ऊर्जा

नियामक मण्डलको आठौं बैठक पोखरामा सम्पन्न

पञ्चेश्वर डीपीआरको जिम्मा विज्ञ टोलीलाई, तीन महिनामा टुंग्याउने सहमति

धनबहादुर गुरुङ |
असार २२, २०८० शुक्रबार १७:२५ बजे

पोखरा- नेपाल–भारत पञ्चेश्वर विकास प्राधिकरणको नियामक मण्डल (गभर्निङ बडी) को बैठकले आगामी तीन महिनाभित्र पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंगो लगाउने सहमति गरेको छ ।

नेपाली पक्षको नेतृत्व गरेका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले आफ्ना भारतीय समकक्षीलाई डीपीआर टुंगो लगाउने दिशातर्फका उपक्रमहरूमा सहमत गराएका हुन् । ती उपक्रमहरूमा विज्ञ टोलीको म्याद थप र तीन महिनाभित्र डीपीआर तयार हुने, पञ्चेश्वर विकास प्राधिकरणको मुख्यालय महेन्द्रनगरमा स्थायी रूपमा कर्मचारी परिचालन र विज्ञ टोलीको म्याद थप रहेका छन् । 


आज शुक्रबार पोखरामा सम्पन्न मण्डलको आठौं बैठकले पञ्चेश्वरको डीपीआर तीन महिना ननाघ्ने तयार गर्न विज्ञ टोलीको म्याद आगामी ६ महिना थप गर्ने र उक्त विज्ञ टोलीले तीन महिनाभित्र डीपीआर तयार गर्नुपर्ने गरी सहमति भएको नेपाली पक्षका टोली नेता तथा ऊर्जा सचिव घिमिरेले इकागजलाई बताए ।

सचिव घिमिरेका अनुसार उक्त विज्ञ टोलीको बैठक अबको दस दिनभित्र बस्नेछ । म्याद सकिइसकेको विज्ञ टोलीलाई ६ महिनाको कार्यादेश अवधि दिइए पनि तीन महिनाभित्र डीपीआर टुंगो लगाउने गरी सहमति भएको सचिव घिमिरेले जानकारी दिए । 

नेपाल र भारतबाट १५/१५ जनाको विज्ञ टोली रहेकोमा अबदेखि १०/१० जनाको रहने छन् । ‘विज्ञ टोलीले भनेजस्तै पञ्चेश्वरको डीपीआर (मस्यौदा) लाई यसअघि नियुक्त भारतीय परामर्शदाता वाप्कोसले पनि त्यो मस्यौदालाई समानान्तर रूपमा परिमार्जन गर्दै लैजानेछ,’ घिमिरेले भने, ‘विज्ञ टोलीले नै पञ्चेश्वर आयोजना कार्यान्वयन योजना बनाउनेछ ।’

विगत लामो समयदेखि महेन्द्रनगरस्थित पञ्चेश्वर विकास प्राधिकरण कार्यालयमा कर्मचारी नपठाएकै कारण पञ्चेश्वरको काम हुन नसकेको मनन गरी दुवै पक्षले यी जूलाई (साउन १५ गते) भित्र स्थायी रूपमा कर्मचारी, प्राविधिक परिचालन गर्ने पनि सहमति भएको छ । 

‘यी सबै उपक्रम पञ्चेश्वरको डीपीआर तीन महिनाभित्र पूरा गर्नका लागि हुन्,’ सचिव घिमिरेले भने ।

बैठकले पञ्चेश्वर विकास प्राधिकरणको नियामक मण्डलको बैठक सहअध्यक्षको निर्णयमा आवश्यक परेका बखत बस्ने पनि सहमति गरेको छ । यसअघि यो मण्डलको बैठक, ६/६ महिनामा बस्ने अभ्यास थियो । तर, २०७६ मंसिरमा नयाँ दिल्लीमा बैठक बसेयता पोखरा बैठक पहिलो हो ।

गत जेठ १७–२० गते प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा पञ्चेश्वरको डीपीआर तीन महिनामा तयार गर्ने उद्घोष भएको थियो । भारतीय प्रधानमन्त्रीले नै तीन महिनाभित्र डीपीआर टुंगो लगाउने उद्घोष गरेबमोजिम उसले नियामक मण्डलको बैठकमा सहभागिता जनाएको हो ।

बैठकमा भारतीय पक्षको नेतृत्व जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले गरेका थिए । बैठक हिजो बिहीबार पोखरामा सुरु भएको थियो ।
 


Author

थप समाचार
x