अर्थ / बाणिज्य

एकै प्रकारको प्रमोशनले दर्शक दिक्क

विज्ञापन छोपेर क्लिनफिड !

कमल धिताल |
कात्तिक २२, २०७८ सोमबार १८:५१ बजे

काठमाडौँ - नेपालमा गत वर्षदेखि नेपालको टेलिभिजन क्लिन फिड लागू भयो । केही केवल टिभीवालाहरूबाहेक सबैले समर्थन गरे । अब विना रोकावट विज्ञापनरहित टिभी कार्यक्रम हेर्न पाइनेमा टेलिभिजन दर्शक मख्ख थिए ।

लामोसमयदेखि सरकारले क्लिनफिड लागू गर्ने भन्दै तयारी गरिरहे पनि केवल टेलिभिजनवालाहरूले विभिन्न बखेडा झिके । २४ घण्टा टेलिभिजन बन्द गरेर विरोध गरे ।  तर सरकारले २०७७ कार्तिक ८ गतेबाट अनिवार्य क्लिनफिड लागू गर्न निर्देशन दियो । लागू नगरेको अवस्थामा कारबाही गर्ने भनेर सूचना जारी भएपछि भने केवल व्यावसायीहरूले बाध्य भएर क्लिनफिड लागू गरेका थिए ।


क्लिनफिड लागू भएपश्चात केही दिनको लागि विज्ञापन दिने च्यानल बन्द भए। विस्तारै विज्ञापनरहित च्यानल दिने भनेर टेलिभिजन स्क्रिनमा सूचना निकाले। तर, विज्ञापनविना टेलिभिजन हेर्न पाइने भनेर बसेका नेपाली दर्शक त्यति बेला मूर्ख भए जब क्लिनफिड भनेर एकै प्रकारका प्रोगाम प्रमोशन आउन थाल्यो । हाल कतिपय अवस्थामा भारतीय च्यानलको प्रमोशनसँगै विज्ञापन पनि बज्न थालेको देखिन्छ । मिनेट मिनेटमा बज्‍ने यस्ता प्रमोशनले दर्शकलाई मोनोटोनस बनाएको छ । दर्शक यस्ता प्रमोशनभन्दा बरू विज्ञापनरहित हेर्न तयारसम्म देखिन्छन् ।

के छ ऐनमा ?

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नु पर्नेछ व्‍यवस्था विज्ञापन (नियमन गर्ने) ऐन २०७६ मा छ ।  विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइनेसमेत उक्‍त ऐनमा व्‍यवस्था छ । 

ऐनले उल्लेख गरेअनुसार एक वर्षभित्र अनिवार्य क्लिनफिड लागू भएको हुनुपर्ने देखिन्छ । तर, २०७७ कार्तिक ८ गतेदेखि लागू भएको क्लिन फिड एक वर्षभन्दा बढी हुँदासमेत क्लिनफिड सोही अवस्थामा छ ।

क्लिनफिड

विश्वमा क्लिनफिड अभ्यास हेर्दा दुई मोडलमा प्रशारण भएको पाइन्छ । जुन विज्ञापनसहित र विज्ञापनरहित हुन्छ । विज्ञापनसहित च्यानलमा त तपाईंले च्यानलले प्रशारण गर्ने विज्ञापन अनिवार्य हेर्नै पर्ने हुन्छ । विज्ञापनरहित च्यानलमा भने तपाईंले विना विज्ञापन कन्टेन्टमात्र हेर्न सक्नुहुन्छ । यसलाई टेलिभिजनको भाषामा भन्दा ‘पे च्यानल’ र ‘फ्रि टु एयर’ भनिन्छ । पे च्यानललाई क्लिन फिड अन्तर्गत राखिन्छ भने फ्रि टु एयर अन्तर्गत विज्ञापन सहितको कार्यक्रम प्रशारण हुन्छ ।

यो पनि क्लिनफिडको एक वर्ष: विज्ञापन बजार अपेक्षित बढेन

विज्ञापन दिने च्यानलमा शुल्क लिन नपाउने अन्तरार्ष्ट्रिय अभ्यास रहेको पाइन्छ । तर नेपालको सन्दर्भमा भने विज्ञापन त हेर्नपर्छ नै त्यसमाथि मासिक पैसासमेत तिर्नु परेको छ । 

हाल नेपालमा प्रशारण गर्ने भारतीय च्यानलले शुल्क त लिइरेका छन् नै  अर्कोतर्फ विज्ञापन (हालको प्रोग्राम प्रमोशन) हेर्न पनि बाध्य पारिरहेका छन् । नेपालमा सीएनएन, बीबीसी केही अन्तर्राष्ट्रिय च्यानलहरू भने क्लिनफिडमा प्रशारण भइरहेका छन् ।

नेपालको क्लिनफिड

नेपालमा क्लिनफिड लागू गरेको हल्ला गरे पनि हालसम्म क्लिनफिड लागू भएको छैन । क्लिनफिड लागू गरेको भनेर नेपालमा प्रशारण हुने अधिकांस भारतीय च्यानलले विज्ञापन बजाइरहेका छन् । चाहेँ त्यो प्रोग्राम प्रमोशनको नाममा नै किन नहोस् ।

अझै कति च्यानलले त भारतीय विज्ञापनसमेत बजाइरहेको देखिन्छ । सरकारले हालसम्म क्लिनफिडको नाममा नेपाली टेलिभिजन दर्शकलाई भारतीय च्यानलबाट बज्ने विज्ञापन छोपेर मूर्ख बनाउनु शिवाय केही गरेको छैन ।

विज्ञापन छोपेर भारतीय च्यानलको प्रोग्राम प्रमोशन बजाउनुभन्दा अर्को विकल्प भनेको विज्ञापन नीति परिमाजन गरी भारतीय विज्ञापन बज्ने समयमा नेपाली विज्ञापन प्रशारण गर्न सके नेपालको विज्ञापन क्षेत्र धेरै हदसम्म चलायमान हुने देखिन्छ । यसो हुँदा मल्टिनेशनल तथा भारतीय कम्पनीले विज्ञापन यही बनाउन बाध्य हुनेछन् । इन्टरनेटको सहजतता र स्मार्टफोनको उपलब्धताले टेलिभिजनका दर्शक क्रमश: ओटीटीतर्फ आकर्षित हुँदैछन् । यता नेपालमा पनि उदाउँदै गरेको ओटीटी प्लेटफर्मलाई समेत अटाउने निति बनाई लागू गर्दा हाल रहेको विज्ञापन बजार दुईगुणा बढ्ने निश्चित छ । नेपालमा पनि टेलिभिजनका दर्शक बिस्तारै ओटीटीतर्फ आकर्षित हुँदै गएका छन् । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x