जात्रा-पर्व

विदेशमा तीज : कतै उन्मुक्त हाँसो, कतै बर्बर आँसु

सुभद्रा धिताल |
भदौ ७, २०७९ मंगलबार २०:५ बजे

काठमाडौँ- पाँच वर्षदेखि कोरियाको कृषि फार्ममा काम गरिरहेकी गोरखाकी पूर्णिमा पनेरुलाई नजिकिएको तीजले खासै छोएको छैन । दैनिक १५ घण्टासम्म काममा खट्नुपर्ने बाध्यता उनीसामु भएकाले नेपालका चाडपर्वका लागि उनले समय छुट्याउन सक्दिनन् ।

‘कोरियामा ‘काम-काम-काम’बाहेक अरु केही पनि हुँदैन । आइतबार र शनिबार मात्रै बिदा हुन्छ,’ उनी भन्छिन्, ‘त्यो बीचमा पर्‍यो भने मात्रै आफ्नो चाडपर्वका लागि थोरै समय निकाल्न सकिन्छ ।’ पनेरु तीज लगायत नेपालका पर्वहरू विदेशमा रहेर पनि मनाउने इच्छा भएपनि कामको चापले फुर्सद नहुने बताउँछिन् ।


‘तीज महिलाहरुका लागि ठूलै चाड हो, तर यहाँ राम्ररी मनाउनै पाइँदैन,’ उनले दुखेसो पोखिन्, ‘त्यतिबेला नेपालमा रहेका साथीसंगी तथा दिदीबहिनीले मनाएको सम्झेर दुःख लाग्छ ।’ समय मिलेको खण्डमा तीजको बेला यहाँ कार्यस्थलमा साहुले दिएको दुःख पीडालाई समेटेर गीत गाउँदै नाच्ने गरेको उनले सुनाइन् ।

कोरियामा कतै कतै शनिबार मात्रै पनि बिदा दिइन्छ । शनिबार मात्रै बिदा पाइने ठाउँमा झनै समय निकाल्न गाह्रो हुने उनको भनाइ छ । ‘बिदाको दिनमा नेपाली चाडपर्व पर्‍यो भने नेपाली खाना बनाउने, नेपालबाट ल्याएको गरगहना कपडा लगाउने जस्ता कार्यहरू गरिन्छ,’ उनी भन्छिन् । 

आफ्नो कला, संस्कृति अनि  देशको माया भए पनि १२-१५ घन्टा काम गरेर ब्रत बस्न नसक्ने उनले सुनाइन् । ब्रत नबसे पनि श्रीमानसँग फोनमा कुराकानी गरेर रमाइलो मान्ने गरेको पूर्णिमाले बताइन् ।

नुवाकोटकी राधा अधिकारी तीन वर्षदेखि कतारको दोहामा बस्दै आइरहेकी छिन् । उनले विदेशमा रहँदा नेपाली चाडपर्वको समयमा खुबै याद आउने गरेको सुनाइन् । ‘अहिले तीज आउँदैछ, गाउँघर एकदमै धेरै याद आउँछ । तीजको समयमा आफ्ना दिदीबहिनीहरूलाई धेरै नै मिस गरिन्छ,’ उनले भनिन् ।

अधिकारीको हप्तामा एक दिन छुट्टी हुन्छ । चाडपर्वका लागि आफ्नो संस्कृतिअनुसार मनाउन समय नमिल्ने उनी बताउँछिन् । ‘सबैको कडा-कडा नै छ ड्युटी, वर्षको एकदिन आउने यो तीज सबैको एकदिन बिदा मिलाएर दर खाने कार्यक्रम गर्छाैं,’ उनी भन्छिन्, ‘सबै जनाले रातो पहिरन लगाएर राम्री भएर फोटो खिच्ने टिकटक बनाउने दर खाने दिदी बहिनीसँग गफ गर्ने हल्ला गर्ने नाच्ने गरेर सन्तोष मनाउँछौं ।’

पूर्णिमा र राधाको जस्तै पीडा छ इजरायलमा रहेकी मञ्जु सापकोटाको पनि । तीजको समयमा नेपालमा बस्ने दिदीबहिनीहरूले रातो साडी लगाएर हिँड्दा उनका आँखा रसाउँछ । किनभने उनी आफू तीजको समयमा पनि काममा घोटिनु पर्छ ।

‘यहाँ राता कपडा अनि गहना लगाएर तीज मान्न सकिने अवस्था नै छैन,’ उनले भनिन्, ‘यहाँको माहोल नै भिन्नै छ । धेरै साथीहरू छौँ तर नेपालमा जस्तो माहोल नहुँदा निकै दुःख लाग्छ ।’ नेपालमा आउने चाडपर्वले विदेशमा बस्नेहरूलाई एकदमै धेरै फरक पार्ने उनको अनुभव छ । तीजमा उनलाई सबैभन्दा धेरै आमाले पकाएको खाने कुराको याद आउँछ । ‘नेपालमा हुने धेरै जसो दिदीबहिनीहरूले झपक्क सारी लगाएर दर खाएको टिकटक फोटो भिडियो हेर्दा त हो हामी कुन भूमरीमा छौं जस्तो लाग्ने रहेछ,’ उनले सुनाइन् ।

