अर्थ / बाणिज्य

नयाँ अर्थमन्‍त्रीसामु धरापमा रहेको अर्थतन्त्र ट्र्याकमा ल्याउने चुनौती

कमल धिताल |
पुस ११, २०७९ सोमबार १९:३३ बजे

काठमाडौँ– जटिल अवस्थामा रहेको अर्थतन्त्र सुधार्ने जिम्मा लिएर विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थ मन्त्रीका रूपमा आज शपथ खाएका छन् । नेकपा एमालेका तर्फबाट अर्थ मन्त्रालय सम्हाल्न पुगेका पौडेललाई यसपटक भने पहिला जस्तो परिस्थिति छैन ।

बितेका कार्यकालमा सेयर बजार सुधार गरेको भन्दै वाहवाही कमाएका पौडेललाई यसपटक सजिलो भने पक्कै छैन । यसअघि पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र नेकपा सरकारका पालामा अर्थमन्त्रीका रूपमा कार्य गरेका थिए ।​


पौडेल आउने चर्चाले सुस्ताएको सेयर बजार आजै उल्लेख्य बढ्यो भने कारोबार रकम पनि २ अर्ब माथि गयो । यसअघि निरन्तर घट्दै आएको सेयर बजारले पनि उनलाई स्वागत गरेको लगानीकर्ताहरूको ठम्याई छ । अर्थमन्त्री पौडेलको ९ महिने कार्यकाल सेयर बजारका लागि पनि सुखद नै बन्यो । सेयर बजारले उचाइको रेकर्ड समेत राखेको थियो ।

तेस्रोपटक अर्थ मन्त्रालय सम्हाल्न पुगेका पौडेलले धरापमा रहेको अर्थतन्त्र कसरी सुधार गर्ने भन्ने मुख्य चुनौती सामना गर्नुपर्ने छ । आयात प्रतिबन्धले केही सुधारको संकेत गरेकाे अर्थतन्त्रमा अब चाल्ने हरेक कदमले महत्व राख्ने छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार अहिले सरकारको खर्च आम्दानीको तुलनामा ७८ अर्ब रुपैयाँ बढी छ। सरकारले राजस्व लगायतबाट तीन खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गर्दा खर्च ७८ अर्ब बढी अर्थात् चार खर्ब ४४ अर्ब रुपैयाँ छ । आर्थिक रूपमा हेर्दा सरकार सञ्चालनमा समस्या देखिन थालेको छ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच समन्वय र विवादले हाल अर्थतन्त्र जर्जर भएको अर्थशास्त्रीहरूले बताउँदै आएका छन् । जर्जर अवस्थामा रहेको अर्थतन्त्रलाई कसरी सुधारमा ल्याउने भन्ने मुख्य चुनौती पौडेलसामु छ । निवर्तमान अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच आन्तरिक विवादले गर्दा अर्थतन्त्र यो अवस्थामा पुगेको जानकारहरू बताउँछन् । रुस-युक्रेन युद्धले विश्व बजारमा असर गरिरहेको अवस्थामा विश्वव्यापी रूपमा अर्थतन्त्रमा मन्दी देखिएको छ । नेपालमा पनि आर्थिक मन्दीका संकेत देखिन थालेका छन् भने कोरोनाकाे नयाँ भेरियन्ट पनि क्रमशः बढ्दै गएको छ ।

गत कार्यकालमा केही लोकप्रिय कार्यका रूपमा पूँजी बजारको ब्रोकर कमीसन घटाउने निर्णय गरे । नेपालमा पूर्वाधार, उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएनए नेपाल डेभलपमेन्ट फण्डको स्थापना । कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता जस्ता केही लोकप्रिय कार्य गरेका थिए । पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्बको बजेटमा कोरोनाले आक्रान्त पारेको व्यवसायीलाई केही राहत दिएका थिए ।

पौडेल अघि अर्थमन्त्रीको कार्यभार सम्हालेका डा. युवराज खतिवडाको कार्यशैलीले आजित बनेका लगानीकर्ता र उद्योगी व्यवसायीप्रति पौडेलको कार्यले केही राहत दिएको थियो ।

हाल लक्ष्यको तुलनामा न्यून राजस्व संकलन भएपछि सरकारले तोकिएका विकास निर्माणमा खर्च गर्न नसक्ने अवस्था छ । यो वर्षको लक्ष्य मात्र होइन गत वर्षको संकलनभन्दा २० प्रतिशत न्यून राजस्व उठेको छ । पाँच महिनामा राजस्व संकलन २० प्रतिशतले ऋणात्मक भएको छ । यस्तोमा व्यवसायीलाई कसरी राहत दिएर विश्वासमा लिने छन् त्यो पनि उनका लागि चुनौती नै हाे ।

यस्तै आर्थिक वर्ष २०७९/८० को चार महिनामा कूल वस्तु निर्यात ३३.३ प्रतिशतले कमी आइ ५४ अर्ब ७७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०४.३ प्रतिशतले वृद्धि भएको थियो । निर्यात क्रमश: घट्दै र आयात खुल्लापछि बढ्दा विदेशी मुद्रा सञ्चिति पनि बढाउन समस्या रहन्छ । 

यस्तै बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्न थालिसकेको छ । कात्तिकको तथ्यांकअनुसार कूल कर्जामा खराब कर्जाको अनुपात केही मात्रामा बढेर १.९८ प्रतिशत पुगेको छ । गत वर्ष कात्तिकमा यो दर १.३७ प्रतिशत थियो । बैंकहरूले कर्जा नउठेकै कारण राखेको प्रावधान पनि यो अवधिमा २.४० बाट बढेर २.६३ प्रतिशत छ ।

अर्थतन्त्रका यी सूचकलाई ट्र्याकमा ल्याउन अब अर्थमन्त्री पौडेलले निकै कसरत गर्नुपर्ने देखिन्छ ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x