शिक्षा

अभिभावकलाई म्यासेज- 'असहज परिस्थितिले विद्यालय आज बन्द छ'

इकागज |
मंसिर ७, २०८० बिहीबार ९:२४ बजे

काठमाडौँ- आज काठमाडौँका प्राय सबै विद्यालय बन्द भएका छन् । स्कूल/कलेजले अभिभावकलाई फोन र म्यासेज गरेर विद्यालय बन्दको सूचना दिएका छन् । 

आज काठमाडौँमा दुई समूहले छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दैछन् । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले तीनकुनेमा र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज ललितपुरको बल्खुमा कार्यक्रम गर्दैछ ।


दुई समूहले कार्यक्रम गर्ने भएकाले ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर विद्यालय बन्द गरेको एक नीजि विद्यालयका प्रधानाध्यापकले बताए । उनका अनुसार विद्यार्थी लिन गएको बस लामो समय जाममा पर्न सक्ने र झडपको स्थितिसमेत आउन सक्ने कुरालाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको हो ।

'आदरणीय अभिभावकहरू असहज परिस्थितिका कारण आज विद्यालय बन्द रहनेछ' एक विद्यालयले अभिभावकलाई यसरी म्यासेज पठाएको छ ।


Author

थप समाचार
x