सरकार

स्थानीय तह निर्वाचन

७४७ स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने

अतिन आचार्य |
चैत २१, २०७८ सोमबार ८:५८ बजे

फाइल तस्बिर

काठमाडौँ-  निर्वाचन आयोगले ७४७ वटा स्थानीय तहको मतपत्र वैशाख १८ गतेसम्म छापिसक्ने भएको छ । बाँकी ६ वटा महानगरपालिकाको मतपत्र २२ गतेसम्म छापिसक्ने आयोगको तयारी छ । 

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आयोगले मतपत्र छाप्न सुरु गरिसकेको छ । भक्तपुरस्थित जनक शिक्षा सामग्रीले देशभर एकसाथ हुने निर्वाचनका लागि मतपत्र छपाइको काम गरिरहेको आयोगले जनाएको छ । 


विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गर्नुअघि जिल्ला-जिल्लामा मतपत्र पठाइसक्ने आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार मुख्य-मुख्य राजनीतिक दलको चिन्ह समेटेर बनाइएको मतपत्र सुरुमा जिल्लाका ठूला स्थानीय तहमा बाहेक अरू ठाउँमा पठाइन्छ । निर्वाचनमा बढी मतदाता हुने स्थानीय तहमा केही दिन मात्र मतपत्र छपाइमा ढिलो हुन्छ ।

मतपत्रलाई रुजु गर्नुपर्ने भएकाले निर्वाचन हुनु दुई साताअघि मतपत्र पठाइसक्नुपर्ने अर्यालले जानकारी दिए ।

'छ वटा महानगर मध्ये अझ सबैभन्दा बढी ढिलो छपाइ काठमाडौँ महानगरपालिकाको हुन्छ,' उनले भने, 'जुन स्थानीय तहमा बढी मतदाता हुन्छन् त्यसमा ढिलाइ हुन्छन् । उम्मेदवारको संख्या अनुसार पनि दलको चिन्ह तय गर्नुपर्ने हुन्छ ।'

मतपत्रको साइज अनुसार मूल्य फरक-फरक पर्ने उनले जानकारी दिए । सबैभन्दा बढी उम्मेदवार बढी हुने स्थानीय तहको मतपत्र बनाउँदा बढी खर्च हुने उनको भनाइ छ ।

आयोगका अनुसार कम मतदाता भएका स्थानीय तहको मतपत्र छिटो बनाएर सकिन्छ । डोल्पाको मतपत्रको मूल्य सबैभन्दा सस्तो पर्नेछ । 'मतदाता कम भएको ठाउँमा मतपत्र छपाइ कम र चुनाव चिन्ह पनि थोरै हुने भएकाले मूल्य सस्तो पर्छ', उनले भने ।

आयोगले १६ गतेबाट नमूना मतपत्र छाप्‍न सुरु गरिसकेको छ । सबै जिल्ला निर्वाचन कार्यालयमा नमूना मतदान कार्यक्रम हुनेछ । जनक शिक्षा सामग्रीले आयोगसँग सम्झौता गरेर छपाइ प्रक्रिया अगाडि बढाएको हो । आयोगका अनुसार एकै किसिमका मतपत्र बनाउनु परेमा मूल्य सस्तो पर्न जानेछ ।

मतपत्रको आकार र शैलीमा पनि मतपत्रको मूल्य निर्धारण हुनेछ ।

आयोगले २ करोड मतपत्र छाप्‍ने छ । मतपत्र छपाइको स्थान नेपाली सेनाको नियन्त्रणमा रहेको छ । उनका अनुसार, मतपत्र कति छपाइ भयो त्यसको सम्पूर्ण जानकारी आयोग र नेपाली सेनाले जानकारी दिनेछन् ।

उनका अनुसार, मतपत्र छपाइस्थल वरिपरि सिसिटिभी क्यामेरा पनि जडान छन् । मतपत्र छपाइस्थल सिसि क्यामेराको निगरानीमा र सबै सुरक्षाकर्मीको नियन्त्रणमा छन् ।

जनक शिक्षाले मतपत्र छपाइको व्यवस्थापकीय जिम्मा मात्र लिएको हो । आयोगले मतपत्र छपाइ मेसिन जनक शिक्षा सामग्रीलाई दिएको छ । आयोगको मेसिन यसअघिदेखि नै जनक शिक्षा सामग्रीले प्रयोग गर्दै आइरहेको छ ।

केन्द्रसँग मतपत्र छाप्‍न नौ वटा मेसिन छन् । प्रतिघण्टा एउटा मेसिनले १५ हजार मतपत्र छापाइ गरिरहेको छ । एक घण्टामा नौ वटा मेसिनबाट १ लाख ३५ हजार मतपत्र छपाइ हुन्छ ।

 

 

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x