जात्रा-पर्व

कैलालीकाे रानाथारु गाउँमा सावनको डोलाको रौनक, यसरी मनाइन्छ याे पर्व

दीपक उपाध्याय |
साउन ४, २०८० बिहीबार ७:३३ बजे

कैलाली । रानाथारु गाउँमा यतिबेला सावनको डोलाको रौनक छाएको छ । रानाथारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला (पिङ) राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायका दाजुभाइले दिदिबहिनीहरुका लागि गाउँको चोकचोकमा डोला राखेका हुन् । 

परम्परागत पहिरनमा सजिएर राना थारु महिला आफ्नै मौलिक पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन् । पिङ भने महिलाले राख्दैनन् । सामूहिक भेला हुने सार्वजनिक स्थानमा दाजुभाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन परम्परागत रुपमा चल्दै आएको स्थानीय अगुवा कुलदिप रानाले बताए । उनले दिदीबहिनीले पिङमा मच्चिदै रमाइलो गर्दै परम्परागत मौलिक गीत गाउने बताए ।


चारवटा काठको खामामा डोरीमा काठको फल्याक बाँधेर पिङका रुपमा प्रयोग गरिन्छ ।” पिङ खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा रहेको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्व दिइने गरिएको रानाथारु समुदायका अगुवा नवलसिंह रानाले बताए । दिदीबहिनीले पानीसमेत नपिएर निरहार व्रत बसी दाजुभाइको दीर्घायुको कामना गरी यस अवसरमा तीज मनाउने गर्दछन् ।

निरहार बसेका दिदीबहिनीले प्रसादका रुपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाउने गर्दछन् । गडरौँदा जातको घाँसमा विवाहिताले सात गाँठा र अविवाहितले पाँच गाँठा पारी चाँदीको गहनाले काटेर नदीको बीच भागमा पुगेर बत्तीसँगै विर्सजन गर्ने चलन रहेको छ । बिर्सजन गर्ने बेला दिदी बहिनीले दाजुभाइलाई धन सम्पत्ति, उन्नति र नदीको धारजस्तै दाजुभाइको आयु बढोस् भनी बरदान माग्ने गर्दछन् । जति टाढा घाँस बगेर जान्छ त्यति बढी नै दाजुभाइको आयु बढ्ने विश्वास यस सामुदायमा रहेको अगुवाहरु बताउँछन ।

माइतीलाई भेट्न नपाएका दिदीबहिनी यसै अवसरको सदुपयोग गर्दै भेटघाट गर्न आउने भएकाले यसले वर्षभरिको सुखदुःख साटासाट गर्ने अवसरका रुपमा लिने गर्दछन् । यस अवसरमा घरघरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाले घंघरिया, अंगिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोवास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रुपमा रहेको छ ।

दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँछन् । साउनको शुक्ल तृतीयाका दिन यस पर्वको विधिवत्रुपमा समापन गर्ने गरिन्छ । दाजुभाइले तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिई बोलाएर ल्याउनुपर्ने चलन रहेको छ । परम्परागत राना थारु समुदायका महिलाले मनाउने यो पर्व साउन महिनाभरि मनाइने गरिन्छ ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x