अर्थ / बाणिज्य

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा

शेखरजीहरूलाई अप्ठेरो नलागोस् भन्‍ने मेरो कामना छ :चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षको उम्मेद्वार

पुष्पराज आचार्य |
मंसिर १०, २०७७ बुधबार २०:१३ बजे

पश्‍चिम नेपालको बागलुङ जिल्लाको सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकालले कोल्ड स्टोर सञ्चालनबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका हुन् । व्यवसायिक यात्राको तीन दशकमा उनको नेतृत्वमा रेमिट् कम्पनी, बैंक, जलविद्युत्, पर्यटनलगायत दर्जनौं देशकै अग्रणी कम्पनीहरू खडा भएका छन् । व्यवसायमा तीन दशक र चेम्बर आन्दोलनमा झण्डै डेढ दशक लामो अनुभव भएका ढकाल देशभर सञ्‍जाल रहेको उद्योगी, व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले पनि महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा यसपटक उद्यमी व्यवसायीहरूमा तीव्र ध्रुवीकरण देखिन्छ । ढकालसँग इकागजका पुष्पराज आचार्यले गरेको कुराकानीः 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । महासंघलाई कसरी अघि बढाउने सोच राख्नुभएको छ ? 
मेरो व्यवसायिक यात्रा सानो व्यवसायबाट शुरु भएको हो । तीन दशकमा मैले कर्पोरेटस्तरको व्यवसाय विस्तार गरेको छु । यो अवधिमा मैले हासिल गरेको अनुभव, व्यवसायिक यात्रामा व्यक्तिगत रुपमा मैले भोगेको सफलता र असफलताका फेहरिस्त छन् । व्यवसायिक यात्रामा र नेपाल उद्योग वाणिज्य महासंघमा रहेर यसअघि मैले हासिल गरेका अनुभवलाई महासंघको नेतृत्वबाट समग्र उद्यमी, व्यवसायी र मुलुकको अर्थतन्त्र विकासका लागि काम गर्नुपर्छ भनेर मैले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएको हुँ । नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै पनि यसको उपयोग गर्न नसकिएको कारण लाखौं युवाहरू रोजगारीका लागि विदेशिनु परेको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाबाट सम्भावनाको अन्वेषण गर्ने र त्यी सम्भावनाहरूलाई उपयोग गर्न सरकार र सरोकारवालासँग नीतिगत पैरवी गर्ने सोचले म निर्देशित भएको छु । हामीले मुलुकमा राम्रो लगानीको वातावरण निर्माण गर्नुपर्नेछ । यसले एकातिर उद्यमशीलता विकास हुन्छ भने सरकार त्यसबाट कर पनि प्राप्त गर्छ । आन्तरिक रुपमा लगानीको वातावरण सुधारका लागि कानुनी र प्रक्रियागत पक्षहरू होलान्, पूर्वाधार र व्यवहारिक विषयहरू होलान् । कुनै पनि व्यवसाय सञ्चालन गर्न  अथवा त्यसबाट बर्हिगमन हुन वा वैदेशिक लगानीका कम्पनीहरूले सहज रुपमा नाफा फिर्ता लैजाने अवस्था बनाउन जरुरी छ । लगानीकर्ताको दृष्टिकोणबाट लगानीमैत्री वातावरण बनाइसकेपछि विदेशी लगानी सहज रुपमा आउन सक्छ । यसले हाम्रो अर्थतन्त्रमा उत्पादन बढ्छ, रोजगारी सिर्जना हुन्छ । विश्वमा लगानी आकर्षणका लागि प्रतिस्पर्धा गरिरहेका देशहरूको दाँजोमा नेपाललाई पुर्‍याउन निजी क्षेत्रका तर्फबाट भूमिका खेल्ने मेरो सोच रहेको छ । 


