शिक्षा

इस्लिङ्टन कलेजमा तीन दिने ‘फ्युचरामा २०२३’ प्रदर्शनी

इकागज |
भदौ ६, २०८० बुधबार १२:५३ बजे

काठमाडौँ – कमलपोखरीस्थित इस्लिङ्टन कलेजको आयोजनामा तीन दिने साइबर सुरक्षासम्बन्धी प्राविधिक ‘फ्युचरामा २०२३’ प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा कलेजले आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न उक्त कार्यक्रम सम्पन्न गरेको हो।

बिहीबारदेखि सुरु प्रदर्शनीमा इस्लिङ्टन, इटहरी इन्टरनेसनललगायत विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रकारका इन्टरनेट अफ थिङ्स (आईओटी) सँगै साइबर सुरक्षा र भिडिओ एनिमेसनसम्बन्धी जानकारीमूलक विषयवस्तु अवलोकनका लागि राखिएका थिए ।


कार्यक्रममा प्राविधिक विकासलाई दर्शाउने एआई र रोबोटिक्स, वाकिङ पियानो, ड्रोन र गोकार्टजस्ता बुथहरू राखिएको थियो। लाइभ डेमोमा ३० औँ शताब्दीको कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसनलगायत समावेश थिए ।

प्रदर्शनी टेक्नोलोजीमा मात्रै केन्द्रित नभई प्रविधि र दीगो व्यापारको जटिल प्रतिच्छेदनलाई पनि सम्बोधन गरेको थियो। कार्यक्रमले स्थानीय नर्सरीबाट प्राप्त बिरुवाहरू बाँडेर खेती गर्न सहभागीहरूलाई प्रोत्साहन दियो। प्रदर्शनीमा एउटा उल्लेखनीय हाइलाइट बग बाउन्टीमार्फत् प्राविधिक विशेषज्ञहरूले साइबर सुरक्षा र जोखिम परीक्षणमा अन्तर्दृष्टि साझा गरिएको थियो।

प्रदर्शनीमा उद्यमशीलता र आईटी क्षेत्रको भविष्यका लागि अन्तर्क्रिया पनि गरिएको थियो।

आफूले चलाउने मोबाइलमा कुनै पनि एप इन्स्टल गर्ने क्रममा अधिकांश प्रयोगकर्ताले एउटै गल्ती गर्छन्।प्रयोगकर्ताहरू एपले एक्सेस मागेमा थिच्ने गल्ती गर्छन्। त्यसैमध्येका एक हुन् आर्यन राई। कालिकास्थानको एस्फोडेल पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत आर्यन राईले अबदेखि  हतारहतार अलाउ थिच्नु गल्ती हुने बुझेका छन्।

‘हामीले अलाउ थिचेपछि ती एपले हाम्रो मोबाइलको क्यामरा, फोटो, कन्ट्याक्ट, इमेल, वालेट, क्यालेन्डर सबैमा एक्सेस बनाउँदा रहेछन्,’ आर्यन भन्छन्, ‘अथेन्टिक एपलाई मात्रै र आफूलाई दिन मन लागेको कुरामा मात्रै अलाउ गर्नुपर्ने रहेछ।’ जुनसुकै एपलाई मोबाइलको क्यामरा तथा फोटामा अलाउ गर्दा ह्याक गरिदिने डर हुने उनले बताए।

आर्यनका साथी सागर चौधरी र समिक भण्डारी चाहिँ मोबाइलको क्यामरा ह्याक भएको छ कि छैन भनेर जाँच्ने तरिका थाहा पाएकोमा खुसी थिए ।

आईटी र व्यवसायिक शिक्षामा उत्कृष्टताका लागि प्रख्यात इस्लिङटन कलेज काठमाडौंले पुनः नव प्रवर्तनप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गरेको थियो। विद्यार्थीहरूले प्राविधिक कार्यक्रममा उत्साहका साथ सहभागी भएका थिए।


Author

थप समाचार
x