फुटबल

के विश्वकपबाट आयोजक राष्ट्रले मनग्य आर्थिक आम्दानी गर्छ ?

इकागज |
मंसिर २, २०७९ शुक्रबार १७:५६ बजे

काठमाडौँ- ओलम्पिकपछि फुटबल विश्वकप सबैभन्दा ठूलो खेलकुद महोत्सव हो । नोभेम्बर २० तारिखदेखि आयोजना हुने फिफा विश्वकप हेर्न करिब ५० लाख मानिस कतार जाने अपेक्षा गरिएको छ । विश्वकप जस्ता खेलकुद महोत्सवमा टिकट, खेलकुद सामग्रीको बिक्री, प्रायोजन, पुरस्कारको रकम तथा पर्यटन क्षेत्रमा ठूलो रकम खर्च हुने गर्छ । 

तर के आयोजक देशलाई आर्थिक फाइदा हुन्छ ? 


तयारी, स्टेडियमजस्ता पूर्वाधार निर्माण, होटल निर्माणसाथै अन्य तयारीका लागि आयोजक राष्ट्रले अर्बौं खर्च गर्ने गर्छन् । तर, रकमको हिसाबमा खर्च गरिएको रकम तत्काल फिर्ता आउँदैन ।

फिफा विश्वकपमा पनि अर्बौं रकमको कारोबार हुन्छ । जस्तै सन् २०१८ मा रुसमा भएको विश्वकपको टेलिभिजन प्रशारण अधिकार विश्वभरी ४.६ बिलियन अमेरिकी डलरमा बिक्री भयो । तर, सो रकम भने फिफाले राख्यो । 

टिकट बिक्रीबाट उठेको रकम तथा प्रायोजनबाट उठ्ने रकम पनि फिफाले नै राख्छ । २०१८ मा फिफाले प्रायोजनबाट उठेको १ बिलियन डलर पनि आफैँसँग राख्यो । 

फिफाले केवल प्रतियोगिता आयोजनाका लागि मात्र रकम प्रदान गर्छ । यस पटक फिफाले कतारलाई १.७ बिलियन डलर दिएपनि त्यसमा ४४० मिलियन डलर पुरस्कार राशि पनि हुनेछ । 

जबकी कतारले स्टेडियम, रेल नेटवर्क तथा होटलजस्ता पूर्वाधार विकासको तयारीका लागि २०० बिलियन डलर खर्च गरिसकेको छ । 

विश्वकपको समयमा कतारमा पर्यटकको घुइँचो लाग्ने, होटल तथा रेष्टुरेण्टमा गरिने खर्च बढ्ने निश्चित छ । यति हुँदाहुँदै ती पूर्वाधार विकासका लागि गरिने खर्च छोटो समयको व्यापारले भने धान्न गाह्रो छ । 

त्यसो भए छोटो समयमा कसले फाइदा लिन्छ ? 

वर्ल्ड इकोनोमिक फोरमको प्रतिवेदनअनुसार विश्वकपको समयमा होटलको शुल्क बढे पनि काम गर्ने कर्मचारीको तलब भने बढ्ने छैन । यसको अर्थ के हो भने पैसा हुनेले पैसा कमाउने हो । 

यसबाहेक, फिफा साझेदार ब्रान्डहरूबाट व्यापारिक सामान, पेय पदार्थ वा अन्य चीजहरू खरिद गर्ने विश्वकप पर्यटकहरूले आयोजक देशको कर राजस्वमा योगदान गर्दैनन्, किनभने फिफा र यसको प्रायोजक ब्रान्डहरूका लागि विश्वकप बिडिङ प्रक्रियामा ठूलो कर छुट आवश्यक हुन्छ ।

सन् २००६ मा जर्मनीले विश्वकप आयोजनाका लागि २७२ मिलियन कर छुटको प्रस्ताव गरेको थियो । 

कतारले भने मानिसहरूको घुइचो रोक्न विश्वकपको टिकट नलिएकाहरूलाई नोभेम्बर १ देखि नै देशमा प्रवेशका लागि रोक लगाएको छ । एक हिसाबले कतारलाई विश्वकप आयोजना गरेर आर्थिक रूपमा केही फाइदा देखिँदैन । 

तर, विश्वकप आयोजना भनेको ‘सफ्ट पावर’ को प्रक्षेपण गर्ने अभ्यास हो । यसले विश्वलाई आयोजक देशले कसरी नयाँ पूर्वाधार विकास गरेर लगानी वा व्यापार गर्न राम्रो ठाउँ बनाउँछ भनेर देखाउँछ ।

लामो समयका लागि भने विश्वकप आयोजनाका लागि गरिएको खर्चलाई व्यवस्थापन गर्ने हो, आयोजकले अर्थतन्त्र विस्तार गर्न सक्छ । 

नयाँ सडक र यातायात परियोजनाहरूले विश्वकपमा अन्तिम सीटी बजाएपछि वर्षौंसम्म आर्थिक लाभ प्रदान गर्नेछ । 

आयोजक राष्ट्रका लागि विश्वकप भनेको गौरव, सम्मान र प्रचारको कुरा हो, जुन पैसा कमाउने कुराभन्दा पनि ठूलो हो । (श्रोतः अलजजिरा)
 


Author

थप समाचार
x