चेम्बर आन्दोलनमा आवध्द भएको डेढ दशकमै महासंघका नेतृत्वमा प्रतिस्पर्धा गर्दैगर्दा धेरैले महासंघको नेतृत्वमा यहाँको ‘ग्रोथ’ चाँडो भयो पनि भन्छन् नि ? 
नेपाल उद्योग वाणिज्य महासंघमा आबध्द हुँदा सुरुवातमै मलाई महासंघको नेतृत्वमा जान्छु भन्‍ने थिएन ।  नेपाल-मलेसिया उद्योग वाणिज्य संघबाट म महासंघमा प्रवेश गरेको थिएँ । महासंघमा आइसकेपछि त्यहाँका गतिविधिमा संलग्‍न हुँदै गर्दा महासंघमा रहेर उद्यम, व्यवसायसँग सम्बन्धित मुद्दाहरूमा धेरै काम गर्न सकिन्छ भन्‍ने लाग्यो । म नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा आइसकेपछि मैले लगानी प्रवर्धन समितिमा रहेर काम गरेँ । लगानी प्रवर्धन समितिमा रहेर विश्‍वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूबाट मुलुकमा लगानी भित्र्याउने कामको संयोजन गरेको थिएँ । त्यसपछि मलाई व्यवसायिक सञ्‍जालमा पनि चासो बढ्न थाल्यो । महासंघमा दुई कार्यकाल पुरा गरिसकेपछि महासंघको उपाध्यक्षमा उठ्न पाउने योग्यता पुग्छ । उपाध्यक्षमा उठ्ने योग्यता पुगेपछि मैले एसोसिएटबाट महासंघको उपाध्यक्षमा उठ्ने घोषणा गरें । एसोसिएटबाट उपाध्यक्षमा निर्वाचन लड्दा ज्ञानेन्द्रलाल प्रधानसँग हाम्रो सहमति भएको थियो । दिनेश श्रेष्ठ, ज्ञानेन्द्रलाल प्रधान र मबीच एकले अर्कोलाई सहयोग गर्ने सहमति बनेको थियो । शेखर गोल्छाजीको कार्यालयमा पशुपति मुरारका, भवानी राणा र शेखर गोल्छा साक्षी रहेर हामीले सहमति गरेका थियौं । दिनेशजी अघिल्लो कार्यकाल निर्वाचनमा पराजित हुनुभयो, ज्ञानेन्द्रजी निर्वाचन प्रक्रियामै आउनुभएन । यस हिसाबले वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेद्वारी स्वभाविक हो । म कुनै पनि हिसाबले महत्वाकांक्षी भएको होइन ।

यहाँलाई विरोधी खेमाले अहिलेसम्म निर्वाचनको सामना नै गर्नु नपरेको आरोप पनि लगाउँछन् ? 
महासंघको निर्वाचनमा अहिलेसम्म एकपटक निर्विरोध निर्वाचित भएको छु ।  हरेकपटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएको हुँ । अहिले उम्मेद्वारी दिनुअघि म पूर्व इलामदेखि दार्चुलासम्म पुगेर जिल्ला उद्योग वाणिज्य संघका साथीहरूको राय बुझेको छु । त्यस्तै वस्तुगत र एसोसिएटका साथीहरूले पनि मलाई अघि बढाउनुभएको हो । त्यस हिसाबले मैले उम्मेद्वारी दिएको हुँ । अहिले अधिकांश मतदाताहरू मेरो पक्षमा हुनुहुन्छ । म त अन्तिम समयसम्म पनि मेरो प्रतिस्पर्धीले उम्मेद्वारी झिक्नुहुनेछ भन्‍नेमा आशावादी छु । किनकि उहाँ पूर्व अध्यक्षहरूले भन्‍नुहुन्छ भने एक मिनेटमै म उम्मेद्वारी फिर्ता लिन्छु पनि भनिरहनुभएको छ । 

यसरी उम्मेद्वारी छाड्ने अवस्थामा अरु पदमा ‘गीभ एण्ड टेक’ (लेनदेन) होला नि ? 
त्यस्तो हुँदैन । आगामी अध्यक्ष बन्न लाग्नुभएका शेखर गोल्छाले उहाँलाई केही भूमिका दिने भन्‍ने हुनसक्ला । तर मैले उहाँलाई कुनै प्रतिबध्दता गर्ने वा मेरो प्यानलबाट उम्मेद्वार रहनुभएका अरु पदहरूमा ‘गीभ एण्ड टेक’ हुने सवाल नै रहँदैन । हामीले भौगोलिक र व्यवसायिक हिसाबले पनि समावेशी टिम बनाएका छौं । जिल्ला नगरबाट उपाध्यक्षको उम्मेद्वारी दिनुभएका गुणनिधि तिवारी, एसोसिएटका उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका रामचन्द्र संघाई र वस्तुगत समूहबाट उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका उमेशलाल श्रेष्ठ सबै अनुभवी र स्थापित व्यवसायी हुनुहुन्छ । विगतमा पनि किशोर प्रधानलाई हामीले कार्यसमितिमा ल्याएकै हौं । आगामी कार्यकालमा पनि उहाँलाई केही मानार्थ भूमिका दिने विषयमा मलाई आपत्ति हुँदैन । त्यसकारण उहाँले सहमतिको मार्गप्रशस्त गर्न सक्नुहुन्छ । 

