स्वास्थ्य

क्षयरोगः उपचार सम्भव छ, तर दायरामा ल्याउनै सकस

सरिता दाहाल |
असार २५, २०७९ शनिबार १०:३३ बजे

मकवानपुर - 'खानपान नियमित सामान्य नै हुन्छ, सम्भ्रान्त परिवार हैन, सामान्य खानपान र जीवनशैलीमा चल्ने मान्छे हामी यसरी थलिनु पर्ला भन्ने सोचेमा   पनि थिएन ।'

विगत ५ महिनादेखि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगको औषधि सेवन गरिरहेका हेटौंडा १ निवासी केशव न्यौपानेले भने, 'चुरोट खान्थे, न कुनै सुर्तिका जातहरू, 'अब कम्तीमा एक महिना स्वास्थकर्मीकै निगरानीमा औषधि सेवन गर्नुपर्छ भन्ने सल्लाह छ ।' एउटा निजी उद्योगमा कार्यरत उनी औद्योगिक प्रदूषणको कारण क्षयरोगको शिकार भएको अनुमान गर्छन् ।


मकवानपुरगढी ६ का कल्पना सञ्जेललाई लगातार तीन हप्तासम्म खोकी लाग्यो, छिमेकीको सल्लाहमा खकार जचाइन्, उनलाई क्षयरोगको संक्रमण देखियो । दुई महिनादेखि नियमित औषधि सेवन गरिरहेकी छिन् । 

मेरुदण्डमा क्षयरोगको संक्रमण देखिएका हेटौंडा शम्भु तिमल्सेना पछिल्लो एक वर्ष औषधिको सेवनपछि सहज जीवन जिउन थालेका छन् । उनीहरू दुई जना मात्रै हैन मकवानपुरमा चालू आर्थिक वर्षमा मात्रै थप ३०१ जना क्षयरोगी पहिचान भएका छन् । गत आर्थिक वर्षमा ५ सय ३० क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनामा ३०१ जनामा क्षयरोगको संक्रमण पुष्टि भएको छ ।

क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रमहरू ल्याए पनि क्षयरोगको नियन्त्रण गर्नमा सफलता हासिल हुन सकेको छैन । मकवानपुर मात्रै हैन प्रदेशको सबै जिल्लामा क्षयरोगीको संक्रमण बढ्दो रुपमा भेटिएको छ । रोगको निदान भएको कारण उपचारमा आउनुको कारण पनि तथ्याङ्कमा बढी देखिएको सरोकारवालाहरूको दाबी छ ।

बागमती प्रदेशमा क्षयरोगका बिरामीको संख्याहरू बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्कअनुसार प्रदेशका १३ जिल्लामा क्षयरोगीको सङ्ख्या अपेक्षाकृत नियन्त्रण हुन सकेको छैन । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा चालू आर्थिक वर्षमा क्षयरोगका बिरामीको संख्या बढेको पाइएको निर्देशनालयका प्रादेशिक क्षयरोग कार्यक्रम संयोजक शम्भुकुमार शाहले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयका अनुसार केही वर्षअघि गरिएको एक सर्वेक्षणमा प्रदेशमा १५ हजार ९ सय ८ क्षयरोगका बिरामी रहेको पुष्टि भएको थियो । तर, त्यो गणनाका अनुसार लक्ष्य पछ्याएर उपचारको दायरामा अझै ल्याउन नसकिएको निर्देशनालयले जनाएको छ ।

बागमतीका १३ मध्ये काठमाडौं जिल्लाका क्षयरोगको संक्रमण बढी छ । काठमाडौंमा गत आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ९ सय ८१ क्षयरोगका बिरामी रहेका थिए ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा काठमाडौंमा १ हजार ६ सय ३६ जना क्षयरोगका बिरामी भेटिएका संयोजक शाहले बताए । यही दरमा यो वर्ष ३ हजारको संङ्ख्यामा क्षयरोगीहरू पुग्नेछन् । धादिङ जिल्लामा गत आर्थिक वर्षमा २ सय १० मानिसमा क्षयरोग भएको पुष्टि भएको थियो । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा धादिङमा १ सय २५ जना क्षयरोगका बिरामी भेटिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी दोलखामा गत आर्थिक वर्षमा ९० जना क्षयरोगका बिरामी भेटिएकोमा चालू आवको ६ महिनामा २४ जनामा क्षयरोगको संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै, गत आवमा नुवाकोटमा १९७, रसुवामा ३१, सिन्धुपाल्चोकमा १ ६९ जनामा क्षयरोगको संक्रमण भेटिएको छ । यि जिल्लाहरुमा चालु आर्थिक वर्षको ६ महिनामा क्रमशः ७१ जना, १७ जना र ९३  जनामा सक्रमण पुष्टि भएको छ ।

