फुटबल

मेस्सीमाथि किन आक्रोशित भए उनकै समर्थक ?

इकागज |
माघ २२, २०८० सोमबार १५:२१ बजे

काठमाडौँ- हङकङमा रहेका लियोनल मेस्सी समर्थकहरु मेस्सीमाथि आक्रोशित बनेका छन् ।

अमेरिकी क्लब इन्टर मियामीको प्रि-सिजन मैत्रीपूर्ण खेलका क्रममा मेस्सी मैदानमा नउत्रिएपछि समर्थकहरू आक्रोशित बनेको बीबीसीले जनाएको छ ।


अमेरिकाको मेजर सकर लिग क्लब इन्टर मियामीले हङकङको स्थानीय क्लब लिग-११ सँग आइतबार मैत्रीपूर्ण खेल खेल्दा मेस्सी मैदानमा प्रवेश गरेनन् ।

४० हजार समर्थकमाझ खेलिएको मैत्रीपूर्ण खेलमा इन्टर मियामीले लिग-११ लाई ४-१ ले पराजित गरेको थियो ।

तर मेस्सीले खेलेको हेर्न गएका समर्थक भने उनीमाथि आक्रोशित भए । इन्टर मियामीका मालिक मध्येका एक डेभिड बेख्ह्यामले बोल्दै गर्दा समर्थकहरूले रकम फिर्ता माग गर्दै नाराबाजी गरेका थिए ।

यसैबीच हङकङको सरकारले मैत्रीपूर्ण खेलका आयोजक टाटलर एसियालाई प्रदान गरिने आर्थिक सहायतामा कटौती गर्ने चेतावनी दिएको छ ।

मेस्सीले नखेलेपछि आयोजकको व्यवस्थापनप्रति समर्थक र सरकार नै आक्रोशित बनेको हो । हङकङ सरकारको मेजर स्पोर्ट्स इभेन्ट्स कमिटीले खेल आयोजनाका लागि १५ मिलियन हङकङ डलर प्रदान गरेको थियो ।

मेस्सीको खेल हेर्न भन्दै दर्शकहरूले प्रतिव्यक्ति १ हजार हङकङ डलर तिरेका थिए ।


Author

थप समाचार
x