ऊर्जा

ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक : इप्पान

इकागज |
जेठ २२, २०८० सोमबार १६:४९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले स्वागत गरेको छ । 

साेमबार काठमाडौँ पत्रकार सम्मेलन गर्दै इप्पानले भारत भ्रमणका क्रममा आर्थिक कुटनीतिमा केन्द्रित गरी ऊर्जा व्यापारका लागि महत्वपूर्ण पहल गरेको भन्दै प्रधानमन्त्रीप्रति आभार प्रकट समेत गरेको छ ।


इप्पानले प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा क्षेत्रमा सकारात्मक सञ्चार भएर लगानीको वातावरण बनेको महसुस भएको भन्दै विगत केही वर्षदेखि रोकिएर रहेका करिब १० हजार ५ सय मेगावट क्षमता भन्दा बढीका आयोजनाहरूको विद्युत् खरिद बिक्री तत्काल खुलाउनका लागि ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई विशेष निर्देशन दिनका लागि माग गरेको छ ।

पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले स्वदेशमा अधिकतम विद्युत् खपतका साथै विद्युत् व्यापारका लागि सरकारले पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रका विषयमा भारतसँग भएको समझदारीले मुलुकको ऊर्जा उत्पादन र व्यापार बढ्ने विश्वास गर्दै यसमा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

त्यस्तै इप्पानले २१ औं वार्षिक साधारणसभा जेष्ठ ३२ गते काठमाडौँमा हुने जनाएको छ ।


Author

थप समाचार
x