फुटबल

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताकाे विजेतालाई ५ हजार अमेरिकी डलर पुरस्कार

इकागज |
चैत ६, २०७९ सोमबार १६:४६ बजे

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

एन्फाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ८ देखि १७ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागी हुने छन् । तीन राष्ट्रहरूले दशरथ रङ्गशालामा सिंगल राउन्ड रोविन आधारमा खेल खेली उत्कृष्ट दुई राष्ट्रबीच फाइनल खेल खेलाइने एन्फाले जनाएको छ ।


प्रतियोगिता फिफा विन्डो अन्तर्गतका मितिहरूमा खेलिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनले प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्धितिय पुरस्कार तीन हजार अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय गरि कूल ९ हजार ९ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने शाहले बताए ।

प्रतियोगिताको अनुमानित बजेट १ करोड ७७ लाख ६८ लाख रुपैयाँ रहेको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले बरियताकै आधारमा कसैलाई कमजोर भन्न नसकिने भन्दै आफूभन्दा कमजोर टिम भुटान र लाओसलाई आमन्त्रण गरिएको आलोचनाको बचाउ गरे । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ ।

चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् । प्रतियोगिताका लागि भुटान र लाओसको टिम नेपाल आइसकेको छ ।


Author

थप समाचार
x