ऊर्जा

राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ निर्माण सुरु

इकागज |
पुस २७, २०८० शुक्रबार २०:४६ बजे

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ (बालुवा थिग्राउने पोखरी) निर्माण सुरु भएको छ । 

राहुघाटको प्रवर्द्धक प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर बनाउन थालिएको हो । 


झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात मिटर अग्लो र पाँच मिटर फराकिलो ‘अण्डर सुलुसबाट खोला डाइभर्सन गरेर दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन थालिएको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिए । 

'अण्डर सुलुस र स्पिल वे निर्माण सकेर डिसेन्डर बनाउन सुरु भएको छ,' उनले भने, '३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण अन्तिम चरणमा पुगेको छ ।' राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ । 

विसं २०७४ मङ्सिरमा रु छ अर्बमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोशियटले हालसम्म ६५ प्रतिशत काम गरेको प्रवर्द्धक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । आयोजनाको ५० प्रतिशत वित्तीय प्रगति भएको छ । 

सुरुङ ९० प्रतिशत र विद्युतगृह निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । छ किलोमिटर दुई सय मिटर सुरुङमध्ये पाँच किमी छ सय मिटर सुरुङ निर्माण सकिएको छ । सुरुङबाट आउने पानीलाई रघुगङ्गा-३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई ‘फिनिसिङ’ गर्ने काम अन्तिम चरणमा पुगेको छ । 

पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण सकिएको छ । विद्युतगृह निर्माणस्थलबाट ‘भर्टिकल प्रेसर साफ्ट’सँग जोड्ने तीन सय २९ मिटर ‘वटम प्रेसर साफ्ट’ को सुरुङ यसअघि नै जोडिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये चार सय ५० मिटर सुरुङ निर्माण सकिएको छ ।

विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले विद्युतगृहका उपकरण जडान गर्न थालेको छ । 

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ । रासस


Author

थप समाचार
x