स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मलेसियाको सनवे मेडिकल ग्रुपबीच सहकार्य गर्ने सम्झौता

इकागज |
कात्तिक १६, २०८० बिहीबार ११:५९ बजे

काठमाडौँ- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियास्थित सनवे मेडिकल ग्रुपले स्वास्थ्य सेवा, अनुसन्धान र शैक्षिक कार्यक्रमको विषयमा सहकार्य गर्न सम्झौता गरेको छ ।

मंगलबार मलेसियाको राजधानी क्वालालम्पुरमा प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र सनवेका अध्यक्ष डा लाउ विङ लङले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सोही कार्यक्रममा मलेसियाका लागि नेपालका राजदूत डिल्ली राज पौडेलको समेत उपस्थिति थियो ।


सनवे मेडिकल ग्रुप मलेसियामा निजी क्षेत्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सबैभन्दा ठूलो ग्रुप रहेको रावलले बताए । ‘हामीले संस्थागत आपसी हितका लागि द्धीपक्षीय सम्झौँता गरेका छौँ,’ उनले भने ।

उनका अनुसार विशेषत उपचार सेवा, शैक्षिक अनुसन्धान र शैक्षिक कार्यक्रमका लागि सहयोग आदान प्रदान हुनेछ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई फेलोसिप, तालीम, तथा सिकाईमा सनवेले सहयोग गर्दछ ।

‘हामीले पनि उनीहरूका लागि केही अवसरहरू उपलब्ध गराउन सक्छौँ । हाम्रो उदेश्य कर्णालीमा उत्कृष्ट सेवा र दक्ष जनशक्ति उत्पादन गर्ने भन्ने हो । त्यसका लागि विश्वका विभिन्न देश र संस्थासँग हामीले सहकार्य गरेका छौँ र गर्ने छौँ,’ उपकुलपति डा रावलले भने ।

उनले अन्तर्राष्ट्रिय सहयोग र सहकार्यमा यो महत्वपूर्ण कदमको प्रतिनिधित्व हो भन्दै यसले स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा दुबै संस्थाहरूको लागि बहुमूल्य साझेदारी र अवसरहरूको नेतृत्व गर्ने बताए ।

 

 


Author

थप समाचार
x