स्वास्थ्य

मधेशमा क्षयरोगीको संख्या बढ्याे, ९ हजार पुगे बिरामी

सुभाष कर्ण |
चैत १०, २०७९ शुक्रबार २१:५५ बजे

जनकपुरधाम- मधेश प्रदेशमा क्षयरोगीको संख्या भयावह अवस्थामा पुगेको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशमा क्षयरोगीको संख्या झण्डै ९ हजारको हाराहारीमा पुगेको छ ।

शुक्रबार स्वास्थ्य निर्देशनालयद्वारा १४१ औं विश्व क्षयरोग दिवसको अवसरमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार देशभरीमा ६९ हजार क्षयरोगी रहेकोमा मधेश प्रदेशमा मात्रै ८ हजार ९८१ रहेका छन् ।


तथ्यांक अनुसार ७ वर्षको अवधिमा आ.व. ०७६/०७७ मा क्षयरोग नियन्त्रणमा केही सुधार आएपनि पुनः यो संख्या बढ्दै गएको हो । प्रस्तुत तथ्यांक अनुसार आ.व. ०७२/७३ मा ६ हजार ३९५, आ.व. ०७३/७४ मा ६ हजार ४४९, ०७४/७५ मा ६ हजार ७८९ पुगेको थियो । तर, ०७६/७७ मा न्यूनीकरण हुँदै ५ हजार ८२० मा संख्या पुगेको थियो ।

सो आर्थिक वर्षमा सरकार क्षयरोग नियन्त्रण गर्न केही सफल भएपनि त्यसलाई आगामी आर्थिक वर्षमा नियन्त्रण गर्न विफल देखिए । आ.व. ०७७/७८ मा बढेर ६ हजार ६५३ पुग्यो । सो संख्या बढ्दै आ.व. ०७८/०७९ मा आइपुग्दा ८ हजार ९८१ पुगेको छ । सरकारले आ.व. ०७८/०७९ मा १४ हजार १९९ रोगी पत्ता लगाउने लक्ष्य राखेकोमा विफल हुँदै ८ हजार ९८१ मात्र फेला पार्न सक्यो ।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी सर्लाही र कम सप्तरीमा क्षयरोगी रहेका छन् । तथ्यांक अनुसार सर्लाहीमा १ हजार ४६२ र सप्तरीमा ६७६ क्षयरोगी छन् । त्यस्तै सिरहामा ७५८, धनुषामा १ हजार ३२१, महोत्तरीमा १ हजार १४२, रौतहटमा १ हजार ८८, बारामा १ हजार ३७८ र पर्सामा १ हजार १५६ क्षयरोगी रहेका छन् । फेला परेका यी क्षयरोगीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेर औषधि लिइरहेका छन् । 

कार्यक्रममा जानकारी गराइए अनुसार सबैभन्दा बढी खकारबाट फोक्सोको (पीबीसी) क्षयरोगी रहेका छन् । खकारबाट फोक्सोकाे पत्ता लागेका ५ हजार १७३ क्षयरोगी, एक्सरे वा सिटी स्क्यानबाट पत्ता लागेका फोक्सोकाे क्षयरोगी (पीसीडी) १ हजार ९८० र फोक्सो बाहिर देखिने क्षयरोगी (ईपी) १ हजार ८२९ रहेको छ । 
क्षयरोगबाट चालु आ.व. ०७९/८९ सम्म १७ हजारको क्षयरोगबाट मृत्यु भइसकेको छ । देशभरीमा १४ वर्षमुनिका ५ हजार १ सय नयाँ बिरामी रहेका छन् भने १४ वर्षमाथिका ६३ हजार ९ सय बिरामी रहेका छन् । नेपालमा दैनिक १९१ जाना नयाँ बिरामी फेला पर्दै आएका छन् । कूल जनसंख्याको ५० प्रतिशत जति क्षयरोगबाट संक्रमित रहेको अनुमान गरिएको छ ।

क्षयरोग मुक्त नेपाल अभियान मधेश प्रदेशका तीन वटा स्थानीय तहमा संचालित रहेका छन् । प्राप्त जानकारी अनुसार धनुषाको लक्ष्मिनिया गाउँपालिका, सर्लाहीको हरिवन नगरपालिका र बाराको निजगढ नगरपालिकामा सो कार्यक्रम संचालन छ । स्वास्थ्य सेवाको पहुँच नहुनु, स्वास्थ्य संस्था भएपनि उपयोग नगर्नु, स्वास्थ्य संस्थामा गएपनि रोगको पहिचान हुन नसक्नु, सामाजिक भेदभाव र लोकलाजले बिरामी भएर लुकाउने प्रवृत्तिले क्षयरोगीको संख्या दिनानुदिन बढ्दै गएको कार्यक्रममा सहभागी वक्ताहरूले बताए । 

क्षयरोगले प्रदेश अक्रान्त भएपनि मधेश प्रदेश सरकारले यसमा कुनै खास चासो नलिइएको कार्यक्रममा गुनासो गरिएको छ । स्वास्थ्य निर्देशनालयका राजवीर यादवका अनुसार प्रदेशमा क्षयरोगीहरूका लागि उचित अस्पताल छैन, गम्भीर प्रकृतिका बिरामीलाई होस्टेलमा राखेर उपचार गर्नुपर्ने अवस्थामा यहाँ ६ बेडको एउटा मात्र होस्टेल छ । बिरामी बढी भएकाले प्रदेश सरकारले यसतर्फ ध्यान दिन जरुरी देखिएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्री सुरिता साहले अन्य बिरामीको उपचार सम्भव रहेकाे तर यो रोग लुकाउने प्रवृत्तिले सरुवा रोग भएका कारण समुदायमा कोरोना जस्तै बढ्दै गएको बताइन् । उनले चाँडै प्रदेशमा क्षयरोग उपचारको छुट्टै अस्पताल खोल्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी भण्डारीले ग्लोबल फण्डको सहयोगमा प्रदेश सरकारले क्षयरोग अस्पताल खोल्ने तयारी रहेपनि जग्गा अभावले ढिलाई भइरहेको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x