जात्रा-पर्व

राना थारू दिवारी : कूल पूजादेखि गाउँलेलाई भोजसम्म

इकागज |
कात्तिक ३०, २०८० बिहीबार १६:२४ बजे

फाइल तस्बिर

महेन्द्रनगर (कञ्चनपुर)- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का गोविन्दा राना थारू बैलगाडाको पूजा गर्दै भेटिए । बैलगाडाको शिरमा पूजा सकिएपछि रानाले घरको आँगनमा राखिएको मोटरसाइकलको पूजा गरे । उनले यसरी तिहार सकिएको दोस्रो दिन (आज) मात्रै नभइ हरेक वर्ष ‘दिवारी’ मा आफूलाई काम गर्न सहज हुने मोटरसाइकलदेखि बैलगाडासम्मले लामो समय टिकाउ होस् भनेर पुज्न थालेको दशकौँ भइसकेको बताए ।

मुलुकमै कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले दिवारी मनाउँदा कूल पूजादेखि वाहनहरूको पूजा हुँदै आफन्त, गाउँले र छिमेकीलाई भोज खुवाउने प्रचलनलाई आज पनि निरन्तरता दिएका छन् । राना थारू समुदायको परम्परामा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन नरहे पनि पछिल्लो समय परम्परासँगै आधुनिकतासमेत भित्रिएको रानाको भनाइ छ ।


उनले विगतमा परम्परागत शैलीमा मनाइने दिवारीको समुदायमा छुट्टै रौनकता हुने गरेको भएपछि पछिल्लो समय आधुनिकताका कारण मौलिकता रहे पनि रौनकता भने कम हुँदै गएको बताए । 'बाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन नै थिएन भन्थे,' रानाले भने, 'हाम्रो समुदायले तिहारलाई ‘दिवारी’ का रूपमा मनाउने चलन भने अहिले पनि यथावत् छ ।'

राना समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको ज्येष्ठ पुरुष वा महिलाले भगवानको पूजा गर्ने चलन छ ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिका–१ बन्साहका वडा सदस्य रानाराम रानाले राना समुदाय दिवारीले विशेष अर्थ राख्ने बताए । 'एक महिनाअघिदेखि नै घर लिपपोत गरेर सजाउने र राक्षसको नाश होस् भनी घरको ज्येष्ठ महिलाले भगवानको पूजा गर्ने चलन छ,' वडा सदस्य रानाले भने, 'दिवारीको दिन पूजा नहुँदासम्म झाडु लगाउनेदेखि सवारी चलाउनेसम्मको काम रोकिन्छ ।'

यो समुदायले दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाउने गर्छन् ।

'पूजापाठ सकेपछि भाले कुखुरा काटेर खाने चलन रहेको छ,' उनले भने, 'आजको दिन आफन्त, छिमेकीदेखि गाउँमा समुदायका नागरिक दिवारी भात खान बोलाउन घर-घर पुग्ने प्रचलन छ ।' त्यसैगरी स्थानीयवासी बलदेव रानाले भाइटीका पछिल्लो केही वर्षयता अरुको देखेर लगाउन थालेको बताए ।

'अहिले त राना थारू पहिरनमा सजिएर समूह बनाएर देउसी/भैलोसमेत खेल्न थाले,'​ उनले भने, 'उहिले दिवारीको दिन गाउँका जमिन्दारको घरमा गएर भोज खाने र सम्मान व्यक्त गर्ने प्रचलन रहे पनि विस्तार हटेर गयो ।'

बदलिँदो परिवेशसँगै हरेक समुदायका पर्वहरू मनाउने चलनसमेत फेरिन थालेको उनको भनाइ छ । राना थारू समुदायमा अहिले लोकल कुखुराको ठाउँमा ब्रोइलर कुखुरा पूजा गर्न थालिएको बलदेव रानाको भनाइ छ । 'बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वमा समेत अनेक कुराहरू भित्रिए,' उनले भने, 'तर, पनि समुदायले मौलिक रूपमा मनाउँदै आएको दिवारीको प्रचलन छोडेको छैन ।'

हरेक समुदायले आफ्ना मौलिक पर्वको सांस्कृतिक र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन पनि जरुरी रहेको वडा सदस्य रानाको भनाइ छ ।

'दिवारीको कुखुराको बलि दिनेदेखि कूल पूजा गर्नुपर्नेमा युवा पुस्ता जानकार नै नभएको होइन,' उनले भने, 'त्यो त्यति सहजै पुलेर चाडपर्व मनाउने भन्ने कुरो आउँदैन ।' रासस


Author

थप समाचार
x