अर्थ / बाणिज्य

राजस्वमा आयातको भरथेग

उठेको राजस्व साधारण खर्च धान्नमै ठिक्क

पवन तिमिल्सिना |
साउन १५, २०७८ शुक्रबार १०:२८ बजे

काठमाडौँ आर्थिक वर्ष २०७७/७८ मा सरकारले नौ खर्ब ३८ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यसरी उठेको राजस्वमा आयातित वस्तुमा लाग्ने भन्सार महसुलकै वर्चस्व छ । कुल संकलित राजस्वमा भन्सार महसुलको हिस्सा २१ प्रतिशतभन्दा बढी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयातमा ठूलो मात्रामा भएको वृद्धिले भन्सार महसुललाई बढाएको हो ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा वस्तु आयात २८ दशमलव ६६ प्रतिशतले बढेको छ । आयातमा भएको वृद्धिले भन्सार महसुल लक्ष्यभन्दा बढी संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८ मा सरकारले एक खर्ब ९३ अर्ब रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखेको थियो । तत्कालीन अवस्थामा कोभिड-१९ को त्रास कायमै थियो । जसकारण आयात खुल्ने र वैदेशिक व्यापार बढ्नेमा ठूलो अपेक्षा राखेको थिएन । तर, विश्वव्यापीरुपमा कोभिड-१९ विरुद्धका खोप आविस्कार र बजारीकरण बढ्दै गएपछि नेपालमा आयात अस्वाभाविक रुपमा बढ्न थालेको छ । जसको परिणाम भन्सार राजस्वमा परेको छ ।


भन्सार कार्यालयहरूले भन्सार महसुल उल्लेख्य रुपमा संकलन गरेपछि अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षाकै क्रममा लक्ष्यभन्दा बढी राजस्व उठ्ने अनुमान गरिसकेको थियो । जसअनुसार मन्त्रालयले एक खर्ब ९७ अर्ब रुपैयाँ भन्सार महसुल संकलन गर्ने अनुमान गर्‍यो । तर, संशोधित अनुमानलाई समेत नाघेर भन्सार महसुल संकलन भएको छ ।

राजस्व साधारण खर्च धान्नमै ठिक्क

सरकारले संकलन गरेको राजस्व चालु खर्च धान्नमै ठिक्क देखिन्छ । यस अवधिमा चालु खर्च आठ खर्ब ५१ अर्ब रुपैयाँ भएको छ । वित्तीय व्यवस्थातर्फ एक खर्ब खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । सरकारले उठाएको नौ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व साधारण खर्च धान्नमा सीमित देखिन्छ ।

त्यसो त सरकारले घाटाको बजेट ल्याएर ऋणमार्फत बजेट घाटापूर्ति गर्ने गरेको छ । तर, नागरिकबाट उठेको करबाट प्रशासनिक खर्च मात्रै धान्ने प्रवृत्तिले मुलुक ऋणको चंगुलमा फस्ने जोखिम उत्तिकै छ । विकास निर्माणका लागि गरिने पुँजीकत खर्च लक्ष्यको ६४ प्रतिशत मात्रै भएको छ । राजस्वले साधारण खर्च मात्रै धान्ने र पुँजीकत खर्च न्यून हुनु सरकारको काम गर्ने क्षमता कमजोर भएको स्पष्ट पारेको छ ।

आन्तरिक राजस्व कमजोर

आन्तरिक स्रोतबाट उठाउने गरेको राजस्व सुधारोन्मुख देखिएको छ । आयात खुकुलो बने पनि विभिन्न समयमा जारी गरिएको देशव्यापी निषेधाज्ञाका बावजूद आन्तरिक राजस्वमा प्रभाव पारेको छैन । आयकर र मूल्य अभिवृद्धि कर लक्ष्यको आसपास पुगेको छ । लक्ष्यको तुलनामा आयकर ९७ प्रतिशत उठेको छ भने भ्याट ९३ प्रतिशत संकलन भएको छ ।

शैक्षिक संस्थाहरू नखुलेका कारण शिक्षा सेवा शुल्क गत आर्थिक वर्षकोभन्दा ३७ प्रतिशतले घटेको छ । गैर करको ठूलो स्रोत पर्यटन क्षेत्र दुई वर्षदेखि खुल्न नसक्दा यस अवधिमा यो कर २७ प्रतिशतले घटेको छ । गैर कर राजस्व लक्ष्यको ६९ प्रतिशत मात्रै संकलन भएको छ ।


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x