उनीहरूभन्दा बेलायतको लन्डनमा बस्दै आएकी रिना आचार्यले भने फरक शैलीबाट तीज मनाउने गरेकी छिन् । उनलाई नेपालभन्दा विदेशकै तीज रमाइलो लाग्छ । आफ्नो तीजको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘विदेशमा प्रायः नेपालको सम्झना आउने भनेको आफ्नो परिवार हो । लन्डनमा हामी साथीहरू एक आपसमा भेटेर रमाउँदै सेलरोटी पकाएर तीजका गीतहरू गाएर तीज मनाउने गरेका छौँ ।’ 

विदेशमा रहेपनि पूजा गर्ने, रातो साडी लगाउने, एकआपसमा गीत गाउने संस्कृति भनेर नेपालीहरूले नभुलेको उनको भनाइ छ । ‘हामी यहाँ निकै रमाइलो गर्छाैं,’ उनी भन्छिन्, ‘नेपालमा रहँदा भन्दा विदेशमै रमाइलो हुन्छ ।’

लण्डनमा यसरी मनाइन्छ तीज
‍- आस्था भट्टराई
म लामो समयदेखि लन्डन बस्दै आएको छु । अहिले म लन्डनको पिटबरो सहरमा बस्दै आएको छु । कामको सिलसिलामा लन्डनको धेरै ठाउँमा घुमेको छु भन्दा फरक नपर्ला । यहाँको धेरै ठाउँको बारेमा मलाई थाहा पनि छ । 

कतै नेपालीको जनसंख्या कम हुन्छ कतै थोरै घर हुन्छ । कतै एक दुई जना मात्र परिवार हुन्छ । फेरि कसैको कामबाट तीजमा विदा मिल्छ कसैको मिल्दैन । कतै मान्छे धेरै हुन्छन् कतै सिमित हुन्छन् । 

कतिवटा तीजमा त मेरो पनि बिदा मिलेको छैन । कामबाट पनि छुट्टी नमिलेको हुनाले एउटा नर्मल तरिकाले घरमै पूजा ब्रत गरेर सामान्य तरिकाले मनाएको छु । अहिले म जहाँ बसिरहेको छु त्यहाँ २ सयजस्तो घर छ । त्यसैले हामी यहाँ धेरै नेपालीहरू छौँ । त्यो कारणले गर्दा एउटा कम्युनिटी बनेको छ । नेपाली सोसाइटीमा त्यहाँ हामीले दरको पार्टी अलग गछौँ अनि त्यसपछि दर हामीले आआफ्नो घरमा अथवा आआफ्नो दिदीबहिनीको घरमा गएर रमाइलो गर्छौँ । मुख्य तीजको दिनमा हामी नजिकै हिन्दूको मन्दिर छ त्यहाँ जान्छौँ । छुट्टी मिल्नेले छुट्टी लिनुहुन्छ । तीज मनाउँछौ कति जनाको कति कारणले नमिल्ने हुन्छ उहाँहरू चाहिँ मेरो यसपालि मिलेन अब अर्को वर्ष रमाउँला भनेर मन बुझाउनुहुन्छ ।
विदेशमा तीज रमाइलो हुन्छ । धेरै दिदीबहिनी भेट हुँदा वरिपरि रातैरातोले सजावट रमाइलो देखिन पाउँदा एकछिन विदेशमा गरेको दुःखहरू सबै भुलिन्छ । त्यसैले गर्दा निकै रमाइलो लाग्छ । एक अर्कालाई भेटिन्छ, फोटो खिचिन्छ । आजकाल टिकटकको जमाना छ । टिकटक बनाइन्छ नेपाली गीतहरू दोहोरिन्छ पुरानो-पुरानो पहिला-पहिला गाइएको गीतहरू तीजको लहरलगायत कोमल वलीको अरु गीतहरू सिन्धु मल्लको गीतहरू सबै दोहोरिन्छ । बाल्यकाल याद आउँछ । त्यसरी गरेर रमाइलो गरेर मनाइन्छ । 

हरेक चाडपर्वमा आफ्नो देशको याद आउँछ त्यहाँको रमाइलो फरक हुन्छ । देशमा अझै रमाइलो हुन्छ धेरै नातेदार धेरै माइतीतिर घरतिर सबै साथीहरू हुन्छन् पुरानो साथीहरू सबै भेटघाट हुन्छ । वातावरण नै फरक हुन्छ । किनमेलदेखि लिएर अन्य कुराहरू एकदमै सम्झना हुन्छ । 
विदेशमा कपडाहरू किन्नुपर्यो भने अगाडिदेखि नै सोच्नुपर्छ । तुरुन्तै किन्न पाइँदैन कहाँबाट मगाउने नेपालबाट कोही आउँदैछ कि सोध्ने । आजकाल चलन त्यस्तै छ लुगा दोहोर्‍याएर लगाइँदैन । त्यसकारण नेपाल र विदेशको तीजमा धेरै फरक छ । जे छ जस्तो छ अब यही रमाउनुपर्छ भन्ने भएको छ । दशैंतिहार जस्तो ठूलो चाडपर्व त हामी छोड्छौँ । पर्वको बेला नेपालको याद खुबै आउँछ । तीज भनेको दिदीबहिनीको लागि हो ।

