फुटबल

फिलिपिन्सविरुद्ध ४१ वर्षअघिको नतिजा दोहोर्‍याउने दाउमा नेपाल

कुमार थापा |
जेठ ३२, २०८० बिहीबार १५:२३ बजे

काठमाडौँ– फिलिपिन्सको रिजाल मेमोरियल स्टेडियममा नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिलिपिन्ससँग खेल्दैछ । मैत्रीपूर्ण खेल नेपाली समय अनुसार अपराह्न ४ः४५ बजेबाट सुरु हुँदैछ । साफ च्याम्पियनसिप २०२३ खेल्न भारत जानुअघि नेपालले फिलिपिन्ससँग एकमात्र मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

फिफाको पछिल्लो वरियतामा फिलिपिन्स विश्वको १३६ औं स्थानमा छ भने नेपाल १७४ औं स्थानमा रहेको छ । 


नेपाल र फिलिपिन्सबीच फुटबल इतिहासमा कूल ६ पटक आमनेसामने भएका छन् । नेपालले फिलिपिन्ससँग एक खेल मात्र जितेको छ । दुई टोलीबीच भएको पहिलो खेलमा नेपालले फिलिपिन्सलाई १–० गोलले पराजित गरेको थियो । नेपालको जित सन् १९४२ मा थाइल्यान्डमा भएको किंग्स कपमा आएको थियो । ४१ वर्ष अगाडिको त्यो जित नै पहिलो र हालसम्मकै एक मात्र जित हो ।

त्यसैले आज मैत्रीपूर्ण खेलमै भएपनि ४१ वर्षको नतिजा दोहोर्याउने दाउमा छ नेपाल ।

त्यो जितपछि नेपालले फिलिपिन्ससँग पाँच खेल खेलेको छ ।  पाँच खेलमा नेपालले चार खेलमा हार बेहाेर्दा एक खेल बराबर खेलेको छ । फिलिपिन्ससँग नेपालले चार खेल लगातार हारेको छ । हार बेहाेरेको सबै खेल फिलिपिन्समा भएको थियो ।

नेपालले हारेको तीन खेल मैत्रीपूर्ण थियो भने एक खेल एएफसी एसियन कप छनोटमा भएको  हो । ११ अक्टोबर २०११ मा ४–० गोलले मैत्रीपूर्ण खेल पराजित भएको नेपाल ११ अप्रिल २०१४ मा ३–० गोलले मैत्रीपूर्ण खेलमा पनि हार बेहाेरेको हो ।

त्यस्तै ३१ अक्टोबर २०१४ मा ३–० गोलले मैत्रीपूर्ण खेलमै पराजित नेपालले २८ मार्च २०१७ मा ४–१ गोलले एएफसी एसियन कप तेस्रो चरणको समूह एफको  खेलमा हारेको थियो । यो खेलमा भने नेपालको तर्फबाट एक मात्र गोल विशाल राईले गरेका थिए । 

त्यसपछि एन्फा कम्प्लेक्स, ललितपुरमा भएको एएफसी एसियन कप तेस्रो चरणको समूह एफको खेलमा बराबरी भएको थियो । सो खेल गोलरहित बराबरीमा टुंगियो ।  

फिलिपिन्ससँग भएको हालसम्मका ६ खेलमा नेपालले जम्मा २ गोल गरेको छ भने १४ गोल खाएको छ ।

अहिले नेपाल लयमा छ । फिलिपिन्ससँग भएको पछिल्लो खेल बराबरी खेलेकाले पनि अहिले जित्ने लक्ष्यका साथ नेपाल मैदान भित्रिँदैछ ।

अन्तराष्ट्रिय खेल हेर्ने हो भने नेपाल पछिल्ला पाँच खेलमा अपराजित रहेको छ जसमध्ये चारमा जित हात पारेको छ । ती सबै पाँच खेल घरेलु मैदानमा भएको थियो । 
घरेलु मैदान बाहिर भने रेकर्ड राम्रो छैन । नेपालले पछिल्लो तीन खेलमा १३ गोल खाएको छ । इन्डोनेसियासँग भएको खेलमा नेपालले  ७–० गोलले पराजित भएको थियो ।

अर्कोतर्फ फिलिपिन्सले भने २०१८ यता खराब प्रदर्शन गर्दै आएको छ । २०१८ यता लगातार दुई खेलमा जित निकाल्न सकेको छैन । पछिल्ला चार खेलसहित आठ खेलहरूमध्ये सातमा  हारे बेहाेरेको छ । थाइल्याण्ड, कुवेत, जोर्डन र इन्डोनेसियासँग हार बेहाेरेको थियो, जहाँ फिलिपिन्सले कुल १० गोल खाएका थिए ।  

नेपालको मुख्य प्रशिक्षक विन्सेन्जो अल्बर्टो एनीजले आफ्नो कार्यकालमा नेपालको अहिलेसम्म तीनवटा खेल मात्रै हेरेका छन् । मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै इटालियन प्रशिक्षकले आफ्नो टोलीको गुणस्तरबारे अझै थाहा नभएको बताएका थिए ।

‘यो हाम्रो लागि गाह्रो हुनेछ किनकि हामीसँग लगभग नयाँ खेलाडीहरू छन् किनकि हामीले धेरै गुमायौं,' एनीजले भने, ‘यस खेलले हामीलाई हाम्रो टोलीको गुणस्तर जान्न पनि मद्दत गर्नेछ ।’ फिलिपिन्सका लागि आफ्नो दोस्रो कार्यकाल सम्हालेका माइकल वेइस सुरुवात जितसँगै गर्न चाहन्छन् । ‘नेपालविरुद्ध हामी तयार छौं र जितका लागि भोकाएका छौं,' वेइसले भने, ‘हामी नेपालविरुद्ध आक्रमक प्रणालीबाट खेल्नेछौं ।’

नेपालका मुख्य प्रशिक्षक एनीजले फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल र भारतमा हुने साफ च्याम्पियनसिपका लागि २३ सदस्य टोलीको घोषणा गरिसकेका छन् । डिफेन्डर विमल पाण्डे, सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाउन सफल भएका छन् ।

मुख्य प्रशिक्षक एनीजले घोषणा गरेको नेपाली टोलीमा गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ छन् ।

डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमन्त थापा छन् । मिडफिल्डरमा पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु  र आभास लामिछाने रहेका छन् ।

फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर छन्  ।


 


Author

थप समाचार
x