स्वास्थ्य

डाक्टर कुटपिट प्रकरण : एक जनाले जिल्ला छाडे, सामूहिक राजीनामा दिने तयारी

इकागज |
भदौ २८, २०८० बिहीबार २१:९ बजे

मकवानपुर - हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटनाबाट पीडित १ जना डाक्टरले जिल्ला छाडेका छन् । बुधबार सन्चो अस्पतालमा कार्यरत डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि ड्यिुटीमा रहेको बेला कुटपिट भएको थियो ।

कुटपिट घटनाबाट पीडित डाक्टर थापाले भने जिल्ला छाडेका छन् । उनले बिहीबार दिउँसो हेटौंडाबाट काठमाडौं गएको बताइएको छ । आक्रमणमा परी घाइते भएका थापा थप उपचारका लागि हेटौँडा अस्पतालबाट रेफर लिएर काठमाडौं गएका हुन् ।


कुटपिटमा संलग्नहरूलाई कारबाही गर्न माग गर्दै मकवानपुरका स्वास्थ्यकर्मीहरू भने आन्दोलित बनेका छन् । अस्पतालभित्रै डाक्टरमाथि बुधबार भएको कुटपिटको घटनामा संलग्न भएकाहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै मकवानपुरका अन्य स्वास्थ्यकर्मी भने आन्दोलित भएका छन् । घटनामा संलग्न दोषीलाई पक्राउ नगरे शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।

हेटौँडा अस्पतालमा प्रशासन तथा प्रहरी प्रमुखसँग बिहीबार भएको स्वास्थ्यकर्मीहरूको भेलामा चेतावनीसँगै घटनामा संलग्न भएकाहरूलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाएमा सामूहिक राजीनामा दिने साथै शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने समेत चेतावनी दिएका हुन् ।

प्रहरीले बुधबारको घटनाको सुरक्षाको प्रत्याभूति दिन नसकेकोमा जाहेरी दिने अवस्था समेत नरहेको स्वास्थ्यकर्मीहरुले भेलामा बताउँदै घटनामा संलग्न भएकाहरू प्रहरी कार्यालयमा नै आएर धम्की दिँदासमेत प्रहरी मूकदर्शक बनेकोप्रति स्वास्थ्यकर्मीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसमक्ष आक्रोश समेत व्यक्त गरेका थिए ।

स्वास्थ्यकर्मी असुरक्षित बनेको भन्दै एक महिना अघि भएको मृत्यु घटनामा कुटपिट गरेर प्रहरी कार्यालय परिसरमा कुटपिटमा संलग्न भएकाहरू आउँदासमेत पक्राउ नगर्नु प्रहरीको चरम लापरबाही भएको आरोप स्वास्थ्यकर्मीले लगाए । सुरक्षा अवस्था कमजोर रहेको र सुरक्षाको प्रत्याभूति नभएका कारण सबै चिकित्सकले सामूहिक राजीनामा दिने गरी हस्ताक्षर गरिसकेको बताइएको छ । शुक्रबारबाट मकवानपुरका सबै स्वास्थ्य संस्थामा आपत्कालीन बाहेकका सेवा ठप्प गरिने भएको छ ।

भेलामा कुटपिटमा परेका डाक्टर बिडारी, नेपाल स्वास्थ्यकर्मी संघ मकवानपुरका उपाध्यक्ष सुधीर दाहाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष भोला चौलागाई, निजी अस्पतालका प्रतिनिधिहरूले घटनाले स्वास्थ्यकर्मीसँग समाजमा असुरक्षाको अवस्था सिर्जना भएको बताउँदै प्रहरीले नै घटनामा संलग्नहरूलाई नियन्त्रणमा नलिएर सुरक्षा दिने कार्य गरेको आरोप लगाएका थिए ।

यसैबिच नेपाल चिकित्सक संघ केन्द्रीय समितिले आफ्ना आजीवन सदस्य डाक्टरद्वय थापा र बिडारीमाथि आक्रमण गर्नेमाथि ७२ घण्टाभित्र कानुनी कारबाही नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाएको छ ।

डाक्टरमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा हेटौँडा–१२ की रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । आक्रमणमा संलग्न थप व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गत साउन २२ गते सन्चो अस्पतालमा हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमपोखरीका ४१ वर्षीय राजेश प्रधान उपचार गराउन आएका थिए । थप उपचारका लागि भदौ २३ गते चितवनको अस्पतालमा उपचारका लागि प्रेषण गरिएको थियो । चितवनमा थप उपचारका लागि गएका प्रधानको उपचारको क्रममा साउन २५ गते मृत्यु भएको थियो ।


Author

थप समाचार
x