अर्थ / बाणिज्य

सेयर बजारबारे ब्रिफिङ

राजनीतिक घटनाक्रमले सेयर बजारमा प्रभाव पार्छ ?

पुष्पराज आचार्य |
पुस ८, २०७७ बुधबार १०:५९ बजे

पुस ५ गते आइतबार बिहानको मन्त्रिपरिषदको आकस्मिक बैठकले संघीय प्रतिनिधिसभा विघटन गर्न सिफारिश गर्दा सेयर बजारमा कारोबार भर्खरै सुरु भएको थियो । त्यो दिन अन्य केही कारण बिना नै बजारमा पहिरो गयो, यही खालको पहिरो बढ्दो क्रममा रहेको बजारमा मंसीर २१ गते पनि गएको थियो । एकै दिन १०० अंक हाराहारीमा बजार घट्नु वा बढ्नु हाम्रो सेयर बजारमा अस्वभाविक नै हो । बजार बढ्दो क्रममा हुँदा सामान्य करेक्सन हुँदै अघि बढ्नु स्वभाविक भए पनि ठूलै पहिरो जान भने ठूलो घटनाक्रम विकसित हुनुपर्छ । परिपक्व सूचनाको अभावमा सट्टेबाजहरूले बजारलाई आफू अनुकुल बनाउँछन् । अमूर्त र अपरिपक्व सूचनाले यस्तो अवस्था सिर्जना गर्छ । 

अघिल्लो साता बजार तीव्र रुपमा घट्नुमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो । जसमा सेयर धितो कर्जा कडाइ गर्ने घोषणा थियो । त्यो घोषणा थियो तर सेयर धितोको कति प्रतिशतसम्म कर्जा दिन पाइने, कस्तो कम्पनीको सेयरमा कर्जा दिन नपाइने ? सेयरको धितो मूल्यांकनमा कति दिनको या कुन अवधि देखि कुन अवधिबीचको कारोबार मूल्यलाई औसत मान्ने भन्ने जस्ता प्रश्नहरु अनुत्तरित थिए । त्यसबारेमा राष्ट्र बैंकले गृहकार्य गर्न र परिपत्र जारी गर्न बाँकी थियो । सेयर बजार तीव्र रुपले बढिरहेको बेलामा राष्ट्र बैंकले लगानीकर्तालाई हामी कडाइ गर्दै छौं, विचार गरेर लगानी गर्नु भन्ने सन्देश दियो । 
त्यसपछि अनेकन खालका अनुमानसहितका सूचनाहरू फैलाइन थाले । यो अवस्थामा जो लगानीकर्ता जोखिम मोल्न चाहँदैनथे । उनीहरु सुरक्षित रुपमा अलि–अलि भए पनि बजार बढेको बेलामा कमाएर निस्कौं भनेर सेयर बेच्न थाले । बिक्रीको चापले बजार घट्यो । 


यही क्रम यो साता आइतबार पनि देखियो । प्रतिनिधिसभा विघटनको घटनापछि अब मुलुकमा आन्दोलन, बन्द, हड्ताल, संकटकाल जस्ता अनुमानको भरमा फैलाइएका सूचनाले सेयर लगानीकर्ताको मनोबलमा असर पारेको हो । बजार बढ्दो क्रममा सट्टेबाजहरूले आपसी मिलेमतोमा ठूलो परिमाणमा सेयर बिक्रीमा राखिदिन्छन् । बिक्रीको चापले उक्त कम्पनीको सेयर मूल्य घट्न थाल्छ अनि सर्वसधारण लगानीकर्ता आत्तिएर सेयर बेच्न थाल्छन् । त्यो समेत सबै सेयर तिनै सट्टेबाजको समूहले पुनः खरिद गर्छ । सर्वसाधरण लगानीकर्ताले आत्तिएर थोरै नाफा पाए पनि वा थोरै घाटा खाएरै सेयर बेच्छन्, सट्टेबाजले त्यसको फाइदा उठाउँछन् । यस्तो क्रम सेयर बजारमा संसारभर हुन्छ । परिपक्व र आधिकारिक सूचना सार्वजनिक भएपछि त जो कोही लगानीकर्ताले आफ्नो धारणा बनाइहाल्छ । 
अझ हामीकहाँ त इन्साइडर ट्रेडिङका बिकृतिहरू समेत बेला–बेलामा सार्वजनिक हुने गरेका छन् । कुनै पनि कम्पनीले धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सार्वजनिक रूपमा नै दिनुपर्छ । कतिपय अवस्थामा यस्ता सूचनाका आधारमा नियामक निकायका कर्मचारीले पहिले नै सेयर बिक्री वा खरिद गरिसकेपछि मात्र त्यस्ता सूचना सार्वजनिक गर्छन् । त्यसकारण बेला–बेलामा धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र नेप्सेका कर्मचारीसँग भएको सेयर ‘लक्ड’ राख्नुपर्छ, किनबेच गर्न दिइनु हुँदैन भन्ने आवाजहरू समेत उठीरहन्छ । 

आइतबार घटेको सेयर बजार पुनः किन घट्यो त ? मुलुकमा राजनीतिक अनिश्चितता त टरेको छैन भन्ने पनि प्रश्न छ ? यस्तो प्रश्न हामीलाई धेरै पाठकहरूले सोध्नुभएको छ । 

यसको कारण छ । बजार त घटबढ भइरहन्छ । अस्वभाविक घट्न या बढ्न मात्र कारण चाहिने हो । आइतबार मुलुकमा जे जति घटनाक्रम विकसित भए  त्यसपछि दलहरू बन्द, हड्ताल, आन्दोलनमा उत्रने वा देश मुठभेडमा जाने स्थिति रहेन । शान्तिपूर्ण तवरले दलको विवाद समाधान गर्ने, असंवैधानिक कदमको न्यायिक निरूपण खोज्ने जस्ता घटनाक्रम विकास भए । जसले बजारमा अस्वभाविक घटबढ हुन सम्भव थिएन । अर्कोतर्फ सूचीकृत कम्पनीहरूमध्ये लघुवित्त, बैंक, बीमा समूहका कम्पनीहरूको लाभांश धमाधम घोषणा भैरहेको छ । यसले लगानीकर्तालाई बजारमा आकर्षण गरेको हो । एकातर्फ बैंकको कर्जा सस्तो छ, लगानी गर्ने अरु ठाउँ कोभिड–१९ का कारण अनुकूल छैन र पनि लगानीकर्ता सेयर बजारमा लगानी गरिरहेका छन् । निर्वाचन घोषणा र विवादहरूको शान्तिपूर्ण न्यायिक निरूपण खोज्ने दलहरूको कदमले लगानीकर्ता आत्तिनुपर्ने अवस्थामा छैनन् ।

नेपाल स्टक एक्स्चेन्जमा सेयरको मूल्य मापन गर्ने नेप्से परिसूचक मंसीर १७ मा अहिलेसम्मकै उच्च २,०७१.०२ बिन्दूमा पुगेको छ । यो बिन्दू केही समयका लागि अस्थायी संतृप्ति (स्याचुरेसन)को बिन्दू पनि हो । तर, दलहरूको विवाद समाधान भइ मुलुक निर्वाचनमा प्रवेश गरेमा सेयर बजारले अर्को रेकर्ड कायम गर्न सक्छ । निर्वाचनको आसपासमा बजारमा पैसाको प्रवाह बढ्छ, अन्यत्र लगानीको वातावरण नहुँदा अघिल्ला निर्वाचनको ताका पनि सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण देखिने गरेको छ । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x