अब हामी एक अर्कालाई सहयोग गछौँ एक अर्कामा रमाउँछौ । यही खान्छौ सबैभन्दा पहिला बच्चाहरूलाई आफ्नो संस्कार संस्कृति देखाउन पाइन्छ । हामीले आफ्नो बारेमा अलिकति बुझाइदियो भने उनीहरूले आफ्नो संस्कृति पनि बुझ्छन् कि जस्तो लाग्छ । तर अहिलेको समयमा कस्तो भएको छ भने समर होलिडे भएर तीजको बेलामा युकेको सबै स्कुलहरू बन्द हुन्छ । त्यसकारण आफ्नो बच्चाहरूले ममीहरूको सम्पूर्ण क्रियाकलाप देख्न पाउँछन् । उनीहरूलाई आफ्नो कल्चर सिकाउन पाउँदा पनि एकदमै खुसी लाग्छ ।

 

हिन्दु महिलाहरुको मुख्य चाड हरितालिका तीज आँगनमै आइपुगेको छ । धार्मिकसँगै र सांस्कृतिक पक्ष पनि तीजसँग जोडिएको छ । ब्रत बसेर आराधना गर्ने र महिलाले भोगेका दुःख-सुख गीतमार्फत् व्यक्त गर्ने तीजको अर्को पक्ष हो । गाउँमा तीजको रौनक छ । सहरमा पनि छ । गाउँ-सहर दुवैको रोमाञ्चकता भिन्न छ । शैली पनि भिन्न छ । गाउँमा घरलाई तीज लाग्छ । चहलपहल बढ्छ । चेलीबेटीहरू माइती आउँछन् । सहरमा पार्टी प्यालेसलाई लाग्छ । समयसँगै तीजको मौलिकता र मनाउने तरिका फेरिएको छ । तीजप्रतिको दृष्टिकोण व्यापक र विस्तृत हुँदै गएको छ ।

तीजको रौनक नेपालमा मात्रै होइन, विश्वका हरेक कुनामा छ जहाँ नेपाली छन् । कतिले रमाएरै मनाउँछन्, कोही सम्झेर बस्छन् । तीज मनाउने शैली भिन्न-भिन्न छन् । विदेशमा बाध्यता र विवशताबीच मनाइन्छन् चाडपर्व । कतै रमाइलै हुन्छ, कतै सम्झनै सम्झनाले मन पोल्छ । विदेशमा रहेकाहरू भन्छन्, ‘कतै गाउँघरजस्तै हुन्छ, कतै कामको चटारोले फुर्सदै पाइँदैन । सम्झिने बस्ने ।’

विश्वका अधिकांश देशमा नेपाली भाषीले तीज मनाउँदै आएका छन् । अस्ट्रेलियामा तीज झन्डै झन्डै नेपालकै जसरी मनाउन थालिएको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरूले सबैजसो चाडपर्व रमाइलोमा मनाउँछन् । तीजको हकमा सबै जनाको आ-आफ्नो रोजाइ र सोचाइ हुन्छ । जनै पूर्णिमादेखि श्रीकृष्णअष्टमीदेखि तीजलाई स्वागत गर्ने गर्दछन् । दाजुभाइ सबै मिलेर दर खाने गर्दछन् । तीजको भोलिपल्ट भगवान शिवजी राखेर पण्डित राखेर पूजा लगाउने चलने छ । राताम्मे भएका चेलीबेटीले पण्डित बोलाएर शिव लिंगलाई ठूलो चौरमा राखेर पूजा गर्ने चलन हुनाका साथै निराहार ब्रत बस्ने चलन रहेको छ । 

संस्कृतिविद् तथा काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक निर्मलमणि अधिकारी समयानुसार तीज परिवर्तन हुँदै गएको बताउँछन् । तीजको शास्त्रीय मान्यता र परम्परासमेत फेरिएको उनको तर्क छ । ‘वैदिक परम्पराअनुसार धर्मलाई सुदृढ बनाउन तीज प्रारम्भ भएको मानिन्छ । पति-पत्नी दुवै मिलेर ब्रत लिने यो प्रक्रियाबाट सुरु भएको थियो,’ उनी भन्छन्, ‘तर समयक्रममा पुरुषको भूमिका छायामा पर्दै र महिलाको मात्रै प्रखर हुने परिस्थिति बनेको छ ।’

समाजको संरचनामा पुरुष र महिलाले गर्ने भूमिकामा फरक पर्दै गएको उनको बुझाइ छ । महिला-पुरुषबीचमा त्यति धेरै अन्तर नरहेको उनी बताउँछन् । 
 


Author

थप समाचार
x