शिक्षा

बीचैमा पढाइ छाड्ने प्रवृत्ति अन्त्यका लागि विद्यालयद्वारा साइकल वितरण

इकागज |
असोज २५, २०८० बिहीबार २१:२६ बजे

मकवानपुर- मकवानपुरको एक विद्यालयले विद्यार्थीलाई नियमित गराउन साइकल वितरण गरेकाे छ । मनहरी गाउँपालिकाको पशुपति माविले विद्यार्थीलाई विद्यालयले आउने वातावरण बनाइराख्न र बीचैमा पढाइ छाड्ने प्रवृत्ति अन्त्यका लागि साइकल वितरण गरेको हाे ।

मनहरी-४ मसिनेस्थित पशुपति माविले कक्षा ६ देखि १० सम्मका १ सय १५ जना विद्यार्थीलाई साइकल प्रदान गरेको हो । विद्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई साइकल वितरण गरेको हो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरेकी थिइन् ।


साइकल वितरण गर्दै मन्त्री मोक्तानले विद्यालयले विद्यार्थीका लागि साइकल वितरण गरेर प्रशंसनीय काम गरेको बताइन् । साइकलले दैनिक घण्टाैं हिँडेर विद्यालय आउन बाध्य विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न र बीचमै छाड्ने समस्या कमी ल्याउने उनकाे भनाइ थियाे । उनले ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी भर्नादर बढाउने र टिकाई राख्नका लागि प्रदेश सरकारले पनि सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।

बनकरिया समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा साइकल विवरणले विद्यालय आउजाउ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेमा आशावादी रहेको प्रधानाध्यापक भानुभक्त आचार्यले बताए । प्रधानाध्यापक आचार्यका अनुसार वितरण गरिएकाे साइकल मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयकाे आर्थिक सहयोगमा खरिद गरिएकाे हाे । प्रधानाध्यापक आचार्यले ४ नम्बर वडाका अध्यक्ष प्रकाश थापाको अगुवाइमा प्राप्त १० लाख रुपैयाँ बजेटबाट साइकल वितरण गरिएको बताए ।

विद्यालयले बस सञ्चालन गर्ने तयारी गरे पनि बस सञ्चालन गर्ने स्रोत सुनिश्चित हुन नसकेपछि हाललाई साइकल वितरण गरिएकाे विद्यालय व्यवस्थापन अध्यक्ष माधव गौतमले बताए । विद्यालयले साइकल वितरण सम्बन्धी कार्यविधि बनाएर विव्यस बैठकबाट पारित गरेको उनले जानकारी दिए ।


Author

थप समाचार
x