रोजगारी

साउदी अरबका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग, नहटाए आन्दोलनको चेतावनी

इकागज |
पुस २३, २०८० सोमबार १७:३४ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने व्यक्तिका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग गरेको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले साउदी अरब दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरी अनिवार्य गरेको बायोमेट्रिक प्रणाली कूटनीतिक पहल गरी हटाउन माग गरेको हो । संघका अध्यक्ष राजेन्द्र भण्डारीले बायोमेट्रिक प्रणाली साउदी अरबमा अनिवार्य नभएपनि नेपाली कामदारलाई अनावश्यक आर्थिक भार बोकाउन गरिएको उक्त प्रणाली हटाउनुपर्ने बताए । संघले वैदेशिक रोजगारीमा जाने कामदारलाई लागू गर्न खोजिएको अनिवार्य परीक्षाको औचित्य नहेरी भार बढाउने हुँदा खारेज गर्नुपर्ने माग राखेको छ । त्यस्तै निशुल्क तालिमका नाममा बनाइएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउन पनि महासंघले माग गरेको छ भने मानव तस्करी र  विचौलियालाई फाइदा पुग्ने गरी प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृती बन्द गरी संलग्नमाथि छानबिन गरि कारबाही हुनुपर्ने अध्यक्ष भण्डारीले बताए । उनले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन खर्च शीर्षक निर्धारण गर्नुपर्ने उल्लेख गरे । 


संघले वैदेशिक रोजगार ऐन २०६४ लाई समयसापेक्ष परिमार्जन गर्न संघसंग छलफल गरी मन्त्रालयले यथाशीघ्र कार्य प्रारम्भ गर्नुपर्ने जनाएको छ । आफ्ना मागहरू राज्यकातर्फबाट सम्बोधन नभए आन्दोलनको घोषणा गरी कामदार पठाउन असक्षम रहने चेतावनी संघले जनाएको छ ।


Author

थप समाचार
x