अर्थ / बाणिज्य

डरलाग्दो व्यापार घाटा

इकागज |
असार ९, २०७९ बिहीबार १०:४७ बजे

काठमाडौँ- सरकारले विदेशी मुद्रा सञ्चित गराउन आयातमा कडाइ गरे पनि चालू आर्थिक वर्षको ११ महिनासम्ममा १७ खर्ब ६३ अर्ब २२ करोड रूपैयाँ बराबरको आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५ प्रतिशतले बढी हो । 

नेपालमा आयात हुने अधिकांश वस्तुहरूमा इन्धन, खाद्यान्‍नको हिस्सा बढी रहेको तथ्यांकले देखाउँछ । हाल चलिरहेको रुस-युक्रेन युद्धको असरले अन्तर्राष्ट्रिय बजार इन्धनको मूल्य बढ्दै जाँदा यसले नेपाल जस्ता विकासशील देशहरूलाई नराम्ररी असर गर्छ । 


डलरको भाउ दिनप्रतिदिन बढ्दै जाँदा आयातमुखी अर्थतन्त्र भएको नेपालको घाटा पनि दिनहुँ बढ्दै गइरहेको देखिन्छ । पछिल्लो समय नेपाली रूपैयाँ डलरको तुलनामा झन्‌झन्‌ कमजोर हुँदै गइरहेको छ। भारतीय रूपैयाँ विनिमयदरसँग स्थिर रहेको नेपाली रूपैयाँ डलरको तुलनामा भारू नै कमजोर भएपछि यसको प्रभाव नेपाली रूपैयाँमा समेत परेको हो । हाल अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएपछि लगानीकर्ता उतै आकर्षित भएको जानकारहरू बताउँछन् ।

नेपालले आयात गर्ने खाद्यान्‍न र तेल लत्ताकपडा जस्ता वस्तुहरूसमेत डलर तिरेर आयात गर्छ । यसरी हरेक वस्तुको भुक्तानी डलरमा गर्दा र रेमिट्यान्स घट्दा डलर सञ्चिति क्रमश रित्तिँदै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७८ को असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको अमेरिकी डलर सञ्चिति २०७९ को वैशाख मसान्तसम्म आइपुग्दा घटेर ९ अर्ब २८ करोडमा झरेको छ ।

यसरी १० महिनाको अवधिमा २ अर्ब ४७ करोड कमी आएको छ । यसरी रेमिट्यान्स कमीका कारण विदेशी मुद्रा सञ्चितिमा पनि क्रमश कमी हुँदै गएको देखिन्छ । अधिकांश आयात रेमिट्यान्सबाट धानिने गरेको देखिन्छ । निर्याततर्फ ११ महिनाको अवधिमा १ खर्ब ८५ अर्ब ८३ करोड रहेको छ । निर्यात भएका प्रमुख वस्तुहरूमा पनि सोयाविन तेल, पाम तेललगायतका वस्तुहरूको ठूलो हिस्सा रहेको छ जुन अन्य देशबाट आयात र प्रशोधन भएर निर्यात भएको देखिन्छ ।

नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग छ । भन्सार विभागको चालू आवको ११ महिनाको अवधिमा भारतसँगमात्रै ९ खर्ब ५५ अर्बभन्दा बढी व्यापार घाटा रहेको तथ्यांक छ । ११ महिनामा भारतबाट ११ खर्बबढी वस्तु आयात भएको छ।

त्यस्तै नेपालले निर्यात गर्ने प्रमुख देशमा भारत पहिलो स्थानमा छ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा भारतमा मात्र १ खर्ब ४५ अर्बको मालवस्तु निर्यात भएको छ । भारतबाट नेपालले खाद्यन्‍न, मेसिनरी पार्ट पुर्जा लगायतका सामानहरू आयात हुने गरेको छ।

व्यापार घाटा बढी हुने दोस्रोमा अर्को छिमेकी राष्ट्र चीन रहेको छ । चालू आवको ११ महिनामा चीनबाट २ खर्ब ४४ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाउँछ । चीनले नेपाली मालवस्तु भने निकै कम मात्र लिने गरेको छ । साढे २ खर्ब आयात गर्दा चीनतर्फ निर्यात भने जम्मा ७३ करोड ९० लाख रहेको छ । चीनतर्फ नेपालले कृषि जन्य सामाग्रीहरु पठाउने गरेको छ ।

नेपालको तेस्रो बढी व्यापार घाटा रहेको देश अमेरिकासँग रहेको छ । चालू आवको ११ महिनामा ४७ अर्ब ७३ करोडको माल सामान आयात भएको देखिन्छ । अमेरिकाबाट नेपालमा आयात हुनेमा इलेक्ट्रोनिक्स सामान, जिमको सप्लिमेन्टका सामान,  सर्जिकल ग्लब्स, पर्फ्युम लगायतका सामानहरू आयात हुने गरेको छ । त्यस्तै चालू आवको ११ महिनाको तथ्यांक अनुसार नेपालले अमेरिका १५ अर्ब ९७ करोड रूपैयाँ बराबरको निर्यात भएको छ। नेपालबाट अमेरिकामा कृषि जन्य वस्तु, गार्मेन्टस प्रोडक्ट, सुनचाँदीका गहना लगायतका सामान निर्यात हुने गरेको छ ।

अमेरिका पछि नेपाल अर्को उल्लेख्य व्यापार घाटा भएको देश इन्डोनेसिया रहेको छ । इन्डोनेसियासँग ११ महिनामा ४६ अर्ब २१ करोडको व्यापार घाटा रहेको देखिन्छ । लत्ता कपडा, चाँदीका गर गहना, साबुन, विद्युतीय सामाग्रीलगायतका वस्तुहरू आयात हुने गरेको छ । ११ महिनाको अवधिमा इन्डोनेसियाबाट ४६ अर्ब २७ करोडका यस्ता मालवस्तु आयात भएको तथ्यांक छ । नेपालबाट इन्डोनेसिया सोही अवधिमा ५ करोड ९८ लाख बराबरको वस्तु निर्यात भएको छ । नेपालले इन्डोनेसिया अगरबत्ती, म्युजिकल इन्स्टुमेन्ट, जनावरहरू, गहना लगायतका सामान निर्यात गरेको देखिन्छ ।

यस्तै नेपालको उल्लेख्य व्यापार घाटा रहेको अर्को देश युनाइटेड अरब इमिरेट्स रहेको छ । यस देशसँग ११ महिनाको अवधिमा नेपालको व्यापार घाटा करिव ४३ अर्ब ५३ करोड रहेको छ। जसमा ४३ अर्ब ९६ करोड आयात हुँदा निर्यात भने मात्र ४३ करोड रहेको तथ्यांकले देखाउँछ । युनाइटेड अरव इमिरेट्सबाट नेपालले सुन, चाँदी, तामा, लुब्रिकेन्टलगायतका सामान आयात गरेको छ । त्यस्तै नेपालबाट फुटवेयर, पानी, गार्मेन्टस लगायतको सामान निर्यात गर्ने गरेको छ ।


Author

थप समाचार
x