासन दिए ।

नेपाल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले न्याम्ससँगको शैक्षिक समझदारीले भविष्यमा सशस्त्र प्रहरी अस्पतालले मेडिकल कलेज स्थापना गर्ने ढोका खोल्ने बताए । 

स्वास्थ्य मन्त्रालयका सचिव डा.देवकुमारी गुरागाइले चिकित्सा क्षेत्रमा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने क्षेत्रमा यो समझदारीले फड्को मार्ने बताइन् । न्याम्सका उपकुलपति प्रा.डा.बस्नेतले न्याम्सका पदाधिकारीले निरीक्षण गर्दा सशस्त्र प्रहरी अस्पतालले प्रदान गरिरहेको उपचार सेवा र पर्याप्त भौतिक पूर्वाधार भएको पाइएपछि शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको बताए ।

सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा.महर्जनले यो समझदारीपछि सशस्त्र प्रहरी अस्पतालमा शैक्षिक वातावरण सिर्जना हुने बताउँदै यसले अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे । न्याम्सका रेक्टर डा. लोचन कार्कीले न्याम्सले अनुगमन र निरीक्षणपछि देशका विभिन्न हस्पिटलहरूसँग सहकार्य गर्दै आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम अगाडि बढाइरहेको बताए ।

न्याम्सका रजिस्ट्रार डा. ज्ञानेन्द्र शाहले सशस्त्र प्रहरी अस्पताल र न्याम्सबीच भएको समझदारीले चिकित्सा शिक्षामा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे । ११० शय्याबाट सुरु गरिएको सशस्त्र प्रहरी अस्पताल अहिले १९० शय्यामा सञ्चालित छ ।


Author

थप समाचार
x