अर्थ / बाणिज्य

सिरुवा कन्सट्रक्सन : ठेक्का लिँदै अधकल्चो छाड्दै

निर्माण सकाउनुपर्ने बेला ३० प्रतिशत प्रगति

अनिष भट्टराई |
असोज १८, २०७८ सोमबार १८:५० बजे

फिर्के पुल

पोखरा – पोखरा महानगरपालिका १३ र २८ जोड्ने गरी विजयपुर खोलामाथि पुल निर्माणका लागि सिरुवा कन्सट्रक्सनले जिम्मा पायो । आर्थिक वर्ष २०७२/७३ मा ठेक्का सम्झौताका बेला २०७५ असार ३० सम्म सम्पन्न गर्नु पर्ने भनियो । तोकिएको समयमा कम्पनीले काम पूरा गर्न नसकेपछि सरकारले पुनः म्याद थपिदियो ।
 
थपिएको म्याद अनुसार कम्पनीले २०७७ फागनुन ८ सम्म पुल निर्माण सक्नुपर्ने थियो । तर अझै पनि काम पूरा भएको छैन । काम सुरु भएको ६ वर्ष कटिसक्दा पनि अहिलेसम्म यस पुलको भौतिक प्रगति ४० प्रतिशतमात्र छ । वित्तीय प्रगति ३८ प्रतिशतमात्र । 

सिरुवाले ठेक्का पाएको अर्को पुल हो, मादी नदी पुल, हंसपुर-टिमुरे चौर कास्की । आर्थिक वर्ष २०७२/७३ मै नेपाल सरकार र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार उसले २०७५ असार २० सम्म पुल निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने थियो । तर काम नसकेपछि दोस्रोपटक थपिएको म्याद २०७७ फागुन ६ पनि कटिसकेको छ । अहिलेसम्म पुलको भौतिक प्रगति ३० प्रतिशत छ भने वित्तीय प्रगतिमात्र २५ प्रतिशत । 


सिरुवा कन्सट्रक्सनले दुवै पुल निर्माणमा ढिलासुस्ती गरिरहेको छ । लगातार म्याद थप्दा पनि कार्यप्रगति सन्तोषजनक देखिँदैन । अब यी दुवै पुलको अन्तिम म्याद चैत मसान्तसम्म छ । सम्झौता अनुसारको म्याद सकिएपछि मन्त्रिपरिषद्ले म्याद थपको निर्णय गरेको थियो । २०७८ भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले बढीमा चैत मसान्तसम्म म्याद थप गर्न सकिने निर्णय गरेको थियो । 

चैत मसान्तसम्म म्याद भए पनि यी दुवै पुल निर्माण नसकिने पक्का जस्तै छ । सडक डिभिजन कार्यालय, पोखराका सूचना अधिकारी इन्जिनियर किरण सुवेदी निर्माण कम्पनीले कार्यतालिका अनुसार काम नगर्दा यी दुई पुलको निर्माण नसकिएको बताउँछन् । देशका विभिन्न ठाउँमा पुल र सडकको ठेक्का लिने र कामै नगरी अलपत्र पार्ने गरेर पप्पु कन्स्ट्रक्सन बदनामित छ । सिरुवा पनि त्यस्तै बाटोमा हिँडेको छ । 

सरकारले म्याद थप गर्ने निर्णय गरेपछि ठेकेदार कम्पनी सिँचाइ डिभिजन कार्यालय, पोखराको सम्पर्कमा आएको थियो । अहिले ठेकेदार कम्पनीले विजयपुर खोला पुलको  निर्माणलाई अघि बढाएको छ । तर मादी नदी पुल निर्माण भने अझै सुरु हुन सकेको छैन ।

इन्जिनियर सुवेदी ठेकदार कम्पनीले म्याद अवधिमा निर्माण सम्पन्न नगरे टेक्का रद्द गरेर कालोसूचीमा राखिने बताउँछन् । यसबारे सम्पर्क गर्न खोज्दा ठेकेदार कम्पनीका दिनेश पौडेल सम्पर्कमा आउन चाहेनन् । 

कास्कीमा निर्माणाधीन अरु ४ पुलको भने भौतिक प्रगति सन्तोषजनक छ । मादी नदी पुल, घुम्ले बजार कास्कीको निर्माण ९८ प्रतिशत सकिएको छ । यसको म्याद गएको असार १५ मा सकिए पनि सरकारले थपिदिएको म्याद अर्थात् चैतसम्म निर्माण सम्पन्न हुने निश्चित देखिन्छ । इन्जिनियर किरण सुवेदी भन्छन्, ‘यो पुल निर्माणचाहिँ चैतसम्म कुर्नु पर्दैन, पुस मसान्तमै सकिन्छ ।’

ल्वाङघलेलमा निर्माणाधीन आँपखोला पुलको पनि ९५ प्रतिशत काम भएको छ । यस्तै फुस्रे खोला दम्सादीघाट पुल निर्माणको काम पनि ६० प्रतिशत सकिएको छ । जग बसाल्ने काम सकेर अहिले बाँकी काम चलिहरेको बताइएको छ ।  

फिर्के पुल पनि बनेन 

पोखरा बागलुङ राजमार्गमा पर्ने फिर्के खोला पुल निर्माणको पनि कार्य प्रगति अहिलेसम्म ३० प्रतिशत माथि पुग्न सकेको छैन । सम्झौता अनुसार असोज मसान्तमा ठेक्का अवधि सकिने भए पनि पुल निर्माणको काम भने तिव्रता पाउन सकेको छैन । तर सरकारले दिएको थप म्याद अनुसार पुल निर्माणको अवधि अब ६ महिनामात्र बाँकी छ । 

२४ मिटरभन्दा फराकिलो यो सडकमा पुल भने २ लेनको पनि छैन । पुललाई दुईतिर २÷२ लेनको थपेर ६ लेनको बनाउने गरी निर्माण चलिरहेको छ । शान्ति आरोग्य जेभीसँग यस पुल निर्माणका लागि २०७५ असोज ८ गते सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार पुल निर्माणको लागत १२ करोड ३२ लाख छ । तर पुलको निर्माण सक्नुपर्ने बेलासम्म पनि आधा काम पनि नभएको हो ।
 
सडक डिभिजन कार्यालय, पोखराका इन्जिनियर सन्तोष थापा जग्गा प्राप्ति, बिजुलीको पोल र खानेपानीका कारण ढिलाइ भएको बताउँछन् । ‘जग्गा भ्यालुएसनको काम भइरहेको छ, बजेट भने छैन जग्गा प्राप्तिका लागि, बिजुली, खानेपानीको पाइपले पनि ढिलाइ भयो,’ थापाले भने । 

पुलको जग बसाल्ने काम भने सकिएको छ । अब बाँकी रहेको काम भनेको माथिको पिल्लरको छ । अहिले पनि खानेपानी पाइपका कारण कुनामा जग राख्ने काम भने हुन सकेको छैन । ‘तल्लो फाउन्डेसनको त काम सकिइसक्यो, अब माथिल्लो मेन पिल्लरको काम छ, कुनामा पाइपका कारण फाउन्डेसनको काम हुन सकेको छैन,’ थापाले भने । 


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x