स्थानीय तह निर्वाचन २०७९

को हुन् हेटौंडाको मेयर बनेकी मीनाकुमारी लामा ?

सरिता दाहाल |
जेठ ७, २०७९ शनिबार ६:० बजे

फाइल तस्‍बिर

मकवानपुर- स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान गरिएको एक साता बितेको छ । यसबीचमा नेपालभरका ७५३ मध्ये हालसम्म ६८३ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ । विजेता घोषणा गरिएकाअनुसार अहिले कांग्रेस पहिलो पार्टी बनेको छ ।

यो निर्वाचनमा गए राति हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक गरियो । मेयरमा विजेता भइन् मीनाकुमारी लामा । गठबन्धनको साझा उम्मेदवार उनी एकीकृत समाजवादीकी नेतृ हुन् । उनी कलम चिन्हबाट चुनावी स्पर्धामा थिइन् । चुनावी परिणामले हेटौंडाकाे पहिलो महिला मेयरको रूपमा  लामालाई पाएको छ । संघीयता कार्यान्वयनपछिको दोस्रो स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उनले सत्ताधारी गठबन्धनको तर्फबाट हेटौंडाको मेयर जितेकी हुन् । 


लामाले २३,०७५ मत ल्याई विजयी भइन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार अनन्‍तप्रसाद पौडेललाई २,१६७ मतान्तरले पराजित गरेकी हुन् । पराजित अनन्‍तप्रसाद पौडेलले २०,९०८ मत ल्याएका छन् । यसअघि लामा र अनन्त एकै पार्टीमा थिए । एमाले फुटपछि मीना एकीकृत समाजवादीतिर लागेकी  हुन् । लामाले पराजित पौडेललाई राजनीति गुरुसमेत मान्दछिन् ।

बुवा शुक्रवीर लामा र आमा सीतादेवी लामाको जेठी छोरीको रुपमा २०३३ साल पुस २७ गते हेटौंडा ११ नवलपुरमा जन्मिएकी मीनाको बाल्यकाल अवस्था सामान्य साधारण रुपमा बित्यो । 

२०४६ सालबाट विद्यार्थी जीवनबाट नै राजनीति यात्रा सुरु गरेर हेटौंडा ११ नवलपुरस्थित त्रिभुवन माविबाट एसएलसी गरेपछि मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए तथा हरीखेतान बहुमुखी क्याम्पस वीरगन्जबाट एल.एल.बी सम्मको अध्ययन गरी राजनीतिक यात्रामा अगाडि बढिन् मीना । 

२०५२ मा अनेरास्ववियू मकवानपुरको जिल्लाको कोषाध्यक्ष भई काम गरेर राजनीतिसँगै अध्ययनलाई अगाडि बढाउँदै २०५४ सालमामा हेटौंडा १ का सुनकुमार लामासँग विवाह भयो । 

श्रीमान् तथा घरपरिवारको साथ सहयोगबाटै दुई सन्तानकी आमा मीनाले अध्ययन, राजनीति र पारिवारिक जीवनलाई सफलतापूर्वक चलाएर राजनीतिसँगै अघि बढिन् । यही सिलसिलामा उनी २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उप–सचिव र विद्यार्थी इन्चार्ज भई जिम्मेवारी बहन गरिन् । 

२०७१ सालमा अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिव २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष भएको अनुभव उनले संगालिन् ।

लामा राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छिन् । बालविकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव बटुलेकी उनी सन् २०१८ देखि लायन्स क्लब अफ पाथिभराको सदस्य भइन् । लामाले हालसम्म चीन, भारत र कोरिया लगायतका देशको भ्रमण गरिसकेकी छन् । 

उनले नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । पार्टी विभाजन भएसँगै उनले नेकपा एकीकृत समाजवादी रोजेकी हुन् । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको हो ।
उनै लामा अहिले हेटौंडाको मेयर पदमा निर्वाचित बनिन् ।

याे पनि पढ्नुहाेस

'राजनीतिक गुरु'लाई हराउँदै मीना बनिन् हेटाैंडाकाे पहिलाे महिला मेयर

हेटौंडाको पहिलो महिला मेयर बन्दै मीना

हेटौँडामा ३७२३ मत गन्न बाँकी, समाजवादीकी लामा एमालेका पौडेलभन्दा २०७७ मतले अगाडि

हेटौंडामा लामाले तोड्लिन् एमालेको 'ह्याट्रिक' साख ?


Author

थप समाचार
x