सरकार

असोज २३ गतेदेखि मनोनयन दर्ता, २६ गते चुनाव चिह्न दिइने

इकागज |
असोज १५, २०७९ शनिबार १३:८ बजे

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फ उम्मेदवारलाई असोज २६ गते चुनाव चिह्न प्रदान गर्ने भएको छ । 

मनोनयन दर्ताका लागि असोज २३ गतेदेखि २६ गतेसम्म समय तोकिएको छ । ‘सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गतेदेखि २६ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता सञ्चालन हुनेछ,’ आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ, ‘मनोनयन दर्ता असोज २३ गते र उम्मेदवारलाई निर्वाचन चिह्न असोज २६ गते प्रदान गर्ने कार्यक्रम रहेको छ ।’


त्यस्तै, आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार हुन मापदण्ड पनि निर्धारण गरेको छ । जसअनुसार मनोनयन दर्ताको मितिसम्म २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । मनोनयन पत्र दर्ताका लागि उम्मेदवार स्वयं उपस्थित हुनुपर्ने वा निजका प्रतिनिधि, प्रस्तावक वा समर्थकले निर्वाचन अधिकृत समक्ष दर्ता गर्नुपर्ने छ । 

उम्मेदवारी दिन व्यक्ति कुनै संघीय कानुनले अयोग नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने पनि उल्लेख छ । 

आयोगले मनोनयन पत्र दर्ताका लागि शूल्क पनि तोकेको छ । जसअनुसार प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार धरौटी जम्मा गर्नुपर्ने छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने छुटको व्यवस्था गरिएको छ ।

 


 


Author

थप समाचार
x