फुटबल

विश्वकपमा पहिलो पटक भिड्दै अमेरिका र वेल्स

इकागज |
मंसिर ५, २०७९ सोमबार १०:५५ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको समूह बी’ अन्तर्गत अमेरिका र वेल्सबीच सोमबार राति खेल हुँदैछ । अमेरिका र वेल्सबीचको खेल अहमद विन अली स्टेडियममा राति पौने १ बजेबाट सुरु हुनेछ ।

अमेरिका र वेल्सले यसअघि दुई पटक एक-अर्काविरुद्ध खेले पनि फिफा विश्वकपमा भने पहिलो पटक भिड्न लागेका हुन् । दुवै टिम जित हात पार्दै विश्वकपमा सुखद सुरुवात गर्ने लक्ष्य सहित मैदानमा उत्रँदैछन् ।


वेल्सको ठूलो अपेक्षा गारेथ बेलमाथि रहेको छ किनभने बेलले अमेरिकाको मेजर लिग सकरमा लस एन्जेलेस एफसीलाई केही समयअघि नै उपाधि दिलाएका थिए ।

अमेरिका भने युवा खेलाडीहरुमा भर परेको छ । सन् २०१८ को विश्वकप गुमाएपछि अमेरिकी टिममा प्रशिक्षक ग्रेग बेरहाल्टरले व्यापक परिवर्तन ल्याए ।

इतिहास हेर्दा अघिल्ला दुई खेलमा अमेरिकाले एक खेल जित्दा एक खेल बराबरीमा टुंगिएको छ । पछिल्लो पटक सन् २०२० मा अमेरिका र वेल्सबीचको खेल गोल रहित बराबरीमा टुंगिएको थियो ।

अमेरिकाका फरवार्ड क्रिस्चियन पुलिसिकले अघिल्लो चरणमा पुग्ने तथा विश्वकपको सफलताले अमेरिकाको फुटबलमा व्यापक परिवर्तनको अपेक्षा रहेको बताए ।

वेल्सका फरवार्ड गारेथ बेलले अघिल्लो चरणमा पुग्न वेल्सले सक्दो प्रयास गर्ने बताए ।


Author

थप समाचार
x