स्वास्थ्य

राप्ती सोनारीका सबै वडामा प्रसूति गृह निर्माण हुँदै

इकागज |
माघ १०, २०७९ मंगलबार १४:४० बजे

राँझा- बाँकेको राप्ती सोनारी गाउँपालिकाले एक वडा एक प्रसूति गृह निर्माण गर्ने नीति कार्यान्वयन सुरु गरेको छ । प्रसूति गृह नभएका वडामा भवन निर्माण सुरु गरिएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए ।

उनका अनुसार, प्रसूति गृह नभएको राप्ती सोनारी गाउँपालिका–६ मा भवन निर्माण सुरु गरिएको छ । वडा नं ६ फत्तेपुरको कमैयाँडाँडामा प्रसूति गृह निर्माण सुरु भएको छ । वडामा प्रसूति गृह नहुँदा सुत्केरी हुने महिलालाई वडा नं ७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रसूति गृह निर्माणका लागि रू २५ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।


राप्ती सोनारी –६ कमैयाँडाँडास्थित आधारभूत स्वाथ्य केन्द्र नजिकै तीन कोठे प्रसूति गृह निर्माण सुरु भएको राप्ती सोनारी गाउँपालिका–६ नं वडाध्यक्ष लवराज खरेलले बताए । वडामा प्रसूति गृह निर्माणपछि सुत्केरी हुन टाढा जानुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।

आधारभूत स्वास्थ्य केन्द्रमा गर्भवती जाँच भए पनि प्रसूति गृह नहुँदा सुत्केरी हुन फत्तेपुर स्वास्थ्यचौकी जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । राप्ती सोनारी गाउँपलिका जनसङ्ख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो ।

गाउँपालिकाको अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गाउँपालिका र भारतीय सिमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका छवटा गाविस खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिका ९ वडामा विभाजित छ ।


Author

थप समाचार
x