शिक्षा

आजदेखि एसईई : पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै

इकागज |
चैत १५, २०८० बिहीबार ६:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा शुरु हुँदैछ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।


बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् ।

कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

त्यस्तै परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।


Author

थप समाचार
x