जात्रा-पर्व

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै, यी क्षेत्रमा सवारी आवागमन प्रभावित हुने

इकागज |
चैत १५, २०७९ बुधबार ८:३४ बजे

फाइल तस्बिर

काठमाडौं - आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै छ । चैत्र शुक्ल अष्टमी अर्थात् हरेक वर्ष चैते दसैँको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने गर्छ ।

रथयात्राका लागि सेतो मच्छिन्द्रनाथको रथ तयार गरिसकिएको छ । दरबारमार्गस्थित तीनधारा पाठशालाअगाडि ३२ फुट अग्लो रथ तयार गरिएको छ । 


तीनधारा पाठशालाअगाडिबाट सुरु हुने रथयात्रा पहिलो दिन भोटाहिटी हुँदै असनमा पुगेर रोकिन्छ । दोस्रो दिन रथ हनुमानढोकामा पुर्‍याइन्छ । तेस्रो दिन लगनटोलमा लगी जात्रा सम्पन्न गर्ने परम्परा छ ।

काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने जनाएको छ । सेतो मच्छिन्द्रनाथको रथजात्राको पहिलो दिन आजदेखि आइतबारसम्म सवारी आवागमन प्रभावित हुनसक्ने महानगरले जनाएको हो । 

रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेश निषेध गरिएको महानगरले जनाएको छ । आज (चैत १५ गते) तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ । 

चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ । 

चैत १८ गते (लगन चोक) र १९ गते लगन चोक दलाछि ह्युमत (जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने महानगरले जनाएको छ । 


Author

थप समाचार
x