अर्थ / बाणिज्य

पोखरामा सडक, बसपार्क अव्यवस्थितः विमानस्थलले मात्र के गर्ने ?

अनिष भट्टराई |
असोज १५, २०७८ शुक्रबार २०:४६ बजे

पोखरा- पोखरामा अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । करिब ८४ प्रतिशत काम सम्पन्न भइसकेको यो विमानस्थलले मध्यपुसमा आन्तरिक उडान र असारसम्म अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य लिएको छ । काठमाडौंबाहिर पहिलो पटक अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा सञ्चालनमा आउन लाग्दा पोखराका पर्यटनकर्मी र पुरै पोखरेली गदगद छन् ।

स्मार्ट सिटी बन्ने लक्ष्य लिएर बढेको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण त सम्पन्न हुन आँटिसकेको छ । तर यहाँका बाटो, पुल, बसपार्कको भने अवस्था अझै सुध्रन सकेको छैन । यसका कारण विमानस्थलले आफ्नो क्षमता अनुसारको सुविधा दिइराख्न नसक्ने र पछि विमानस्थल महँगिन सक्ने नागरिक उड्डयन प्राधिकरण पोखरा प्रमुख विक्रम गौतम बताउँछन् ।


‘एअरपोर्टलाई पूरा प्रयोग गर्न नसके स्वाभाविक रूपमा महँगो हुन्छ, विमानस्थलबाहिर निस्केपछि पोखराको अवस्था कस्तो छ ?’ गौतमको प्रश्न छ, ‘तार गज्याङगुजुङ, बाटोभरि खाल्टैखाल्टा, गाडी जाम । अनि कसरी पर्यटकहरूले पोखरा रुचाउँछन् ?’ शुक्रबार पश्चिमाञ्चल होटल संघले राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गौतमले विमानस्थलसँगै पोखराका अन्य पूर्वाधार विकासमा ध्यान दिन सुझाए ।

विमानस्थल सञ्चालनमा आउनु अघि यसको उचित विज्ञापन गरिनुका साथै पोखराका अन्य पूर्वाधार पनि सुधारिनु पर्ने गौतमको सुझाव छ । खानेपानी, स्वास्थ्य सुरक्षा, बाटो, पुल, विद्युतीय पोलहरूको पनि उचित व्यवस्थापन गरेमात्र पोखराको सुन्दरता बढ्ने र विमानस्थल फस्टाउने उनले बताए ।

पोखराको लागि यो अर्थतन्त्रमा नयाँ ‘टर्न’ हुने उनको आशा छ । एसियाली विकास बैंकले अहिले पृथ्वी राजमार्गको मर्मत कार्य गरिरहेको छ । पोखराको ट्राफिक व्यवस्थापन पनि उति चुस्त छैन । बाटोमा निस्कने हो भने यात्रुले छिनछिनको जाम र खाल्डाखुल्डीमात्र भोग्छन् । विमानस्थलमात्र बनाएर नहुने पोखरेली व्यवसायी, राजनीतिज्ञ र आम सर्वसाधरणको छ । 

नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल्स (नाट्टा) का अध्यक्ष सञ्जयकान्त सिग्देलले सडक कनेक्टिभिटीलाई अहिले नै ध्यानमा राख्नुपर्ने बताए । पोखरामात्र आउने यात्रुले विमानस्थल चल्न नसक्ने भएकाले सबै क्षेत्रका यात्रुलाई सहज र सुलभ हुने गरी सडक सञ्जालले पनि जोडिनुपर्ने बताए । ‘इटहरी जाने यात्रुलाई पनि सहज र सस्तो पर्ने गरी बनाऔं । पोखरामात्र आउनेले विमानस्थल चल्न सक्दैन, कनेक्टिभिटीलाई ध्यान दिऔं,’ उनले भने ।

प्याग्लाइडिङ अझै अन्योलमा

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ, अल्ट्रालाइट के हुने भन्ने अझै अन्योल छ । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा हवाइखेलकुदको हब भएकाले यी क्षेत्रबारे जानकारी दिइनुपर्ने बताए । पुरानो विमानस्थललाई पाइलट ट्रेनिङ स्कुलको रुपमा प्रयोग गर्न सकिने सुझाए । 
ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान) पोखराका अध्यक्ष सुशिल पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बन्द हुने क्षेत्रहरु खुलाइनुपर्ने बताए । 
केहीले अब विमानस्थल सञ्चालनमा आएपछि यी क्षेत्र बन्द हुने अड्कल काटेका छन् । तर अहिलेसम्म विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ बन्द हुनुपर्ने कुनै रिपोर्ट आएको छैन । नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराका प्रमुख विक्रम गौतमले अहिले नै हवाई खेलुकद बन्द हुने/नहुने अन्योल रहेको बताउँछन् । ‘यसका लागि एअरस्पेस रिस्ट्रक्चरिङ भइरहेको छ । यसको कागजी स्ट्रक्चर आएपछि हामी त्यसलाई कार्यान्वयनमात्र गर्ने हो,’ उनले भने । 

