वातावरण

मंसिरमै फुल्यो गुराँस, लोप भए पैयुँ

इकागज |
मंसिर २७, २०८० बुधबार १५:२७ बजे

फाइल फोटो

मंसिरमै फुल्दै गुराँस, हराउँदै पैयुँ


सुर्खेत - दैलेख गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष भए । उनले थाहा पाउने बेलादेखि नै घर वरपर पैयु्ँका बिरुवा प्रशस्त थिए । जब पैयुँ फुल्न थाल्थ्यो त्यतिबेला वनमा नै ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैँयुका बिरुवाहरु हराउँदै गएको भन्दै भीमबहादुर चिन्ता व्यक्त गर्छन् । पहिले त पैयुँ वनैभरि थियो । पछिल्ला आठ÷दश वर्षदेखि हराउँदै गएको बताउँदै भीमबहादुर भन्छन्, 'कात्तिक लाग्न सुरु भएपछि फुलेर ढकमक्क हुन्थ्यो, यो बिरुवालाई केही रोग लाग्यो कि ? अचेल त देख्नै मुस्किल हुन थाल्यो ।' 


हिन्दू धर्मावलम्बीहरुको विभिन्न धार्मिक कार्यमा समेत पैँयुको प्रयोग गर्ने गरिन्छ । शुद्ध बिरुवा मानिने यो धर्मअनुसार ब्रतबन्ध, पूजाआजा गर्दा मौलो पुज्दा प्रयोग गरिने भए पनि हिजोआज पैयुँ नै हराउन थालेको छ । भीमबहादुर भन्छन्, ‘विवाह गर्दा पैयुँ चाहिने, पूजाआजा गर्दा पैयुँचाहिने, कुल पूजा गर्दा समेत मौलो पैँयुकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो बोट हराउन थालेपछि हाम्रो संस्कृतिमा समेत असर पर्न थालेको छ ।’ 

हेमन्त ऋतुको सुरुआत भएसँगै पैयुँ ढकमक्क फुल्न थाल्छ भने गुराँस फूल वसन्त ऋतुको सुरुवातसँगै फुल्ने गर्छ । हिउँदको सुरुवातसँगै फूलहरु फुल्ने क्रम रोकिएपछि पैयुँ फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फूलको रानी समेत भनिन्छ । यो फूलको रस माहुरीको लागि प्रमुख आहारा मानिन्छ । पैयुँ फुल्न थालेपछि पहाडी क्षेत्रमा गहुँ खेती गर्ने याम सुरु भएको समेत विश्वास गरिन्छ । गुराँस गाउँपालिका–८ का जगत बिसी पनि पछिल्लो पाँच/सात वर्षदेखि पैयुँको बिरुवा हराउँदै गएको देख्दा अच्चमित छन् । 

पैयुँको बिरुवा कसैसँग आयत गरेर ल्याएको बिरुवा नभएको र नेपालको रैथाने वनस्पति मानिन्छ । गुराँस गाउँपालिका–८ का वडा सदस्य महेश केसी पैयुँका बारेमा विगतदेखि नै आफू जानकार भएको बताउँछन् । ‘‘म पैयुँको बारेमा सानोदेखि नै जानकार छु । यो पहाडी क्षेत्रमा पाइन्छ । यसको फूल फुल्ने समयमा माहुरी झुल्ने गर्छ, माहुरीको प्रमुख आहारा रहेको यो बिरुवा हराउँदै गएको छ ।” यसले समग्र पर्यावरणमा समेत असर पार्न सक्ने केसी बताउँछन् । 

पैयुँमात्र होइन, फूल फुल्ने अन्य बिरुवाहरुमा समेत परिवर्तन हुन थालेको छ । यही क्षेत्रमा प्रशस्त मात्रामा पाइने लालीगुराँसलगायतका फूलहरु पनि फुल्ने महिनामा परिवर्तन आउन थालेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार गुराँस फागुनबाट फुल्न सुरु हुन्थ्यो तर अहिले पुस महिनादेखि नै फुल्न थालेको छ । पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि फुल्ने समयमा परिवर्तन आउँदा भविष्यमा ठूलो समस्या पार्न सक्ने वातावरणविद्हरु बताउँछन् ।

गुराँस गाउँपालिकास्थित कालिका माविमा वातावरण विषयका शिक्षक लोकबहादुर खड्का लालीगुराँस फुल्ने समयमा परिवर्तन भएको बताउँछन् । पहिले लालीगुराँस फुल्न थालेपछि फागुन महिनादेखि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो तर अहिले पुस महिनादेखि फुल्न सुरु गर्छ । यसको फूल पनि सानो आकारमा रहेको उनको भनाइ छ ।

