फुटबल

नेपाली फुटबलको विकासमा सहकार्य गर्न स्पेनिस ला लिगाको चासो

इकागज |
फागुन २३, २०८० बुधबार १५:४८ बजे

काठमाडौँ- स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानोबीच नेपाली फुटबलमा सहकार्यका लागि छलफल भएको छ ।

भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदूत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताव राखेका थिए ।


मड्रिडस्थित ला लिगाको मुख्यालयमा मंगलबार भएको भेटका क्रममा राजदूत ढकालले ला लिगाका अध्यक्ष मेड्रानोलाई नेपाल भ्रमणको निम्तो समेत दिएकी थिइन ।

‘उहाँ नेपाल भ्रमणका लागि निक्कै उत्साहित हुनुहुन्छ । उहाँको नेपाल भ्रमण चाँडै सम्पन्न हुनेछ । नेपाली फुटबलको विकासका लागि सहकार्य गर्न ला लिगाका तर्फबाट उहाँले तत्परता जनाउनुभएको छ,’ राजदुत ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ला लिगाको चाहना समग्र नेपाली फुटबलको विकासमा सहकार्य गर्ने छ । तथापि महिला फुटबलमा सहकार्य अली बढि केन्द्रित गर्ने उहाँको इच्छा छ ।’

राजदुत ढकालले जनाएअनुसार भेटमा नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने तथा नेपाली फुटबललाई प्राविधिक रुपमा सशक्त बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

नेपालमा स्पेनिस फुटबलको ‘फ्यान बेस’ निक्कै राम्रो भएको कारण पनि ला लिगा सहकार्यका लागि उत्साहित भएको राजदूत ढकालको बुझाई छ ।

भेटका क्रममा ला लिगाका अध्यक्ष मेड्रानोले भौगोलिक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि निक्कै राम्रो ठाउँ भएको बताउँदै निकट भविष्यमै सहकार्यको थालनी गरिने बताएका थिए । सो क्रममा अध्यक्ष मेड्रानोले राजदूत ढकाललाई ला लिगाको आधिकारिक बल उपहार दिएका थिए ।

स्पेनस्थित नेपाली राजदूतावासको पहलमा गत वर्ष त्यहाँको दोस्रो डिभिजनको क्लब कासेरेन्यो एफसीले दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गरेको थियो ।


Author

थप समाचार
x