अर्थ / बाणिज्य

नाम अनुसारको काममा रूपान्तरण गर्ने भिजन मसँग छ : युवा व्यवसायी सुमन खत्री

इकागज |
चैत १, २०८० बिहीबार १३:१६ बजे

काठमाडौँ- सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशनमा युवा व्यवसायी सुमन खत्रीले अध्यक्ष पदमा उमेदवारी दिने भएका छन् । चैत ९ र १० गते हुने २८ औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनमा व्यवसायी सुमन खत्रीले अध्यक्ष पदमा उमेदवारी दिने भएका हुन् ।

खत्रीले आफ्‍नो उम्मेदवारी व्यवसायीको हकहितका लागि रहेको बताए । 'नेपालबाट “थर्ड कण्ट्री”बीच हुने व्यापारलाई सहजीकरण गर्न सहज बनाउनेछु' खत्रीले भने 'डामाडोल अर्थतन्त्रको सुधार तथा राज्यबाट हुने व्यापारीमाथिको असमान व्यवहारको अन्तका निम्ति नै मेरो उम्मेदवारी हो ।'


खत्रीको उम्मेदवारी किन ?
खत्री लामो समयदेखि व्यवसाय गर्दै आएका छन् । खत्री मित्र राष्ट्र चीनबाट सामान आयात गर्छन् । उनले साना व्यापारीहरूमाथि हुने दमनमा आवाज उठाउँदै आएको बताउँछन् । व्यापारी, व्यवसायी र उद्यमीका लागि केही गर्ने उद्देश्य राखेर नेतृत्वमा आउन लागेको खत्री बताउँछन् । नेपाल-चीनबीचको तातोपानी नाकामा राम्रो नाम कमाएका उनले सिन्धुपाल्चोकलाई नेपाल-चीनबीचको व्यापारीक हब निर्माण गर्ने बताउँछन् ।

उनले सरकारी निकाय र उद्यमीबीचको बेमेलको अन्तका लागि पनि आफूले उम्मेदवारी दिने बताउँछन् । 'मूल विषय भनेको उद्यम र उद्यमीको दीर्घकालीन हितका लागि काम गर्नुछ' खत्रीले भने 'सिन्धुपाल्चोकमा स-साना उद्यम गर्नेदेखि मझौला तथा ठूला उद्यम गर्ने वातावरण निर्माणका लागि पनि हो मेरो उम्मेदवारी ।' 'अहिले देशको अर्थतन्त्रको हालत खराब छ । खराब अर्थतन्त्रलाई सबैले सहयोग गरे मात्र माथि उठाउन सकिन्छ' युवा व्यवसायी खत्री भन्छन् 'राज्यले पनि व्यापारीमाथि असमान व्यवहार गर्छ । त्यसलाई पनि राज्यले समान व्यवहार गर्नुपर्छ । डामाडोल अर्थतन्त्रको सुधार तथा राज्यबाट हुने व्यापारीमाथिको असमान व्यवहारलाई दीर्घकालिन रूपमा अन्त्य गर्नुपर्छ ।'

उमेरले भन्दा क्षमताले काम गर्छु
उमेरभन्दा पनि योग्यता र क्षमताले संस्था सञ्‍चालन हुने उनी बताउँछन् । उनले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा आफू काम गरेर देखाउन सक्ने बताउँछन् । 'उद्यमी उमेरले भन्दा पनि योग्यता-क्षमता र लगावले परिपूर्ण हुने भएकाले म स्वयम् काम गरेर क्षमता देखाउन सक्छु' उनले भने ।

उनले आफू निर्देशित कामको भन्दा सामूहिक निर्णयको पक्षपाति भएको बताउँछन् । 'हामी युवाले निर्माण नगरे अब जिल्लाको उद्यमको विकास कसले गर्ला ? तसर्थ विभाजित भएर होइन सामूहिकतामा उद्यमको विकासको मोडल खोजौं' खत्री भन्छन् 'भिजनसहितको उद्यमी एकता आजको आवश्यकता हो भन्ने मान्यता राख्छु ।'

सिन्धुपाल्चोकक उद्योग वाणिज्य संघलाई नाम अनुसारको काममा रूपान्तरण गर्ने भिजन रहेको भन्दै खत्रीले भने 'दलिय भिजनभन्दा माथि उठेर संस्थाको गतिविधिलाई “उद्यमी र उद्योग”को हितमा सदुपयोग गर्ने कुराको पक्षपाति हुँ ।'

संघको गरिमा माथि उठाउन नेतृत्वमा युवा आए मात्र सम्भव
उनले सिन्धुको उद्योग र उद्योग वाणिज्य संघको गौरव जोगाउनु आजको आवश्यकता रहेको बताए । 'नेपाल-चीनबीच पुलको काम गरेर “व्यापार र व्यापारी”को हित आजको दोश्रो आवश्यकता हो' उनी भन्छन् 'सरकारलाई उद्यमीका पक्षमा राय-सुझाव र आवश्यक पर्दा दवाब दिन सक्ने नेतृत्व सिन्धुले खोजिरहेको छ । जुन नेतृत्वमा दिन सामूहिक भावना चाहिन्छ । त्यो मेरो प्राथमिकताको विषय हो ।'

'सरकार र उद्यमी-व्यापारिकबीचको रस्साकसीको अन्तका लागि राजनीतिक लबिंग गर्ने क्षमताबाट मात्र सिन्धु उद्योग वाणिज्य संघको गौरव जोगिने कुराको पक्षपाति हुँ' उनले भने 'हलोदेखि हाइड्रो र नेपाल-चीनबीच आयात-निर्यातको विषय मूल रूपमा सिन्धुको उद्योग वाणिज्य संघसँग जोडिने भएकाले यो विषयमा सामूहिक भिजन प्रस्तुत गरेर संघको गरिमा उठाउने विषयमा आफूलाई केन्द्रित गर्ने छु ।'

उनले सिन्धु उद्योग वाणिज्य संघको गरिमा उठाउन युवाले नेतृत्व लिए मात्र सम्भव हुने बताए । 'एक पटक हरेक मतदाताले गम्भीरतापूर्वक सोच्ने बेला आयो' उनले भने 'अब नेतृत्व कसको हातमा र किन ? भन्ने बिषयमा सबैले सोच्न जरूरी छ ।'


Author

थप समाचार
x