शिक्षा

स्थानीय पाठ्यक्रम लागू, 'हाम्रो मौलापुर' पुस्तक विद्यार्थीको हात हातमा

इकागज |
भदौ ३, २०८० आइतबार १९:९ बजे

रौतहट- रौतहटको मौलापुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम अन्तरगत ‘हाम्राे मौलापुर' पुस्तक लागू गरेको हो ।

विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेका नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी लागू गरिएको मौलापुरका नगर प्रमुख रीनाकुमारी साहले बताइन् ।


'स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, आनीबानी तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार, संस्कृति तथा रहनसहन, योग शिक्षा, अतिथि आदर सत्कार लगायतका विषयवस्तु समेटेका छौँ,' नगरप्रमुख साहले भनिन् ।

उनले पाठ्यक्रममा समग्र मौलापुरभित्रको आर्थिक, सामाजिक, भौतिक तथा, आचरण, बानी ब्यहोरा, जनसाङ्ख्यिक अवस्थाका बारेमा जानकारी दिएको बताइन् । विद्यार्थीलाई कक्षा कोठाभित्र पढाएर मात्रै नहुने भएकाले व्यवहारिक सिकाइ प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले स्थलगत सिकाइलाई स्थानीय पाठ्यक्रममा अनिवार्य गरिएको उनकाे भनाइ छ ।

मौलापुर नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र साहले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान प्रदान गर्ने र अनिवार्य सीप सिकाउने गरी स्थानीय पाठ्यक्रमका विषयवस्तु तयार पारिएको बताए ।

उक्त स्थानीय पाठ्यक्रमको लेखन कार्य हेमप्रसाद साहले गरेका हुन् । स्थानीय तहमा अध्ययन–अध्यापन नगरभित्रका सबै सामुदायिक विद्यालयले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि अनिवार्य विषय बनाएर एक सय पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेका छन् ।

पाठ्यक्रम लागू भइसकेपछि आगामी दिनमा व्यावहारिक सिकाइको सिलसिला नियमित रूपमा नै सञ्चालन हुने साहले बताए । नगरपालिकाले राष्ट्रिय पाठ्यक्रममा आधारित हुँदै स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्य गरिरहेको शिक्षा संयोजक राजेन्द्र साहको भनाइ छ ।


Author

थप समाचार
x