शिक्षा

केन्द्राध्यक्ष र गार्डकै सहयोगमा सिरहाबाट प्रश्नपत्र बाहिरियाे

इकागज |
चैत १६, २०८० शुक्रबार १५:४६ बजे

 सिरहा - सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र परीक्षा संचालन भएको १० मिनेट नबित्दै बाहिरिएको पाइएको छ।

जिल्लाको विभिन्न परीक्षा केन्द्रबाट परीक्षा संचालन भएको १० मिनेट नबित्दै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो । परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिरिएको थियो। 


गोलवजार नगरपालिका ८ स्थितको श्री जनता नमुना माध्यमिक चोहर्वामा मोबाइल लिएर भित्र पसेका विद्यार्थीहरूले नै सामाजिक संजाल ह्वाटस्एप मार्फत परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको स्थानीयहरू बताउँछन्।

यस परीक्षा केन्द्रमा ४ वटा निजी विद्यालय भिजन एजुकेश्नल एकेडेमी गोलवजार, सिरहा पब्लिक स्कुल नयाँ चौक चोहर्वा, चन्द्र ज्योती सेकेन्ड्री बोडिङ स्कुल रामनगर मिर्चैया, सिद्धान्त शिक्षा निकेतन कर्जन्हा र सामुदायिक विद्यालय श्री जनता माध्यमिक विद्यालय डण्डाको परीक्षा केन्द्र रहेको छ । 

त्यसैगरी, गोलवजार नगरपालिका ४ स्थितको जनता माध्यमिक माध्यमिक विद्यालय (प्राविधिक) परीक्षा केन्द्रबाट मोबाइलसहित एक जना छात्रालाई नियन्त्रणमा लिएको छ। सुखिपुरको श्री रजै जनक माध्यमिक विद्यालय,बल्हीका एक जना विद्यार्थीलाई परीक्षा हल भित्र मोबाइलबाट प्रश्नपत्र बाहिर पठाउने क्रममा प्रहरीले पक्राउ गरेको हो। 

शारदा माध्यमिक विद्यालय रामपुर विर्ताबाट एक जना नक्कली विद्यार्थी फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) संतोष अचार्यले जानकारी दिए । उनले नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेको अवस्थामा स्थानीय अर्जुन महरालाई नियन्त्रणमा लिएको बताए ।

‘माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रो दिन जिल्लाका ४ वटा परीक्षा केन्द्र कल्याणपुरको रामदुलारी माध्यमिक विद्यालयबाट मोबाइल प्रयोग गरिरहेका ८ जना विद्यार्थीलाई परीक्षा केन्द्र बाहिर निकालिएको छ’, उनले भने । श्री लनकौ मावि नहरा रिगौलबाट परीक्षा हलमा अत्यधिक मोबाइल फेला परेपछि दुई जना गार्डलाई बाहिर निकालिएको प्रमुख आचार्यले बताए । 

जिल्ला भरिमा ४३ वटा परीक्षा केन्द्रमा ७ जना नेपाल प्रहरी र ७ जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। ६ सय दुई जना प्रहरीलाई परीक्षा केन्द्र र १ सय जना सुरक्षाकर्मीलाई रिजर्भमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी आचार्यले बताए । 


Author

थप समाचार
x