सरकार

अध्यागमनका कर्मचारीलाई गृहमन्त्री लामिछानेको निर्देशन : श्रमिकलाई विमानस्थलमा हैरानी नदिनू

इकागज |
चैत १३, २०८० मंगलबार २०:१ बजे

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गरेका छन् ।

अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गरे । उनले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास दिलाए । 


केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको सन्दर्भ जोड्दै उनले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाई जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको स्वीकार गर्दै उनले प्रयास जारी राख्न अनुरोध गरे । 

उनले भने, 'हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहन्नँ, भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनुहुन्न, दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।' सो क्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए ।

कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।


Author

थप समाचार
x