अर्थ / बाणिज्य

कनेक्टआइपिएसमा XUNO को क्रस बोर्डर रिक्वेस्ट टु पे सेवा सुचारु

इकागज |
चैत २७, २०८० मंगलबार १४:५९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अमेरिकाको XUNO र ठमेल रेमिटमार्फत् क्रस बोर्डर रिक्वेस्ट टु पे सेवाको थालनी गरेको छ । एनसीएचएलद्वारा सञ्चालित मल्टी बैंकिङ्ग प्ल्याट्फर्म कनेक्टआइपिएसमा थप सेवाको रूपमा सुचारु गरिएको उक्त रिक्वेस्ट टु पेको सेवा एक पृथक खालको मेसेजिङ्ग सोलुसन हो, जसबाट नेपालको ग्राहकहरूले संयुक्त राज्य अमेरिकामा रहेका भुक्तानीकर्ता व्यक्ति, व्यवसाय वा संस्थासँग सजिलै भुक्तानी रिक्वेस्ट पठाउन र भुक्तानी प्राप्त गर्न सक्ने भएको छ ।  

यसरी नेपालको राष्ट्रिय स्तरको भुक्तानी पूर्वाधारमा क्रस बोर्डर रिक्वेस्ट टु पेलाई XUNO सँग इन्टिग्रेट गरी अमेरिकामा रहेको नियो बैंकिङ्ग नेटवर्कमा रहेका बैंकहरूबाट भुक्तानी प्राप्त गर्न सकिने सेवाको थालनी गर्ने एनसीएचएल र XUNO पहिलो संस्था बनेको छ । रिभर्स रेमिटेन्स सुविधाको रूपमा रहेको यस सेवामार्फत् नेपालका लाभग्राहीहरूले संयुक्त राज्य अमेरिकाका भुक्तानीकर्तालाई भुक्तानी अनुरोध पठाउन र कनेक्टआइपिएस प्लाटफर्ममार्फत नेपालमा तोकिएको बैंक खातामा रियल टाइममा भुक्तानी प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा रियल टाइम क्रस बोर्डर रेमिटको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रूपमा लिइएको छ ।


एनसीएचएलको NPI मा समेत उपलब्ध उक्त सेवालाई सम्बन्धित मोबाइल बैंकिङ्ग तथा वालेटमा समेत क्रमिक रुपमा विस्तार गरिनेछ । 

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका अनुसार आज प्रविधि र कनेक्टिभिटीको पहुँच भए पनि अन्तर्राष्ट्रिय बैंकहरूबाट भुक्तानी रियल टाइममा गर्न सकेका छैनन्, जसले गर्दा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा निकै असुविधा भइरहेको छ । XUNO सँगको यस साझेदारी पश्चात नेपालको भुक्तानी प्रणालीलाई विश्व बजारको भुक्तानी प्रणालीहरूसँग तथा नेपाललाई विश्वव्यापी अर्थतन्त्रमा जोडी लाभग्राहीहरूलाई प्रत्यक्ष रूपमा सबलीकरण गर्न सकिनेछ ।

XUNO को R2PX रकम पठाउने र प्राप्त गर्ने बैंकहरू बीच प्रत्यक्ष रियल–टाइम कनेक्सन स्थापना गरी लाभग्राहीहरूले इच्छाइएको रकम, भुक्तानीको उद्देश्य र प्राप्त गर्ने बैंकको जानकारी जस्ता विवरणहरू दाखिला गरी सजिलैसँग भुक्तानीको रिक्वेस्ट पठाउन र सो बापत बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्छन् । 

XUNO का संस्थापक बालकृष्ण जोशीका अनुसार हामी उत्कृष्ट श्रेणीको प्रविधिमार्फत भुक्तानी तथा बैंकिङ्ग क्षेत्रमा आमुल परिवर्तन गर्न प्रतिबद्ध रहेकोमा एनसीएचएलसँगको यस सहकार्यले हामीलाई थप उत्साहित बनाएको छ । 'यो सहकार्य मार्फत हामीले नेपाललाई क्रस–बोर्डर पेमेन्टसँगै बोर्डरलेस अर्थतन्त्रमा पनि फड्को मार्न मद्दत गर्ने विश्वास लिएका छौं । हामी डिजिटलाइजेसनलाई बढ्दो रूपमा आत्मसाथ गरिरहेका छौं, र त्यसका लागि हामीले वित्तीय तथा आर्थिक उन्नतिका सम्भावनाहरूलाई प्रत्सोहान गर्न आवश्यक छ । हामी एनसीएचएल टीमको दूरदर्शी नेतृत्वको लागि र क्रस बोर्डर भुक्तानीको क्षेत्रमा गर्दै आएको योगदानका लागि बधाई दिन चाहन्छौं,' उनले भने ।

क्रस बोर्डर रिक्वेस्ट टु पे ले के–कसरी सहयोग गर्नेछ ?

  • यसले ग्राहक पहिचान (केवाईसी), एन्टी–मनी लन्डरिङ्ग (एएमएल), लाभग्राहीको स्वीकृति र प्राप्त खाताहरूको अनुपालन र पारदर्शिता सुनिश्चित गर्न सहयोग गर्दछ ।
  • वित्तीय संस्थाहरू बीचको प्रत्यक्ष पहुँच कायम गरी मध्यस्तकर्ताको भूमिका कम गर्न र भुक्तानी रकम सिधै बैंक खाताबाट जम्मा हुने हुँदा लागत निकै कम हुने ।
  • लाभग्राहीहरूले डिजिटल माध्यमबाट भुक्तानी अनुरोध गर्न र सिधै आफ्नो बैंक खातामा रकम प्राप्त गर्ने हुँदा प्रक्रिया निकै सरल हुने । हालका लागि ग्राहकले कनेक्टआईपिएस बाट भुक्तानी अनुरोध गर्ने व्यवस्था रहेकोमा NPI मार्फत कुनै पनि वालेट र मोबाइल बैंकिङ्गले समेत उक्त R2PX जोड्न सक्नेछन् । भुक्तानीकर्ता र लाभग्राहीहरूले रियल टाइममा रिक्वेस्ट र भुक्तानीको स्थिति ट्रयाक गर्न सक्छन् ।
  • R2PX ले युनिक प्राइमरी आइडेन्टीफायर (पीआईडी) वा भर्चुअल पेमेन्ट एड्रेस (भिपिए) प्रयोग गर्ने भएकोले रिक्वेस्ट पठाउने र पाउनेको सम्पूर्ण विवरण सिस्टममा उपलब्ध गर्न आवश्यक रहँदैन । साथै सम्पूर्ण जानकारीमा ईन्क्रिप्शन प्रविधिको प्रयोगले सम्पूर्ण भुक्तानी प्रक्रिया सुरक्षित र डाटाको गोपनीयताको ग्यारेन्टी गर्दछ ।

 


Author

थप समाचार
x