अर्थ / बाणिज्य

शेयर बजारमा ‘थर्ड वेभ’ आउन लागेको हो ?

पुष्पराज आचार्य |
कात्तिक २५, २०७७ मंगलबार १६:२४ बजे

काठमाडौं : शेयर बजारमा मंगलबार उछाल देखिएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १.५७ प्रतिशत अर्थात् २५.९८ अंकले बढेर १,६७८.७९ अंकमा पुगेको छ । लकडाउनपछि शेयर कारोबार सुरु भएयता बजार बढ्ने क्रममा छ । लगातारको वृध्दिपछि छोटो अवधिका लागि ‘करेक्सन’ हुने र त्यसपछि पुनः वृध्दि हुने क्रम देखिएकाले विश्लेषकहरुले यसलाई शेयर बजारमा तेश्रो चरणको उछालको संकेतका रुपमा व्याख्या गरेका छन् ।

कोभिड-१९ का कारण बैंक तथा वित्तिय संस्थाको नाफा गर्ने क्षमतामा कमी आएको छ र त्यसको असर लाभांशमा पनि देखिन्छ । यद्यपि लगानीकर्ताहरुले माग गर्ने क्रम रोकिएको छैन । ‘यसले शेयर बजारमा तेश्रो चरणको उछाल आउन लागेको संकेत गर्छ,’ विश्लेषक प्रकाश रजौरियाले भने, ‘शेयरको आपूर्ति कम छ, लगानीकर्ता उत्साहीत भएर माग गर्ने क्रम रोकिएको छैन ।’ यद्यपि बजार बुलिस ट्रेण्डमा रहेकाले लगानीकर्ताले सचेत भएर लगानी गर्नु उचित हुन्छ ।


नेप्से परिसूचक २०७३ साउनमा अहिलेसम्मकै उच्च बिन्दू १८८१.४५ बिन्दूमा पुगेपछि झण्डै तीन वर्ष वियरिस ट्रेण्डमा अघि बढ्यो । शेयर बजार क्रमशः अंग्रेजी वर्णमालाको ‘यु’आकारमा बढीरहेको छ । कोभिड-१९ का कारण लगानीका अन्य क्षेत्र खुम्चिएको र मौद्रिक नीतिले शेयर धितो कर्जा केही खुकुलो बनाएपछि बजार सुदृढ गतिमा अघि बढेको हो ।

शेयर बजारको यसअघिको प्रवृत्ति हेर्दा पनि वियरिस ट्रेन्ड समाप्त भएसँगै बजार केही समय स्थिर भएपछि मात्र बुलिस ट्रेन्डतर्फ अघि बढ्छ । यसमा लगानीकर्ताको मनोभावना जोडिएको हुन्छ । बजार वियरिस ट्रेन्डमा जाँदा सामान्यतः साना मझौला लगानीकर्ताले गुमाउँछन् र उनीहरु विश्वस्त भएर बजारमा पस्‍न समय लाग्छ । यसले गर्दा केही समय वियरिस ट्रेन्ड स्थिर हुन्छ । बजारले बुलिस ट्रेण्ड पक्रेपछि भने छोटो अवधिका लागि सामान्य करेक्सन बाहेक बजार अघि बढ्छ ।

शेयर बजार पुँजीकरण (मार्केट क्यापिटलाजेसन) भने कुल गार्हस्थ उत्पादनको आकारको हाराहारीमा पुग्‍नै लाग्दा बुलिश ट्रेण्ड उच्चतम बिन्दूमा पुगेको देखिन्छ । यसअघि नेप्से परिसूचक २०५२, २०५७, २०६५, २०७३ मा बुलिस ट्रेन्डको उच्चतम बिन्दूमा पुगेको देखिन्छ । २०५२ मा उच्चतम बिन्दूमा पुगेर सुरु भएको वियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म २०६५ को २०६८ सम्म चलेको थियो। २०७३ को साउनमा शेयर बजार स्याचुरेसनमा पुगेपछि शुरु भएको वियरिस ट्रेण्ड समाप्त हुन पनि झण्डै तीन वर्ष नै लाग्यो । 

२०६५ भदौ १५ मा उच्चतम बिन्दू ११७५ मा रहेको नेप्से परिसूचक २०६८ असार ६ मा २९२ बिन्दूमा आएर रोकिएको थियो । अघिल्लो वियरिस ट्रेन्डसँगै शेयर बजार ‘क्र्यास’ भएपछि यसलाई पुनर्जीवित गर्न सरकारले ठूलै पहल गर्नुपरेको थियो । २०७२ भदौको पहिलो साता १२०० अंकको आसपासमा आएर बुलिस ट्रेन्डको उच्चतम बिन्दूमा रहेको नेप्से परिसूचक राष्ट्र बैंकले तत्कालीन समयमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने निर्णयसँगै पुनः बुलिश ट्रेण्ड पक्रिएको थियो । 

२०७२ भदौदेखि २०७३ साउनको बीचमा शेयर बजारमा ‘कपल बुल’ बनाउने बैंक तथा वित्तिय संस्थाको पुँजी वृध्दिले २०७३ साउनमा नेप्से परिसूचक अहिलेसम्मकै उच्च १८८१.४५ अंकमा पुगेको थियो । बजार घट्ने क्रममा पनि न्यूनतम बिन्दू ११०० अंकको आसपासमा रह्यो । शेयर बजारमा अहिले देखिएको ‘थर्ड वेभ’ले बजारलाई यसअघिको उच्चतम बिन्दू निकट भविष्यमै पार गराउने देखिन्छ ।

शेयर बजारको दैनिक कारोबार पुनःस्थापित हुँदै क्रमशः अघिल्लो साता तीन अर्ब रुपैँयाको दैनिक कारोबार हुँदै मंगलबारको दैनिक कारोबार ४ अर्ब रुपैँया नाघेको छ । पछिल्लो समय ट्रेडिङ, म्यानुफ्याक्चरिङ तथा जीवन बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । मंगलबार शेयर बजारमा ‘क’ वर्गका कम्पनीहरुको धितोपत्रको कारोबार प्रतिबिम्बित गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ १.५५ प्रतिशत अर्थात् ५.०६ अंकले बढेर ३३०.३९ बिन्दूमा रोकिएको छ । मंगलबार जलविद्युत् र म्युचुअल फण्ड बाहेक सबै उपसमूहको सूचक उकालो लागेका छन् । मंगलबार नेप्सेमा १९६ कम्पनीको ३८ हजार ६ सय ३४ कारोबारबाट ४ अर्ब ९ करोड ६१ लाख मूल्यका ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर किनबेच भएको छ । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x