शिक्षा

पाठ्यक्रमलाई प्रयोगात्मक बनाउन विज्ञको सुझाव

इकागज |
जेठ ६, २०८० शनिबार ६:३६ बजे

लुम्बिनी - विश्वविद्यालयमा अध्ययन हुने पर्यटन क्षेत्रको पाठ्यक्रमलाई प्रयोगात्मक बनाउन विज्ञहरूले सुझाव दिएका छन् । सेवा क्षेत्रमा खपत हुने जनशक्ति उत्पादनका शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक बनाउन सरोकारवालाले सुझाव दिएका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको आयोजनामा आज बुटवलमा आयोजित पर्यटन शिक्षाको पाठ्यक्रमसम्बन्धी अन्तरक्रिया बोल्दै विज्ञहरूले विश्वविद्यालयहरूमा पर्यटन तथा होटल व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण जनशक्तिले शून्य सीप हुँदा शिक्षा अनुरुपको रोजगारी पाउन नसकेको उनीहरूको भनाइ थियो । 
    
विश्वविद्यालयले पाठ्यक्रम सन्दर्भमा सुझाव संकलनका लागि यस क्षेत्रमा रहेका होटल तथा पर्यटन व्यवस्थापन अध्यापन गर्ने शैक्षिक प्रतिष्ठान तथा उद्योग क्षेत्रका सरोकारवालासँग छलफल गरेको कार्यक्रम संयोजन श्रीप्रसाद भट्टराईले जानकारी दिए । 


विश्वविद्यालय सिटी क्याम्पसका प्रमुख फणीन्द्रकुमार न्यौपानले बौद्ध दर्शनमा रहेर पर्यटन तथा होटल व्यवस्थापन पाठ्यक्रम तयार गर्ने गरी सुझाव संकलन थालिएको बताए । 

कार्यक्रममा ड्रिम ग्रुपका म्यानेजर राजेन्द्र पौडेलले पढ्दै गरेको विद्यार्थीले सेवामूलक क्षेत्रमा आंशिक समय काम गर्ने परिपाटीको विकास हुने हो भने विदेश जानेको सङ्ख्यामा कमी आउन सक्ने बताए । 

बुटवल मोडल कलेजका प्राचार्य नेत्र बस्यालले टुरिजमको खास अर्थलाई आत्मसाथ गरेर स्वदेशी भूगोल सुहाउँदो पाठ्यक्रमको आवश्यकता रहेको बताए । 

शिक्षक वरुण ज्ञवालीले उद्योग केन्द्रीत पाठ्यक्रम आवश्यक रहेको भन्दै एउटा सेमेष्टरमा कम्तीमा एउटा प्रयोगात्मक विषय हुनुपर्ने सुझाव दिए । 

अक्सफोर्ड कलेजका शिक्षक गोविन्द गाहाले होटल र उद्योगको आवश्यकताका आधारमा सीपयुक्त जनशक्तिको आवश्यकता रहेको बताए । 

लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवल सिटी क्याम्पस नयाँगाउँ र केन्द्रीय क्याम्पस लुम्बिनीमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम विषय पठनपाठन गर्दै आएको छ । शैक्षिक कार्यक्रमको पाठ्यक्रम परिमार्जनका सन्दर्भमा विभिन्न सरोकारवालासँग छलफल कार्यक्रम भइरहेको विश्वविद्यालयले जनाएको छ । रासस


Author

थप समाचार
x