फुटबल

साफ यू-२० च्याम्पियनसीप

भारतसँग लज्जास्पद हार : जिम्मेवारी कसले लिने ?

सञ्जीव शाह |
साउन १६, २०७९ सोमबार १२:९ बजे

काठमाडौँ- भारतमा जारी साफ यू-२० च्याम्पियनसीपअन्तर्गत नेपाली युवा टोलीले आयोजक भारतसँग ८-० को लज्जास्पद हार बेहोर्‍यो । यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४-० तथा दोस्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको नेपालले भारतविरुद्ध एक गोल पनि फर्काउन सकेन ।

भारतसँगको पराजयपछि नेपालको फाइनल प्रवेश गर्ने सम्भावना पनि न्यून बनेको छ । फाइनल पुग्न नेपालसँग एउटा विकल्प भनेको बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गर्नु हो भने अर्को विकल्प भनेको बंगलादेशसँग बराबरी खेल्दा भारतले माल्दिभ्ससँग हार बेहोर्नु । तेस्रो विकल्पको रुपमा बंगलादेशलाई नेपालले पराजित गर्नु तथा माल्दिभ्स र भारत बराबरीमा रोकिनु हो । 


नेपाल फाइनलमा कसरी पुग्छ भन्दा पनि अहिलेको मुख्य विषय भनेको भारतसँगको लज्जास्पद हारको जिम्मेवारी कसले लिने हो । 

टिमका मुख्य प्रशिक्षक मेघराज केसीले यसमा खेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को गल्ती नभएको तथा यसको जिम्मेवारी आफूले लिने बताएका छन् । त्यतिमात्र नभएर मुख्य प्रशिक्षक केसीले बंगलादेशविरुद्ध जित हात नपारे फुटबल खेल जीवनबाट टाढिने बताइसकेका छन् । 

तर केसीले टिम बनाउनका लागि एन्फाबाट कस्तो सहयोग प्राप्त गर्‍यो भन्ने कुरा पनि छ । खासमा च्याम्पियनसीपका लागि एन्फाले कुनै पनि प्रतियोगिता आयोजना गर्नुपर्ने आवश्यकता देखेन । करिब एक महिनाको बन्द प्रशिक्षणकै आधारमा नेपालले च्याम्पियनसीप जित्ने लक्ष्य राखेको थियो त्यो पनि युवा टिममा ठूलो लगानी तथा अवसर प्रदान गरेको भारतजस्ता देशलाई पराजित गरेर । 

नेपाली टिम साफको तयारीमा जुट्दा एन्फाका पदाधिकारीहरू भने निर्वाचन, हार-जित, बधाइ थाप्न तथा आन्तरिक राजनीतिमा लिप्त थिए । एन्फा पदाधिकारीहरूलाई नेपालले भोगेको पराजयलाई लिएर बोल्ने फुर्सद छैन । पटक पटक फोन गर्दा पनि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई फोन उठाउने फुर्सद थिएन । अन्य पदाधिकारीको फोन स्विच अफ थियो भने उपाध्यक्ष दावा लामाको फोन उठेन । 

एन्फाका महासचिव किरन राईले सामाजिक सञ्जाल फेसबुकमा खेलाडीहरूको प्रदर्शन अपेक्षा बाहिर रहेको लेख्दै खेलाडीहरूलाई आफू भित्रको स्वाभिमान जगाउन आग्रह गरेका छन् । 

तर राईले च्याम्पियनसीप अघि एन्फाले गरेको लगानी तथा तयारीमा एन्फाको प्रकृयाबारे भने केही पनि लेखेका छैनन् । 

अर्कोतर्फ नेपाली राष्ट्रिय टिमका खेलाडी प्रकाश बुढाथोकीले खेलाडी तथा प्रशिक्षकलाई दोष दिनुभन्दा एन्फाले फुटबलका लागि के गरिरहेको भन्नेबारे प्रश्न गर्नुपर्ने समय आएको बताएका छन् ।

बुढाथोकीले फेसबुकमार्फत एन्फाका पदाधिकारीहरू खाली आफ्नो पदका लागि मरिहत्ते गरिरहेको तथा उनीहरू आफ्नो व्यवसाय गरिरहेको आरोप लगाएका छन् ।


 


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x