यसैगरी गत आर्थिक वर्षमा सिन्धुलीमा २२२ जना क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनाको अवधिमा १५२ जनामा क्षयरोगको संक्रमण भएको छ । यसैगरी प्रदेशको चितवन जिल्लामा अघिल्लो आवमा ८८९ क्षयरोगका बिरामी रहेकोमा चालू आवको ६ महिनामा ५२५ जनामा क्षयरोग भेटिएको छ । 
यसैगरी काभ्रेपलान्चोकमा गत आर्थिक वर्षमा २५५ र यो आवको ६ महिनामा १३५ जनामा क्षयरोगी छन् । 

प्रदेशको भक्तपुर जिल्लामा पनि क्षयरोगको संक्रमण उच्च छ । अघिल्लो आर्थिक वर्षमा ४५२ जनामा क्षयरोगको संक्रमण भएकोमा पछिल्लो ६ महिनामा थप २९१ जनामा क्षयरोगको पुष्टि भएको छ । यस्तै ललितपुरमा गत आर्थिक वर्षमा ५५२ क्षयरोगका बिरामी रहेकोमा चालू आवमा ४३५ जनामा क्षयरोगी भेटिएका छन् ।

यता रामेछाप जिल्लामा पनि यसको संक्रमण उच्च नै रहेको छ । गत आर्थिक वर्षमा ८५ जना क्षयरोगका बिरामी फेला परेकोमा रामेछापमा चालू आवको ६ महिनामा ३८ जनामा क्षयरोगको संज्ञmमण भेटिएको छ । 

२०७० को तथ्याङ्कअनुसार नेपालमा करिब ६० प्रतिशत वयस्क जनशक्ति क्षयरोगबाट संक्रमित थिए । त्यसमध्ये करिब ८० देखि ९० हजार मानिस क्षयरोगबाट पीडित छन् । करिब ५ हजारदेखि ७ हजार व्यक्तिप्रति वर्ष क्षयरोगबाट ज्यान गुमाउने गरेका छन् ।

क्षयरोग फोक्सोमा लाग्ने रोग भए पनि शरीरका अन्य अंगमा पनि यसको संक्रमण हुने गरेको छ । फोक्सो बाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थी, पाचन प्रणाली, मूत्र प्रणाली तथा प्रजनन प्रणाली, हाडजोर्नी, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखामा पनि क्षयरोगको संक्रमण हुने गरेको छ । लगभग २० प्रतिशत क्षयरोगका बिरामीमा फोक्सो बाहिरका क्षयरोग संक्रमण भेटिने गरेको छ । जसको १५ प्रतिशत बिरामीमा मूत्र प्रणालीको क्षयरोग भेटिन्छ । 

स्वास्थ्यकर्मीका अनुसार फोक्सोको क्षयरोग पत्ता लगाउने भरपर्दो उपाय खकार परीक्षण गर्नु उत्तम मानिन्छ । दुई हप्ता वा त्योभन्दा बढी खोकी लागेमा अनिवार्य खकार परीक्षण गर्नुपर्दछ । क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्णरूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरू निःशुल्क वितरण गर्दै आएको छ । 

क्षयरोगको पहिचान भएपछि सबैप्रकारको उपचार निशुल्क हुन्छ । सरुवा रोग भएकोले परिवारमा विशेष सावधानी राख्नु पर्ने स्वास्थ्यकर्मीहरुको  आग्रह छ । परिवारीक असावधानीको कारण परिवारमै ३ जनासम्मलाई क्षयरोगको संक्रमण हुने गरेको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक भोला प्रसाद चौलागाँइले बताए । उपचार हुने रोगबारे पनि लुकाएर डराएर बस्ने प्रवृति रहेको उनले बताए ।


Author

थप समाचार
x