फुटबल

आर्थिक संकट, प्रतिबन्ध र अभावबीच साफ फुटबलमा सहभागिता

'हामी तिर्खाएका छौँ, उपाधि जितेर प्यास मेटाउन चाहन्छौँ'

सञ्जीव शाह |
भदौ २०, २०७९ सोमबार १५:४४ बजे

काठमाडौँ- मंगलबारबाट काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छैटौँ संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल आयोजना हुँदैछ । च्याम्पियनसीपमा सात टिमको सहभागिता रहनेछ । अघिल्ला पाँचवटै संस्करणका उपाधि विजेता भारत, चार पटकको उपविजेता तथा आयोजक नेपाल, एकपटकको उपविजेता बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सको सहभागितामा छैटौँ संस्करण आयोजना हुन लागेको हो । 

तर, साफ महिला च्याम्पियनसीप आधिकारिक रूपमा सुरू हुनुअघि सहभागी टिमहरूले विभिन्न उतारचढाबको सामना गरेर यहाँसम्मको यात्रा तय गरेका छन् । र, सहभागी सबै टिमको एउटा सामूहिक उद्देश्य भनेको उत्कृष्ट र प्रतिस्पर्धात्मक खेल पस्कन सक्नु हो । 


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा प्रतिबन्ध लगाएपछि पाँचै पटकको च्याम्पियन भारतले साफ खेल्न पाउने वा नपाउने नै अनिश्चित बनेको थियो । तर, छोटो समयमै एआईएफएफमाथि लागेको प्रतिबन्ध हटेपछि भारतको साफको सहभागिता सुनिश्चित बन्यो । र, भारतका लागि च्याम्पियनसीपमा सहभागिता जनाउनु नै महत्वपूर्ण हो । 

‘हामी यहाँसम्म आइपुग्यौँ त्यो नै ठूलो कुरा हो । हाम्रो तयारी राम्रो भएको छ । तर, च्याम्पयन बन्नुभन्दा पनि त्यसलाई निरन्तरता दिनु उत्तिनै कठिन छ,’ काठमाडौँमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा भारतीय टिमका प्रशिक्षक सुरेश क्षेत्रीले भने ।

यता भारतीय टिमकी कप्तान आशालता देवीले फिफाको प्रतिबन्ध भुलिसकेको जिकिर गर्दै साफका लागि उत्कृष्ट तयारी भएको बताइन् । 

अर्कोतर्फ श्रीलंकाको महिला टिम भने देशको आर्थिक संकट तथा राजनीतिक उतारचढाबका बीच नेपाल आइपुगेको छ । र श्रीलंकालाई नेपालसम्मको यात्रा तय गर्न अनेकौ बाधाहरूको सामना गर्नुपर्‍यो । 

श्रीलंकाका प्रशिक्षक चामिन्डा निल स्टेनवालले आर्थिक संकटका कारण टिमको तयारीका लागि यात्रामा समेत कठिनाइको सामना गर्नुपर्‍यो । जसले गर्दा तयारीमा बाधा पुगेको उनको भनाइ थियो । श्रीलंका टिमकी कप्तान पूर्णिमाले भने तयारी राम्रो भएको बताइन् ।

यता फिफाले पाकिस्तान फुटबल फेडेरेसनमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै ८ वर्षपछि पाकिस्तानको टिमले साफमा सहभागिता जनाउँदैछ । सन् २०१४ पछि पहिलो पटक पाकिस्तानले च्याम्पियनसीपमा सहभागी हुन लागेकाे हाे । 

पाकिस्तान टिमका प्रशिक्षक अदिल रिज्काले कठिन टिमहरूसँग खेल्नु परेपनि तयारी राम्रो भएका कारण सकारात्मक नतिजा ल्याउने विश्वास व्यक्त गरे । टिममा राम्रा खेलाडीहरू रहेको समेत दाबी उनले गरे । 

पाकिस्तान टिमकी कप्तान मारिया खानले ८ वर्षपछि च्याम्पियनसीपमा सहभागिता जनाउन पाउँदा उत्साहित भएको बताउँदै च्याम्पियनसीपका लागि सकारात्मक रहेको बताइन् । उनले टिममा पर्न खेलाडीहरूबीच कठिन प्रतिस्पर्धा भएको जिकिर गरिन् ।

बंगलादेशका प्रशिक्षक गोलाम रोबानीले बंगलादेश च्याम्पियनसीपको उपाधि जित्ने उद्देश्यसहित नेपाल आएको बताए । टिममा राम्रा खेलाडीहरू रहेको तथा तयारी पनि राम्रो रहेको उनको भनाइ थियो । कप्तान सविना खातुनले भने टिममा रहेका खेलाडीहरू अनुभवी रहेको र लामो समयदेखि तयारी गरेको दाबी गरिन् ।

भुटानकी प्रशिक्षक क्युङ सुक होङले च्याम्पियनसीपका लागि राम्रो तयारी भएको बताइन् । यता कप्तान पेमा छोदेन छिरिङले भने घरेलु मैदानमा आयोजक नेपालसँगको खेल सहज नहुने धारणा राखिन् । उनले घरेलु समर्थकसामु खेल्दा मानसिक रूपमा पनि कठिन हुने उनकाे भनाइ थियाे । 

साफको उद्घाटन खेलमा नेपाल र भुटानबीच मंगलबार खेल हुनेछ । 

माल्दिभ्सका प्रशिक्षक अहमद सरिफले भने घरेलु लिग नभएका कारण खेलाडी छनोटमा समस्या भएको बताउँदै उत्कृष्ट खेल प्रदर्शन गर्ने उद्देश्यले तयारी गरेको दाबी गरे । उनले माल्दिभ्स ग्रुप अफ डेथमा रहेको बताए । कप्तान अमिनाथ लिजाले पनि कठिन समूहमा रहेको बताइन् । 

यता चारपटक उपविजेताको रफमा चित्त बुझाएको नेपालले भने यसपटक उपाधि नेपालमै राख्ने लक्ष्य बनाएको छ । 

‘हामी तिर्खाएका छौँ, उपाधि जितेर प्यास मेटाउन चाहन्छौँ,’ नेपाली टिमका प्रशिक्षक कुमार थापाले बताए । उनले नेपाली टिमको तयारी राम्रो भएको समेत उल्लेख गरे । उनले आफ्ना लागि तथा टिमका कतिपय खेलाडीका लागि यो अन्तिम अवसर रहेको जनाए । 

कप्तान एन्जिला तुम्बापो सुब्बाले आफ्नो कप्तानीमा नेपाललाई उपाधि दिलाउने दाबी गरिन् । उनले नेपाली टिमले शारिरीक तथा मानसिक अवस्थालाई सन्तुलनमा राखेर मैदानमा उत्रने बताइन् । 
 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x