नेपालको पैयुँ भनिने जापानको साकुरा अमेरिकाको चेरी भनेर चिनिन्छ । खासगरी अप्रिलमा फुल्नुपर्ने यो फुल विश्व तापमानको कारण मार्चमै फुल्ने क्रम देखिएको अध्ययन अनुसन्धानहरुले देखाएको छ । अमेरिका र जापानमा गरिएको ९० वर्षको समयावधिमा चेरी अर्थात् पैयुँ फूल फुल्ने समयको तथ्यांक हेर्दा अप्रिलमा फूल फुल्ने प्रवृत्ति एक महिना अगाडि नै सरेको देखिएको छ । 

जलवायु परिवर्तनका कारणले वनस्पति प्रणालीमा आएको फेरबदलको घटनालाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका सम्प्रेषण गर्ने गरेका छन् । यसका कारणहरुका बारेमा विश्वका विभिन्न देशमा विभिन्न अध्ययनहरु भइरहेको भए पनि नेपालमा त्यति महत्व दिइएको पाइँदैन । नेपालका पहाडी क्षेत्रमा पाइने पैँयुलगायत वनस्पतिहरु हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनाका कारण जलवायु परिवर्तनको असर हुनसक्ने मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान संकायमा अध्यापन गराइरहेका प्राडा पुष्पराज आचार्य बताउँछन् । 

कर्णाली प्रदेशमा पनि जलवायु परिवर्तनको असरका विषयमा अध्ययन गरिरहँदा वर्षाको स्थिति, तापक्रम अवस्थालगायत अध्ययन गर्दा परिवर्तन पाइएको उनको भनाइ छ । उनी भन्छन्, 'तापमान वृद्धिको असर फूल फुल्ने बिरुवाहरुमा अवश्य पर्छ । पहाडी क्षेत्रमा पाइने गुराँस फूल फुल्नका लागि केही वर्षअगाडि फागुन–चैतमा तापक्रम उपयुक्त हुन्थ्यो भने अहिले पुस–माघमा नै उपयुक्त हुन थाल्यो, त्यही भएर नै गुराँस फूल फुल्ने समय परिवर्तन भयो, यसको अर्थ के हो भने अहिले बढ्दो तापमानका कारण जलवायु परिवर्तन भइरहँदा त्यसको असर वनस्पतिमा पनि पर्न थाल्यो ।'

नेपालमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा खासै चासो नदिएको भन्दै उनले कर्णालीमा त झनै यसमा कुनै खोज अनुसन्धान नभएको डा आचार्य बताउँछन् । “जलवायु परिवर्तनले पुर्‍याएको असरका विषयमा त्यति अध्ययन अनुसन्धान भएको छैन । तीनै तहका सरकारले चासो दिएर खोज अनुसन्धान र यसले पु¥याउने असर न्यूनीकरणमा लाग्नुपर्छ ।”

कर्णाली प्रदेश सरकारले जलवायु परिवर्तनको असरको विषयमा खासै अनुसन्धान गरेको पाइँदैन । बुट्यानहरुमा परेको प्रभावको विषयमा कुनै खोज अनुसन्धान गर्न खासै त्यस्तो योजना नबनेको मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने बताउँछिन् । 'प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट केही बिरुवाहरुको संरक्षणका लागि काम त भएका छन् तर पैयुँलगायत अन्य बिरुवाहरुमा परेको असरका विषयमा त्यस्तो खोज अनुसन्धान भएको छैन ।' आगामी वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने उनको प्रतिबद्धता छ ।

पैयुँ संरक्षण, वृक्षारोपण तथा गुराँस संरक्षणमा सरकारले केही प्रयास गरे पनि पर्याप्त भने नभएको विज्ञहरु बताउँछन् । पैयुँ नेपालका पहाडी क्षेत्रका वनहरुमा आफैँ उम्रिने बिरुवा भए पनि अहिले लोप हुन थालेपछि संरक्षणका लागि नेपाल कृषि बीउबिजन केन्द्रले यस बिरुवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्न थालिएको ३० वर्षदेखि कृषि, वन क्षेत्रमा काम गर्दै आएका रामप्रसाद गौतम बताउँछन् । समुन्द्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ, गुराँसलगायत बिरुवा पाउने गर्छ ।
रासस
 


Author

थप समाचार
x