ल्यान्डफिल व्यवस्थापनकै समस्या

पोखराको फोहोर अहिले पोखरा १४ बाच्छीबुडुवामा बिसर्जन गरिन्छ । महानगरकी सरसफाइ शाखा प्रमुख कल्पना बरालका अनुसार यहाँ मलमूत्रसँगै पोखराका अस्पतालहरूका फोहोर र अन्य फोहोर व्यवस्थापन गरिन्छ । २ सय रोपनीको जग्गामा मलमूत्र व्यवस्थापनका लागि ८० रोपनीको फिल्ड छ । अटोक्लेभ मेसिनहरू पनि छन्, बायोमेडिकल फोहोरको व्यवस्थापनका लागि ।

यो ल्यान्डफिल साइट एसियाली विकास बैंकले बनाइदिएको हो । यसको व्यवस्थापन अहिले महानगरलाई चिन्ताको विषय बनेको बराल बताउँछिन् । महानगरले अर्को जग्गामा ल्यान्डफिल सार्दा त्यहाँको संरचनासँगै नयाँ जग्गा र साइटका लागि ठूलो बजेटको खाँचो पर्ने उनले बताइन् । 

महानगरले यसमा सहजीकरण गरिदिन नागरिक उड्डयन प्राधिकरणलाई पत्र पनि पठाएको थियो । ०७७ साउनमा पठाएको पत्रको अझै जवाफ नपाएको बरालले जानकारी दिइन् । ‘अहिलेसम्म जवाफ पाएनौं, अहिले तत्काल ल्यान्डफिल सार्दा कुनकुन संरचना सार्नुपर्ने हो, जवाफ मागेर पत्र काटेका थियौं,’ बरालले भनिन् । महानगर विमानस्थल सञ्चालनमा गम्भीर रहेकाले ल्यान्डफिल साइट समयमै सार्ने पनि उनले बताइन् । 

अन्तर्राष्ट्रिय उडान भरेर उद्धघाटन गर्न माग 

गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोलीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको अवलोकन गर्‍यो । सो दिन मुख्यमन्त्रीसँगको ब्रिफिङमा नागरिक उड्डयन प्राधिकरण पोखरा प्रमुख गौतमले नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भर्ने महत्वाकांक्षी योजना सारे ।

पहिलो चरणमा सुरक्षा र सुविधालाई राम्रो बनाउनुपर्ने र मध्यमकालीन लक्ष्यमा नयाँ वर्षका दिन आन्तरिक उडान भर्ने योजना सारे । ब्रिफिङमै गौतमले निर्माणाधीन विमानस्थलमा न्यारोबडी एअरक्राफ्ट सञ्चालन हुने र वाइडबडी क्राफ्ट चलाउन नसकिने बताए । 

तर पोखरेली व्यवसायी, पर्यटनकर्मी भने गौतमको यो प्रस्ताव विपरीत उभिएका छन् । विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडान भरेर गरिनुपर्ने माग राखेका छन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले हतासमा विमानस्थल सञ्चालन नगर्न आग्रह गरे ।

विमानस्थल सञ्चालन मितिबारे पुनर्विचार गरिनुपर्ने भन्दै उनले चिनीयाँ पक्षलाई बोलाएर उद्घाटन गराएर ऋणलाई अनुदानमा बदल्नुपर्ने तर्क गरे । ‘चिनीयाँ ठूला नेतालाई बोलाएर उद्घाटन गरौं, सफ्ट लोनलाई ग्रान्टमा बदलौं, अहिले नै हतार गर्नुपर्दैन, सञ्चालन मितिबारे अझै सोचौं,’ उनले भने । 

अन्तर्राष्ट्रिय उडान भरेर सन्देश दिनुपर्छः मुख्यमन्त्री 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अन्तर्राष्ट्रिय उडान भरेर नै सन्देश दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीका नेपाल प्रमुखहरूलाई पोखरा बोलाएर छलफल पनि गर्न सकिने उनले बताए । ‘उडान त अब हुन्छ नै, आन्तरिक उडान नै भएपनि सुरु गरौैं न भन्ने भावनालाई पनि कदर गर्नुपर्छ तर सन्देश दिने भनेको अन्तर्राष्ट्रिय उडानबाट नै हो,’ मुख्यमन्त्रीले भने ।

ल्यान्डफिललाई स्थानान्तरण गर्ने कुरा अहिले महत्वपूर्ण रहेको मुख्यमन्त्रीको भनाइ छ । विमानस्थल आसपासको क्षेत्रका स्थानीयलाई सडक, सिँचाइको उचित सुविधा दिइने उनको आश्वासन छ । ‘विमानस्थल बनाउन योगदान पु¥याउने किसानको जमिन सुकाएर अभियान अघि बढाइँदैन,’ उनले भने ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x