अर्थ / बाणिज्य

तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात

आयातअनुसार माग नभएको व्यवसायीको गुनासो

इकागज |
कात्तिक २५, २०८० शनिबार १४:८ बजे

फाइल तस्बिर

काठमाडौँ- विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरूले गुनासो गरेका छन् । 

तिहारलाई उज्यालो पर्वको रूपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ विशेष बनाउने गरिन्छ । केही वर्षदेखि तिहारमा सबैभन्दा बढी विद्युतीय बत्तीहरूको प्रयोग गर्ने प्रचलन बढेको छ । तिहार लागेसँगै हरेक पसल तथा घरलाई झिलिमिली बनाउनका लागि झिलिमिली बत्तीको प्रयोग गर्ने गर्दछन् ।


विगतमा नेपालीहरूको माटोको दियो बालेर तिहारमा झिलिमिली बनाउने गर्दथे भने देशमा पर्याप्त विद्युत उपलब्ध भएसँगै विद्युतीय बत्तीहरूको प्रयोग गरिन थालेको छ । हरेक वर्ष विद्युतीय व्यवसायीहरूले बजारको मागअनुसार झिलिमिली बत्तीहरू आयात गर्ने गरेका छन् । तिहारमा हरेक वर्ष झिलिमिली माला लगायतका बत्तीहरूको माग बढेसँगै आयातमा पनि वृद्धि हुँदै आएको छ ।

तिहारमा हरेक वर्ष १० प्रतिशतले आयात वृद्धि हुँदै गएको व्यवसायीहरू बताउँछन् । तिहारका लागि गत वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्ती लगायत झिलिमिली बत्तीहरू आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष देवकोटाले यस वर्षको तिहारका लागि करिब ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको उल्लेख गरे ।

विशेषगरी तिहारमा लक्ष्मी पूजाको दिनसम्म झिलिमिली बत्तीको व्यापार हुने देवकोटा​काे भनाइ छ । उनले आर्थिक मन्दीका कारण यस वर्षको तिहारमा आयात भएअनुसार झिलिमिली बत्तीको व्यापार धेरै नहुने अवस्था देखिएको बताए । उनले बजारको माग भन्दा बढी झिलिमिली बत्ती आयात भएको भन्दै बजारमा झिलिमिली बत्तीको माग गत वर्षको तुलनामा कमी रहेको बताए ।

अध्यक्ष देवकोटाका अनुसार एउटै झिलिमिली बत्तीमा ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । भन्सारमा चीनबाट आयात भएका बत्तीहरूको सरकारले मूल्याङ्कन डलरमा गर्दा व्यवसायी र उपभोक्ता मर्कामा परेका छन् । उनले झिलिमिली बत्ती विशेषगरी चीन र भारतबाट आयात हुने गरेको बताए । ९० प्रतिशत बत्ती चीनबाट र बाँकी भारतबाट आयात हुने गरेको उनले उल्लेख गरे ।


Author

थप समाचार
x