शिक्षा

सामुदायिक विद्यालयमा शैक्षिक सुधारको योजना बनाइँदै

इकागज |
साउन २६, २०८० शुक्रबार २०:३७ बजे

अर्घाखाँची- मालारानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने भएको छ । 

गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका प्रधानाध्यापक, पालिकाका कर्मचारी एवं जनप्रतिनिधिबीच अन्तरसंवाद सम्पन्न गरिएको छ  ।
 
पालिकाभित्र रहेका सामुदायिक विद्यालयको समस्या तथा विद्यालयले गर्नुपर्ने कार्य र पालिकाले खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरसंवाद भएको गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले बताए । 'विद्यालयको अवस्थाका बारेमा जानकारीसँगै आगामी दिनको कार्ययोजनासमेत निर्माण गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नियमित रूपमा छलफल गर्नेगरी प्रधानाध्यापकसँग बैठक सम्पन्न गरेका छौँ,' उनले भने ।
 
वडास्तरमा रहेको शिक्षा समितिले कार्यतालिका नै बनाएर काम गर्नेगरी निर्णय भएको पालिकाका सामाजिक विकास समितिका संयोजक तिलक मिश्रले बताए । उनले भने, 'कक्षा ५ को उपलब्धि परीक्षण भदौको पहिलो हप्ताभित्र गर्ने, वडा शिक्षा समितिले केन्द्र निर्धारण र परीक्षा व्यवस्थापन गर्ने, प्रश्नपत्र कार्यालयले निर्माण गर्ने र विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्लेषण गर्ने, प्रधानाध्यापकको बैठक र अभिभावकबीच अन्तरक्रिया कार्यक्रम भदौको पहिलो हप्ताभित्र वडा शिक्षा समितिले गर्नेगरी निर्णय भएको छ ।'


पालिकाभित्रबाट एसइई परीक्षाको नतिजाको समेत समीक्षा गरी आगामी दिनमा नतिजा राम्रो बनाउन सरोकारवालाको भूमिकाका विषयमा छलफलसँगै कार्ययोजना निर्माण भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले जानकारी दिए । 

उनले भने, 'यसपटक गाउँपालिकाका १४ विद्यालयबाट एसइई परीक्षामा पाँच सय ५४ विद्यार्थी सहभागी भएकामा प्राप्त भएको नतिजाको विश्लेषण गरी आगामी दिनमा सुधारका योजनासमेत अगाडि बढाउनुका साथै प्रधानाध्यापकलाई विद्यालयको शैक्षिक, प्रशासकीय र व्यवस्थापकीय कार्यकुशलता प्रदर्शन गर्न उत्प्रेरित गरेका छौँ ।'

पालिकाले स्थानीय पाठ्यक्रमको स्रोत सामग्री निर्माण गर्नका लागि कार्यदलसमेत निर्माण गरेको पालिकाका शिक्षा अधिकृत रमेश पन्थीले बताए । 'पालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण सम्पन्न गरी कार्यान्वयन गर्ने चरणमा रहेकामा यस वर्ष उक्त पाठ्यक्रम कार्यान्वयनमा सहजीकरणका लागि स्रोत सामग्री निर्माणको तयारी थालिएको छ, पालिकाकाभित्र रहेका ३३ बालविकास केन्द्रमा स्मार्ट टिभीबाट अध्यापन गराउने कार्यको सुरुआत तुरुन्तै गर्दैछौँ,' उनले भने ।  


Author

थप समाचार
x