जात्रा-पर्व

पनौतीमा सकियो १२ वर्षे मेला, सकिएन पूर्वाधार निर्माण

इकागज |
फागुन २, २०७८ सोमबार १८:३७ बजे

काभ्रे - पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो ।    
    
जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए । विसं २०७६ देखि नै तयारी थाल्ने निर्णयनगर कार्यपालिकाले गरेको थियो । बाह्र वर्षे मकर मेलाको तयारीका लागि दुई वर्षअघिदेखि भौतिक संरचना निर्माणका काम गर्ने निर्णय गरिए पनि काम भने तीन महिना अघिमात्र सुरु भयो ।    
    
तीन महिनामा नसकिएका काम अहिले पनि मकर मेला लाग्ने त्रिवेणीघाट वरपरको नदी किनारमा अझै अलपत्र छ । यस क्षेत्रमा नगरपालिकाले ढुङ्गा विच्छ्याउने काम सुरु गरेकामा नसकिएर अझै खाली भुइँ देख्न सकिन्छ । किनारमा थुपारिएका ढुङ्गामा अल्झिएर कयौँ भक्तजन पछारिए । कतिलाई सामान्य चोटपटकसमेत लागेको तीर्थ यात्री रञ्जना तिमल्सिनाले बताए।    
    
नगरपालिकाले दुई वर्ष अघिदेखि रु आठ करोड ३५ लाख मेलाका लागि संरचना निर्माण खर्च गरेको छ । यसमध्ये रु सात करोड आठ लाखको पूर्वाधार निर्माण खर्च गरिएको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिए । रु एक करोड २७ लाखको भने रङरोगन एवं मन्दिरलगायत सांस्कृतिकस्थल मर्मत सम्भारको काम गरिएको थियो ।    
    
माघ १ गते मेला सुरु भएपछि ढुङ्गा छाप्ने र रङ लगाउने काम सुरु गरियो । मेला सुरु भएपछि थालिएका यी काम अझै पूरा भएका छैनन् । नदीमा स्नान गर्न राखेको बाँस माघमा पानी परेर बाढी आउँदा बगाएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका परामर्शदाता इञ्जिनीयर सितु सैँजुले बताए । पहिलेदेखि नै निश्चित हुने मेलाको तयारीमा यस्ता कमजोरी भएको पनौतीवासीको गुनासो छ ।    
    
नगरपालिकाले व्यवस्थापन गरेको मेलाका समयमा कोरोनाका कारण विद्यालय बन्द गरिएको थियो । पनौती बजारको श्री पनौती आधारभूत विद्यालयका विद्यार्थीले भने माघभर विद्यालयमै खाजा घर चलाए । यस क्रमममा करिब रु तीन लाख आम्दानी भएको जनाइएको छ । विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकार शैक्षिक भ्रमण जान विद्यालयमै खाजा घर चलाउनुपरेको बताउँछन्।    
    
आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी साना हुन्छन् । तिनलाई प्रयोग गरेर विद्यालयले व्यापार गर्दा पनि नगरपालिका मौन छ । विसं २०७४ मा राज्य पुनःसंरचना भएपछि माध्यमिक तह (कक्षा १२) सम्मका विद्यालयको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई नै दिइएको छ । मेला व्यवस्थाका लागि नगरपालिकाको सचिवालयका संयोजकसमेत रहेका वरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी मेलाका लागि विद्यालय बन्द गर्ने तयारी गरेकामा कोरोनाकै कारण सरकारले विद्यालय बन्द गरेको स्वीकार गर्छन्।    
    
मेलाको सांस्कृतिक महत्व    
    
 पनौती नगरपालिकाको वडा नं ६ र ७ मा पर्ने तीन नदीको संगमस्थल क्षेत्रमा १२ वर्षमा मेला लाग्छ । वडा नं ६ को ब्रह्मायणी मन्दिरमा रहेका दुई खाल्डामा मेला लाग्ने वर्ष पानी भरिन्छ। अरु वर्ष जति गाग्री पानी हाले पनि नभरिने गरेको स्थानीयवासीसमेत रहेका इञ्जिनीयर सैँजु बताउँछन्। 
    
 माघ महिनामा सूर्य मकर राशिमा भएका बेला लाग्ने मेलालाई मकर मेला भन्ने गरिएको हो । मेला कहिलेदेखि चल्यो भन्ने सम्बन्धमा कुनै कागजात वा दस्तावेज पाइएको छैन । यो मेलाको सन्दर्भ भने देवराज इन्द्रसँग जोडिएको किम्बदन्ती पनौतीमा सुनिन्छ। इन्द्रले पापमोचनका लागि १२ वर्षसम्म तपस्या गरेपछि स्थापना गरेको मन्दिरलाई इन्द्रेश्वर भन्ने गरिएको छ। त्यसअघि गौतम ऋषिको श्रापबाट मुक्त भएपछि स्थापना भएको मन्दिरलाई मुक्तेश्वर भन्ने गरिएको छ।    
    
 यी दुवै मन्दिर चतुःषष्टि अर्थात् ६४ ज्योतिर्लिङ्ग मध्येमा पर्छन् । देशभर रहेका ६४ ज्योतिर्लिङ्गमध्ये पनौतीमै चार वटा छन् । इन्द्रेश्वर, विश्वेश्वर, मुक्तेश्वर र भालेश्वर नामका चार ज्योतिर्लिङ्ग रहेको नगरपालिका भएकाले पनि यसको महत्व छ । मकर मेलाका बेला त्रिवेणीघाटमा रहेको वासुकीको शिलामुनि स्नान गर्ने प्राचीन कालदेखिको विधि छ । विधि थाहा नहुनेले भने जतासुकै स्नान गर्ने गरेका छन् । यससम्बन्धी जानकारी पनि राम्रोसँग नदिइएको भन्दै भक्तजनले आपत्ति जनाएका छन्। महत्वपूर्ण तीर्थस्थल भएकामा कतै पनि सूचना पाटीसमेत राखिएको छैन ।    
    
पनौतीमा तीन नदीको सङ्गम भएकाले त्रिवेणीघाट भनिएको हो । लीलावती (रोशी), रुद्रावती र पद्मावतीको सङ्गमस्थललाई पवित्र तीर्थका रूपमा मान्ने गरिएको छ । पद्मावती अर्थात् दुधको खोला भने गोरखनाथ डाँडामुनिको रहेकाले देख्न नसकिने विश्वाससमेत यहाँ पाइन्छ । बत्तीस लक्षणले युक्त भएका मानिसले भने यो खोला र दुधखोला देख्न सक्ने धार्मिक विश्वास छ । अहिलेसम्म यहाँ दुधको खोला देखेँ भन्ने मानिस आएका छैनन् । 

पूर्णप्रसाद मिश्र / रासस



Author

थप समाचार
x