वर्तमान अध्यक्ष भवानी राणा र निर्वाचित अध्यक्ष शेखर गोल्छाले यहाँको विपक्षी प्यानललाई खुला समर्थन गरेर यहाँलाई दबाब दिन खोजेको देखिन्छ । कत्तिको दबाब महसुस गर्नुभएको छ ? 
मतदाताको समर्थनमा मैले उम्मेद्वारी दिएको हुँ । उहाँहरूले खुला रुपमा कुनै पक्षको समर्थन गर्नु कति उचित या अनुचित भन्‍ने विषय उहाँहरूले नै जान्‍ने कुरा हो । उहाँहरूले कुनै प्यानललाई समर्थन गर्नुभयो भनेर मलाई कुनै चित्त दुखाई छैन । उहाँहरूको विवेकले ठहर्‍याए अनुसार गर्नुभएको होला । यद्यपि उहाँहरू मेरो आदरणीय नै हुनुहुन्छ । मेरो उहाँहरूलाई सम्मान छ ।  भोलि पनि मैले निर्वाचित भएर सघाउने त शेखर गोल्छाजीकै नेतृत्वलाई हो । विधान र मर्मको भावअनुसार उहाँहरू कुनै पक्ष-विपक्षमा लाग्‍न जरुरी थिएन भनेर सबैले भनिरहेकै छन् ।

पशुपति मुरारका, शेखर गोल्छा र चन्द्र ढकाल महासंघमा एउटा टीमको रुपमा चिनिन्थ्यो । यो तहको फाटो कसरी आएको हो ? 
नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्‍ने प्रावधान संशोधन गर्नुपर्छ भनेर पहिले जुलुश लगाएर हिंड्ने व्यक्ति किशोर प्रधानजी नै हो । विधान संशोधन गरेर अध्यक्षमा शेखर गोल्छासँग प्रतिस्पर्धा गर्न किशोरजी अग्रसर भएर लागेपछि मैले नै उहाँलाई त्यतिबेला यसरी विधान संशोधन गरिरहन हुँदैन । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्‍ने विधानको त्यही व्यवस्थाअन्तर्गत वरिष्ठ उपाध्यक्ष निर्वाचित भइसकेको व्यक्तिलाई अध्यक्ष बनाउनुपर्छ भनेर सम्झाएको हुँ । विधान संशोधन समिति गठन गर्दादेखि नै मैले शेखर गोल्छाको एजेण्डामा नै साथ दिदैं आएको हुँ । विधान संशोधन गर्नुहुन्‍न भन्‍नेमा मेरो पनि मत परेको छ । यसबीचमा शेखरजीहरूसँग मेरो कुनै असमञ्‍जस्यता भएको छैन । विधान संशोधन नहुने भएपछिको ६ महिना पनि नबित्दै शेखरजीले आफ्नै विरुध्द वरिष्ठ उपाध्यक्षमा निर्वाचन लडेको, विधान संशोधनको अगुवाईमा हिंडेको व्यक्तिलाई सारथि बनाउने निर्णय लिनुभएछ । किशोरजीले अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएको भनेको त अर्को कार्यकालको नेतृत्वमा पुग्‍ने पनि हो भन्‍ने पनि बिर्सेर शेखर गोल्छाको सहयोगी बन्‍ने नै मेरो एजेण्डा हो भनेर हिंड्नुभएको छ । 

महासंघमा यहाँ निर्वाचित हुनुभयो भने नेतृत्वसँगको टकराव तीव्र हुने देखियो नि ? 
त्यस्तो हुँदैन । यो सबै १३ गतेपछि हामी विसर्जन गर्छौं । अरु साथीहरूले के गर्नुहुन्छ भन्‍न सक्दिनँ । मैले अघि पनि भनें, म शेखरजीहरूलाई सम्मान गर्छु । म आफू नैतिक र व्यवसायिक धर्म निर्वाहमा प्रतिबध्द हुनेछु । महासंघप्रति आम व्यवसायीको आस्था र महासंघको गरिमा कायम राख्‍नेमा मैले भूमिका निर्वाह गर्नेछु । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको नेतृत्वका लागि प्रतिस्पर्धा गरेकाले हामी सबै साझा एजेण्डामा अघि बढ्नुपर्छ । कम्तीमा मेरो स्वभावले एउटै टिममा रहेर काम गर्न उहाँलाई अप्ठेरो हुनेछैन भन्‍ने लाग्छ । अहिलेको गतिविधिले शेखरजीहरूलाई अप्ठेरो नलागोस् भन्‍ने मेरो कामना छ । १३ गतेपछि हामी निजी क्षेत्रको एकमुष्ठ आवाज लिएर अघि बढ्छौं । मैले भोलि निर्वाचनमा विजय भएँ भने भोलि ‘प्रेसिडेण्ट-इलेक्ट’ (निर्वाचित अध्यक्ष) को रुपमा मेरो भूमिका तटस्थ हुनेछ । अहिलेको पक्षधरताले आम सरोकारवालामा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्‍ने व्यवस्था राम्रो होइन कि भन्‍ने पनि परेको होला । त्यसलाई मैले प्रणाली खराब होइन, व्यक्तिले सही हिसाबले सञ्‍चालन गर्‍यो भने यो नै सबैभन्दा उपयुक्त हो भन्‍ने प्रमाणित गर्नेछु । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x